s

वैदेशिक रोजगारीको बाहानामै जनप्रतिनिधिबाटै ठगी !

किरण भट्टराई

सप्तरी÷रासस– स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर, सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता दिनुको सट्टा उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ । शम्भुनाथ नगरपालिका वडा नं १० का वडा सदस्य रहेका मोहम्मद अनबारुलले दर्जनौं गाउँलेलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको पीडितहरुको बताएका छन् ।

शम्भुनाथ नपा–८ पोखरीयाका घुरन रामलाई अनबारुलले कतार पठाइदिने भन्दै डेढ वर्षअघि राहदानी र ९५ हजार नगद मागे । घुरन रामले पाँच हजारमा बन्ने राहदानी छिटो बनाउन १० हजार तिरे र राहदानीसहित ३५ हजार अनबारुललाई बुझाए । त्यसबेला विदेश जान अरुबाट लिएको एक लाख ऋणको मासिक ब्याजमात्रै रु पाँच हजार तिर्न परिरहेको उनको गुनासो छ । सो ऋण रकम काठमाडौँ जाँदा आउँदा, अनबारुललाई दिँदा र राहदानी बनाउँदा सकिएको उनको भनाइ छ ।
 
उनले भने– ‘एकदिन त भोलिको फ्लाइट छ भन्दै खबर गरे । रातारात घर परिवारसँग विदावारी भएर काठमाडौँ गएँ तर, फर्किएर आउनुप¥यो ।’ उनकी श्रीमती सीतादेवी रामले घरबाट कतार जाने भनी निस्किएका श्रीमानलाई तीन÷चार पटक विदावारी गरेको तर, काठमाडौँ पुगेर श्रीमान् फर्किने गरेको स्मरण सुनाइन् । घुरन राम त्यसबेला लागेको ऋण तिर्न यसै साता भारतको दिल्लीमा जान लागेका छन् । त्यहाँ महिनाको १५ हजार पाउने गरी कामका जान लागेको उनले सुनाए । अनबारुललाई पटक÷पटक आफ्नो ३५ हजार फिर्ता गर्न आग्रह गरेपनि फिर्ता नगरेको उनले गुनासो गरे ।
 
शम्भुनाथ नपा–५ का रामनारायण सरदार अनबारुललाई ९५ हजार तिरेर कतार गएको डेढ महिनापछि स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएर नेपाल फर्किए । विदेश पुगेर स्वास्थ्य परीक्षण अनुत्तीर्ण भएमा स्वदेशमा स्वास्थ्य परीक्षण गर्ने संस्थाले विदेश जाँदा लागेको रकम तिर्नुपर्ने व्यवस्था छ । अनबारुलले स्वास्थ्य परीक्षण गर्ने संस्थाबाट आफूले रकम उठाइदिन्छु भन्दै उनलाई गाउँ बोलाए तर, एक वर्ष बित्दासमेत उनले सो रकम दिलाउन लगाएका छैनन् ।
 
अझ अनौठो त के छ भने अनबारुलले ठगी गरेका व्यक्तिहरुलाई उल्टै रकम दिएको कागज गराउने गरेका छन् । साउदी अरबमा मासिक १ हजार २ सय साउदी रियाल पाउने गरी राम्रो कामका लागि अवसर आएको र त्यहाँ पठाइदिने भन्दै अनबारुलले शम्भुनाथ नपा–९ बसवलपुरका मुसहर समुदायका कन्की सदासँग दुई वर्षअघि ६५ हजार लिए । अनबारुलले आफूले रकम लिएको कागज गर्नुको साटो उल्टै आफूले सदालाई ६० हजार दिएको कागज गराए ।
 
पीडित सदाले भने– ६५ हजार दिएको केही समयपछि अनबारुलले साउदीको भीषा आइसकेकाले जान रु एक लाख २० हजार लाग्ने भन्दै ६० हजार तिर्न बाँकी रहेको कागज गराए । सदालाई साउदी जाने भन्दै तीन चोटि काठमाडौँ बोलाए तर, आज–भोलि भन्दाभन्दै दुई वर्ष बित्यो । न त उनको पैसा फिर्ता आयो न त उनी विदश नै जान पाए ।
 
कन्की सदासँग मात्रै होइन उनका दाजु सुकदेवा सदासँग पनि उनै अनबारुलले साउदी अरबमा रोजगारीका लागि पठाइदिने भन्दै एक लाख ४० लिएका छन् । अनबारुलले साउदी पठाएका सोही गाउँका रामचन्द्र सदाले पनि भने अनुरुपको तलव पाएका छैनन् । रामचन्द्रका बुबा जिलेवी सदाले मासिक १ हजार २ सय साउदी रियल पाउने भनेर पठाएकामा छोराले मासिक रु ६ सय साउदी रियलमात्रै पाइरहेको जानकारी दिए । रामचन्द्रबाट पनि अनबारुलले रकम लिएर उल्टै रकम दिएको कागज गराएका छन् । जिलेवीले भने– जानुअघि ६० हजार अनबारुललाई दिएपछि थप ६० हजार पुगेन भन्दै ६० हजार तिर्न बाँकी रहेको कागज गराए । त्यसमध्ये ४५ हजार तिरिसकें । अब १५ हजार तिर्न बाँकी छ ।
 
छोराका कमाइ राम्रो नभएकाले फर्किने दिनसम्म पनि जाँदा लिएको ऋण तिर्न नसकिने हो कि भन्ने चिन्तामा छन् जिलेवी । शम्भुनाथकै अशोक कुमार रायलाई अनबारुलले एक हजार एक सय कतारी रियल तलव पाउने भन्दै कतार पठाए । उनले ७ सय रियल मात्रै पाउँदै आएका छन् । जाँदा ८० हजार तिरेर गएका रायलाई थप ४० हजार तिर्न बाँकी रहेको कागज अनबारुलले गराएका थिए । भने अनुसारको काम र तलव नपाएपछि रायले बाँकी रहेको रकम तिर्न अस्वीकार गरेपछि उनकी श्रीमतीविरुद्ध प्रहरी चौकीमा उजुरी गरे ।
 
यसरी विदेश लैजाने भन्दै दर्जनौं व्यक्तिलाई ठगी गरेका अनबारुल गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट वडा सदस्यमा निवाचित भए । सुरक्षित आप्रवास परियोजना (सामी)का परामर्शदाता निता चौधरीले अनबारुलले विदेश लैजाने भनी रकम लिएर नपठाएका, विदेश गइसकेपछि भनेअनुसारको काम र तलब नपाएका जस्ता एक दर्जनभन्दा बढी निवेदन जिल्ला प्रशासन कार्यालयमा परेको जानकारी दिइन् ।
 
सामिको पहलमा घुरन राम, अरुन राम, रामनारायण सरदार लगायतले विभिन्न मितिमा जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरीमा अनबारुलविरुद्ध उजुरी दिए पनि उनीमाथि अझै कारवाही हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले अनबारुलविरुद्ध प्रहरीमा परेको उजुरीबारे आफूलाई जानकारी नरहेको बताए । यसबारे स्थानीय प्रहरीबाट जानकारी माग्ने जवाफ पनि उनले दिए । राससले अनबारुलसँग टेलिफोन सम्पर्क गरी ठगीको आरोपबारे सोध्न चाह्यो तर गलत नम्बर परेको भन्दै उनले तत्क्षण फोन काटे ।

Published on: 3 February 2018 | Madhyanha

Back to list

;