s

वैदेशिक रोजगारमा ठगी दुई हजार ३९ वटा उजुरी

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार कम्पनी अनि विदेश पढ्न पठाउन भन्दै खोलिएको एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन् । यो क्रममा बढ्दो छ । यसरी ठगीमा पर्ने कति छन् भन्ने आधिकारिक तथ्याङ्क कसैसँग छैन ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका दुई हजार ३९ वटा उजुरी परेका छन् । जसमा एक हजार २६३ वटा संस्थागततर्फ (म्यानपावर कम्पनी)का छन् भने ७७६ वटा व्यक्तिगततर्फका रहेका छन् । यो आर्थिक वर्षभरिमा म्यानपावर कम्पनीविरुद्ध मात्र २९ करोड ६३ लाख २० हजार भन्दा बढी रकम मागदाबी गरिएको छ भने व्यक्तिगततर्फ झन्डै ५३ करोड ६७ लाख २९ हजार रुपियाँ मागदाबी भएको छ ।

एउटै कम्पनीविरुद्ध ३१ पटकसम्म उजुरी

वैदेशिक रोजगारीको क्रममा ठगी गरेको, विदेश पु¥याएर अलपत्र पारेको, समस्याग्रस्त कम्पनीमा पठाएको, तोकिएभन्दा बढी शुल्क लिएको लगायत विभिन्न विषयमा गएको असार महिनामा मात्रै १४२ उजुरी परेका छन् । उजुरीमा ९५ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीविरुद्धका छन् । यस अवधिमा काठमाडौँको एट्लास ओभरसिज इम्प्लोएमेन्ट नामक म्यानपावर कम्पनीविरुद्ध नौ पटकसम्म उजुरी परेको पाइएको छ । त्यसो त जेठ महिनामा काठमाडौँकै पर्पल एच.आर. सर्भिस प्रा.लि नामक म्यानपावरविरुद्धमा ३१ वटा उजुरी परेका थिए ।

महानिर्देशक भीष्मकुमार भुसालले विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र पछि समस्यामा परेर नेपाल आएपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, संस्थागत उजुरीमा प्रमाण भएमा कारबाही गर्न सकिन्छ र धेरैलाई कारबाही भएको छ तर व्यक्तिगत उजुरी अदालतमा जाने हुनाले यसको प्रक्रियामा पनि लामो भएकाले समय लाग्छ । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेँ भनेर आउने उजुरी सबैभन्दा बढी संस्थागततर्फका भए पनि ठगीको रकम तुलना गर्दा व्यक्तिगतकै बढी हुने गरेको पाइन्छ । विभागका महानिर्देशक भुसालले व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै पढेलेखकै व्यक्ति पीडित हुने गरेको र रकम पनि ठूलो परिणामको हुने गरेको बताउनुभयो ।

व्यक्तिगततर्फ उजुरी गर्न आउनेमा कन्सल्टेन्सीबाट ठगिएका बढी हुने गरेको उहाँको भनाइ छ । विभागमा खाडी र मलेसिया जाने श्रमिकका भन्दा अमेरिका, क्यानडा, पोर्चुगाल, पोल्यान्डजस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठूलो छ । यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेकोे छ ।

अदालतमा १८६ वटा म्ुद्दा दायर

विभागका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १८६ मद्दा अदालतमा दायर भएका छन् । विभागका अनुसार म्यानपावर कम्पनीको नाममा आउने उजुरी कानुनी दायरामा कमै मात्र जान्छ तर व्यक्तिगत उजुरी भने कानुनको दायरामा बढी जाने गरेको छ । व्यक्तिगत उजुरीकर्ताबाट अदालतमा २२ करोड बढी रकम बिगो दाबी गरिएको छ  

ठगी नियन्त्रणमा कार्यविधिले सहयोगी हुने

सरकारले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्ने उद्देश्यका साथ आकस्मिक तथा नियमित अनुगमन गर्ने व्यवस्थासहितको ‘अनुगमन टोली परिचालन कार्यविधि २०७६’ कार्यान्वयनमा ल्याएको छ । उक्त निर्देशिकामा भएको व्यवस्थाअनुरूप अनुगमनलाई तीव्रता दिएको विभागले जनाएको छ ।

कार्यविधिले वैदेशिक रोजगार विभागको महानिर्देशकको निर्देशन वा प्रत्यक्ष रेखदेखमा आकस्मिक तथा नियमित अनुगमन गर्न सकिने व्यवस्था गरेको छ । विभागका महानिर्देशक भुसालले वैदेशिक रोजगारका नाममा हुने ठगीको अनुगमन गर्ने अधिकार विभागको भए पनि स्पष्ट कार्यविधि नहुँदा कन्सल्टेन्सीसँग जोडिएका ठगीको अनुगमन गर्न समस्या थियो र कार्यविधि कार्यान्वयनमा आएसँगै त्यसको अनुगमन गरेर कारबाही प्रक्रिया बढाउने बाटो खुलेको पनि जानकारी दिनुभयो । कार्यविधि कार्यान्वयनमा आएसँगै विभागले कुनै पनि समय वा दिन (शनिबार, बिदाको दिन) समेत आकस्मिक तथा नियमित अनुगमन गर्न सक्नेछ ।

Published on: 8 Aug 2019 | Gorkhapatra

Back to list

;