s

उत्तरी नाका नखुल्दा रोजीरोटी बन्द

वसन्तप्रताप सिंह, मनोज बडू, कृष्णप्रसाद गौतम

बझाङ, दार्चुला‚ सुर्खेत — चार वर्षअघिसम्म बझाङको तल्कोट गाउँपालिका–७ किदन्नकी कारसाङ र उनका श्रीमान् अंग थापालाई यो सिजनमा होटलको सरसामान जोड्ने चटारो हुन्थ्यो । चैतमै होटलका लागि चाहिने दाल, चामल मरमसला खरिद गर्न उनीहरू नेपालगन्ज झर्थे ।

वैशाख पहिलो सातासम्म पोकापन्तुरा बोकेर चीनको सीमावर्ती बजार ताक्लाकोट उक्लिसक्थे । १० वर्षदेखि चल्दै आएको उनीहरूको व्यापार यात्रामा सन् २०१९ डिसेम्बरदेखि विराम लाग्यो । कारण थियो, कोरोना महामारी । ०७६ मंसिरमा नेपाल आएका उनीहरू कोरोना संक्रमणको जोखिमका कारण चीनले नाका बन्द गरेपछि फर्किन पाएका छैनन् ।

नाका बन्द हुनुअघि मजदुरी गर्न, व्यापार–व्यवसाय र धार्मिक यात्राका लागि ताक्लाकोट पुग्ने नेपालीको बाक्लै चहलपहल हुन्थ्यो । तिब्बतको पुराङ काउन्टीअन्तर्गत ताक्लाकोटमा वैशाखदेखि असोजसम्म होटल खचाखच हुन्थे । कैलाश मानसरोवर प्रवेशद्वारका रूपमा रहेको ताक्लाकोटमा नेपालीलाई लक्षित गरी होटल खोलेका थापा परिवार खर्च कटाएर वर्षमा १५ लाखसम्म कमाउँथ्यो । ताक्लाकोटकै कमाइले उनीहरूले सुर्खेतमा घर किनेका छन् । कात्तिक/मंसिरतिर हिउँ पर्न सुरु भएपछि उनीहरू घर फर्कन्थे ।

डेढ वर्षअघि होटलमा ताल्चा लगाएर नेपाल आएका थापा दम्पती अहिले ताक्लाकोट नाका खुल्ने र पहिले जस्तै होटल चलाउने आसमा बसेका छन् । तर चार वर्ष पुग्न लाग्दा पनि नाका खुल्ने छाँटकाँट छैन । ०७६ पुसदेखि नाका बन्द गरेको चीनले सुदूरपश्चिम प्रदेशमा पर्ने उरै भन्ज्याङ र टिंकर तथा कर्णाली प्रदेशका हिल्सा, नाक्चेलाग्ना र मोरिम्ला नाका नखोल्दा सीमावर्ती बजार ताक्लाकोटसँगको नेपालीको व्यापार–व्यवसाय मात्रै होइन, तिब्बतमा पर्ने कैलाश मानसरोवरसँग सम्बन्धित धार्मिक गतिविधिसमेत अवरुद्ध भएका छन् ।

‘१५/२० बोरा त बासमती चामलमात्रै थियो । दाल चामल, लत्ताकपडा मुसाले खाइसक्यो कि । भुइँतलामा भएको सामान त ढुसी परिसक्यो होला,’ कारसाङले भनिन्, ‘हाम्रो त ज्यान यहाँ भए पनि मन ताक्लाकोटमै छ । कहिले नाका खुल्ला र जाऔंला भनेर समाचार हेर्दाहेर्दै थाकिसक्यौं ।’ ताक्लाकोट नाका बन्द भएपछि उनको परिवारमा आर्थिक संकट सुरु भएको छ । होटलकै कमाइको भरमा सुर्खेतको महँगो निजी स्कुलमा पढिरहेका छोराछोरीको मासिक खर्चमात्रै ४० हजारभन्दा बढी आउँछ । ‘सबै गरी महिनाको एक लाख खर्च हुन्छ । कमाइ रोकिएपछि बैंकमा घर धितो राखेर खर्च चलाइरहेका छौं । होटलकै भाडा १० लाख पुगिसक्यो भनेर फोन आएको आयै छ,’ उनले सुनाइन् ।

ताक्लाकोटबाट भन्सार पास नहुँदा नेपाल–चीनको व्यापार बन्द भएपछि यसैको भरमा जीविका चलाउँदै आएका दार्चुलाको व्यासका बासिन्दालाई झनै समस्या भएको छ । कोरोनापछि ताक्लाकोट बजार जान नपाउँदा अहिले व्यवसाय ठप्प रहेको ताक्लाकोटमा व्यापार गर्दै आएका व्यासका विमलकुमार बोहराले बताए । व्यास गाउँपालिका–१ छाङरु र टिंकरका धेरैजसो स्थानीय परिवारसहित ताक्लाकोटमा व्यापार गर्थे । उनीहरू हरेक वैशाखदेखि कात्तिकसम्म ताक्लाकोटमा व्यापार गर्थे । नाका बन्द भएकाले त्यहाँ थन्किएको सामान नेपाल ल्याउन नसकेको ताक्लाकोटको गुत्गाउँमा व्यापार गर्दै आएका टिंकरका दानसिंह टिंकरीले बताए ।

चीनले ताक्लाकोट छिर्ने सबै नाका बन्द गरेपछि त्यहाँ व्यवसाय गर्दै आएका बझाङ, हुम्ला, डोल्पा, दार्चुला र मुगुका नेपाली व्यवसायीको आम्दानीको बाटो बन्द भएको छ । नेपालीले त्यहाँ वर्षौंदेखि होटल, नेपाली उत्पादन, फुरु (काठका भाँडाकुँडा), नेपाली गलैंचा, बाँस, निगालो, छाला र अन्य हस्तकलाका सामानको व्यापार गर्दै आएका थिए । मह, घिउ, छुर्प्री, खुर्सानी, टिमुर र अन्य जडीबुटीलगायत नेपालमा उत्पादित कृषिजन्य उपभोग्य सामानको व्यापार हुने गरेको थियो । नाका बन्द हुनुअघि यहाँ वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको फुरुको व्यापार हुने हुम्लाको नाम्खा गाउँपालिकाका व्यापारी दानबहादुर लामाले बताए । उनका अनुसार फुरु (तिल्याइलो र पाँगर प्रजातिको रूखमा हुने गाँठोबाट बनाइएको काठको भाँडा) को व्यापार गर्न डोल्पा, मुगु, हुम्ला र बझाङका व्यवसायीले ताक्लाकोट र आसपासका बजारमा खोलेका ४० भन्दा बढी पसल बन्द छन् । ‘यो वर्ष पनि नाका खुला जस्तो छैन । फुरुमा व्यापारीको करोडौं लगानी फसेको छ,’ उनले भने । फुरु तिब्बतीको जन्म, मृत्यु, बिहेबारीदेखि शुभकार्य र दैनिक जीवनमा पनि सौखसानको प्रतीकका रूपमा लिइन्छ ।

नेपालमा प्रतिगोटा २०/३० हजार लगानीमा तयार हुने फुरुको आकार र गुणस्तर हेरेर तिब्बती बजारमा ५० हजारदेखि १५ लाखसम्म बिक्री हुने गरेको हुम्लाका फुरु व्यापारी सोनाम लामाले बताइन् । ‘लगानीको तुलनामा धेरै गुणा बढी फाइदा हुने भएपछि अहिले धेरैजसोले फुरुकै व्यापार गर्न थालेका थिए । माग पनि राम्रै थियो, बीचैमा कोरोना आइदियो,’ उनले भनिन् । ताक्लाकोट र आसपासका खोचेर, लुकोट, लुक्पुलगायतका साना बजारमा व्यापार गर्दै आएका तीन सयभन्दा बढी नेपाली प्रवेश अनुमति नपाउँदा व्यवसाय बन्द गरेर नेपालमै बसिरहेको हुम्लाको नाम्खाका थोतेन लामाले बताए ।

ताक्लाकोट प्रवेश अनुमति रोकिएपछि मौसमी रोजगारीका लागि जाने सयौं युवाको आम्दानीको बाटो बन्द भएको छ । केही वर्षयता निर्माण, कृषिलगायत अन्य क्षेत्रमा काम गर्न बझाङ, हुम्ला, डोल्पा, दार्चुला र मुगुका सयौं मानिस ताक्लाकोट पुग्थे । भवन र अन्य संरचनामा दक्ष/अदक्ष कामदारका रूपमा दैनिक ज्यालामा काम गर्थे । मालवाहक गाडीमा लोड/अनलोड गर्ने, ऊन केलाउने, भारी बोक्ने काममा पनि नेपालीले रोजगारी पाएका थिए । उवा (जौ जस्तै उच्च हिमालमा फल्ने बाली) काट्ने र चुट्ने र भेडा बाख्रा फार्ममा पनि दर्जनौं युवाले काम गरे पनि कोरोनापछि सबै रोकिएको बझाङको साइपाल गाउँपालिकाका डबल रोकायाले बताए । दैनिक १ सय ५० देखि २ सय ५० युयान (करिब २ हजार ५ सय ५० देखि ४ हजार नेपाली रुपैयाँ) कमाउने र वैशाखदेखि भदौसम्म ५ देखि ७ लाखसम्म बचत गर्ने रोकायाले सुनाए । ‘ताक्लाकोट हाम्रा लागि दुबई, कोरिया जस्तै थियो । बर्खाका चार/पाँच महिना काम गरे वर्षभरिको खर्च चल्थ्यो,’ उनले भने, ‘अहिले उता जानै दिँदैन । यता रोजगारी छैन । घर खर्च चलाउनै मुस्किल भइसक्यो ।’

भारत, नेपाल र चीनको भूभागसँग जोडिएको यो क्षेत्रलाई पछिल्लो समय त्रिदेशीय व्यापारिक हबका रूपमा विकास गर्न पनि चीनले अत्याधुनिक संरचना निर्माणमा लगानी बढाएको छ । हुम्लाको डाँडाफयाका जयभक्त शाहीका अनुसार ताक्लाकोट जाने कामदारलाई स्थानीय प्रशासनले तीन महिनाका लागि रोजगार अनुमति दिने र थप बस्न चाहे तीन/तीन महिनाका दरले नवीकरण गरिरहेको थियो । नेपाली व्यापारीलाई ताक्लाकोट प्रवेशमा रोक लगाए पनि त्यहाँको व्यापार व्यवसाय भने चलिरहेको छ । कोरोना सुरु भएपछि पनि केरुङ र तातोपानी नाका खुलेका छन् तर ताक्लाकोट नाका खुलाउन सरकारले पहल नगरेको नेपाली व्यापारीको गुनासो छ । ‘सरकारले यो नाकालाई वास्तै गरेको छैन । यो नाकासँग पाँच जिल्लाका मान्छेको जीविका जोडिएको छ,’ ताक्लाकोटमा क्युरियोका सामानको व्यापार गर्दै आएका दार्चुलाको छाङरुका योगेश बोहराले भने, ‘यो वर्ष पनि नाका खुलेन भने सबै व्यापारी डुब्ने निश्चित छ ।’

चामल र नुनकै अभाव

सरकारले लागत कम पर्ने भन्दै हुम्लाको यलबाङ र डोल्पाको धो डिपोमा २०७३ सालदेखि चिनियाँ मार्ग हुँदै चामल पठाउने गरेको थियो । काठमाडौं–केरुङ हुँदै चीनको छाङ्दु भएर सीमावर्ती डिपोमा पुग्ने गरे पनि नाका बन्द हुँदा स्थानीयले खाद्यान्न अभाव र महँगीको समस्या भोगिरहेका छन् । ढुवानी अनुदानको मोटो चामल खाद्य डिपोमा ५८ रुपैयाँमा पाइने भए पनि बजारबाट २ सय ५० रुपैयाँ प्रतिकिलोसम्ममा किन्नुपरेको धोका अजिरग्याम्लो लामाले बताए । ‘हाम्रा लागि त अनुदानको चामल आकासको फलजस्तै भयो,’ उनले भने, ‘कहिले के बहाना बनाउँछन् कहिले के ? कहिल्यै गाउँमा आउँदैन ।’

कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका अनुसार दुवै डिपोमा यो वर्ष १/१ हजार क्विन्टल खाद्यान्न कोटा तोकिएको छ । ‘नाका बन्द छ, त्यसैले केन्द्रीय कार्यालयले बर्सेनि ठेक्का खोले पनि बदर गर्दै आइरहेको छ,’ प्रादेशिक कार्यालयका प्रमुख माधव मिश्रले भने, ‘यो वर्ष यहीँबाटै सडक मार्ग भएर दुनै र सिमकोटसम्म चामल पुर्‍याउने गरी टेन्डर प्रक्रिया सुरु गरेका छौं ।’ उनका अनुसार सुर्खेतबाट डोल्पा र हुम्ला सदरमुकामसम्म पुर्‍याइएको चामल घोडाखच्चडमार्फत यालबाङ र धो डिपोमा पुर्‍याइने छ । गत वर्ष घोडाखच्चडमार्फत माथिल्लो डोल्पाको धोमा २ सय १० र माथिल्लो हुम्लाको यलबाङमा १ सय ५० क्विन्टल चामल पठाइएको थियो । यो वर्ष ५/५ सय क्विन्टल चामल पठाउने तयारी गरिएको उनले जानकारी दिए ।

चीनको बाटो भएर आउँदा झन्डै एक हजार किलोमिटर दूरी पार गरी १२ देखि १५ दिनमा चामल यालबाङ पुग्ने गरेको थियो । जहाजबाट आउँदा भने नेपालगन्ज र नेपालगन्जदेखि १ सय १२ प्रतिकिलो ढुवानी भाडा पर्छ । तर चीनबाट आउँदा प्रतिकिलो ४२ रुपैयाँ सस्तो पर्ने कम्पनीको दाबी छ । नाम्खाका बासिन्दाका लागि साल्ट ट्रेडिङले पनि २०६२ सालदेखि चिनियाँ नाका हुँदै हिल्सा भएर अनुदानको नुन पठाउँथ्यो । नाका बन्दका कारण स्थानीयले चिनियाँ बजार ताक्लाकोटबाट पनि नुन खरिद गर्न सकेका छैनन् ।

नाम्खाका अधिकांश गाउँबाट सदरमुकाम सिमकोट आउन कम्तीमा ५ दिन लाग्छ । ‘अनुदानको नुन गाउँमा कहिल्यै आउँदैन,’ नाम्खा–७ का नुटुप लामाले टेलिफोनमा भने, ‘बजारको ढिकेनुन ७५ रुपैयाँ हालेर किन्छौं, सडक सुविधा नभएकाले त्यही नुन पनि चाहेको बेला किन्न पाइँदैन ।’ साल्ट ट्रेडिङको नेपालगन्जस्थित क्षेत्रीय कार्यालयका प्रमुख मनोज चौधरीले गत वर्ष असारमा सिमकोटबाट स्थलमार्ग हुँदै ६ सय क्विन्टल नुन यालबाङ पठाइएको र अहिलेसम्म त्यसैले धानिरहेको बताए ।

स्थानीयले वर्षौंदेखि चामल र नुनका लागि सास्ती भोगिरहेको नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा बताउँछन् । ‘स्थानीयले पहिले तिब्बतबाट ढिकेनुन र चामल ल्याएर जीविका चलाउँथे,’ उनले भने, ‘चीनले नाका बन्द गरेपछि अब नुन र चामल ल्याउन सिमकोट नपुगी सुखै छैन ।’ सिमकोट आउँदा होटेलमा बाससहित प्रतिव्यक्ति ५ देखि ७ हजार रुपैयाँसम्म खर्च हुने गरेको उनले बताए । उनका अनुसार गाउँपालिकाको माथिल्लो बस्तीका स्थानीयवासी नुन प्रतिकिलो ७५ र चामल ३ सय ५० रुपैयाँसम्ममा किन्न बाध्य छन् ।

धार्मिक काम पनि प्रभावित

तिब्बतको विकट हिमाली क्षेत्रमा पर्ने ताक्लाकोट सहर हिन्दु, बौद्ध र बोन्बो धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलाश पर्वत र मानसरोवरनजिक पर्ने भएकाले चीन सरकारले उल्लेख्य लगानी गरिरहेको छ । ताक्लाकोट प्रवेश गर्ने नाका बन्द भएपछि व्यापार मात्रै होइन, पश्चिम नेपालका जिल्लाको सदियौंदेखि चल्दै आएका धार्मिक गतिविधिसमेत प्रभावित भएका छन् । कतिपय मन्दिरको वार्षिक पूजा मानसरोवरको जल चढाएपछि मात्रै सुरु हुने मान्यता भएकाले जल ल्याउन नपाउँदा पूजा रोकिएको छ ।

बौद्ध धर्मावलम्बीहरू कैलाश पर्वतको परिक्रमा गरे पुण्य प्राप्त हुने विश्वासका कारण हुम्ला, बझाङ र दार्चुलाबाट बर्सेनि हजारौंको संख्यामा त्यहाँ पुग्ने गर्थे । ‘बाजेबराजुका पालादेखि ल्याउँदै आएको जल पनि ल्याउन पाइएको छैन । तीन वर्षदेिख हाम्रो नियमित पूजा रोकिएको छ,’ बझाङ जयपृथ्वी नगरपालिकाका लाँगा देवताका धामी जहरी सिंहले भने, ‘हाम्रो परम्परागत धार्मिक आस्थाको थलोमा प्रतिबन्ध लाग्दा पनि नाका खुलाउने प्रयास सरकारले गरेको छैन ।’

Published on: 22 July 2022 | Kantipur

Link

Back to list

;