s

उत्तराखण्डमा अझै १६५ नेपाली बेखबर

भारतको उत्तराखण्ड बाढीमा अझै एक सय ६५ नेपाली हराइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। असारको पहिलो साता उत्तराखण्ड राज्यमा भिषण वर्षापछि आएको बाढीमा परी उनीहरु हराएका हुन्। हराएका सबै बद्री तथा केदारनाथ दर्शन गर्न जाने हिन्दु धर्मावलम्बी हुन्।

'उत्तराखण्ड बाढीमा परेका मध्ये अझै एक सय ६५ जना सम्पर्कविहीन छन्,' परराष्ट्र प्रवक्ता दिपक धितालले भने, 'उनीहरुको खोजी गर्न भारतीय सम्बन्धित निकायसँग हामी निरन्तर सम्पर्कमा छौं।' सम्पर्कमा नआएकाहरु दिल्लीस्थित नेपाली दूतावासमा पीडितका परिवारले टिपाएका नेपालीमध्ये हुन्। बद्री तथा केदार दर्शन गएका सयौं नेपाली बाढीका कारण अलपत्र परेका थिए। परराष्ट्रले भारतले पत्र लेखी अलपत्र नेपालीको उद्धार गर्न विशेष आग्रह गरेको थियो। भारतको उत्तराखण्ड राज्यमा पर्ने बद्रीनाथ, केदारनाथ, गंगोत्री र यमनोत्री तीर्थयात्रामा जाँदा बाढीका कारण अलपत्र करिब ४ सय नेपाली भारतीय सुरक्षा निकायको उद्धारपछि नेपाल फर्केका थिए।

बाढीका कारण त्यस क्षेत्रमा भारतीय तथा नेपाली गरी करिब ६० हजार तीर्थयात्री अलपत्र परेका थिए। अलपत्रको उद्धारनिम्ति भारतले ३६ वटा हेलिकप्टर परिचालन गरेको थियो। अलपत्र भई सम्पर्कमा आएका प्रायः सबै नेपाली उद्धारपछि स्वदेश फर्किसकेका छन्।

सयौं नेपाली अलपत्र परेपछि दिल्लीस्थित नेपाली दूतावासले दुईजना कर्मचारी बाढीप्रभावित क्षेत्रमा उद्धारका निम्ति खटाएको थियो भने दूतावासमा दुइटा हटलाइन खुला गरेको थियो। पीडित परिवारले हटलाइनमार्फत टिपाएका तीर्थयात्रीमध्ये अझै १ सय ६५ जना सम्पर्कमा नआएको प्रवक्ता धितालले जनाए।

Published on: 17 August 2013 | Nagarik

Back to list

;