s

अपडेट कतार: कति मानिस नेपाल फर्कन चाहन्छन्?

सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई प्राथमिकताका आधारमा ल्याउने घोषणा गरेसँगै कुन देशबाट कति मानिस नेपाल फर्किन्छन् भन्ने चासो बढेको छ।

विदेशबाट नेपाली फर्केर आउँदा कोरोना संक्रमणको सम्भावना बढ्ने हुनाले क्वारेन्टिन र आइसोलेसनका संख्या पनि बढाउन पर्ने हुनाले पनि यो चासो बढेको हो।

सबभन्दा धेरै नेपाली रोजगारीका लागि अरब मुलुकमा पुगेका छन्। कतारमा मात्र ३ लाख ७५ हजार जति नेपाली रहेको अनुमान छ। त्यहाँ भएका केही नेपालीलाई कोरोना संक्रमण भएको छ भने एक जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन्।

कतिलाई कोरोना संक्रमण भएको छ एकिन छैन। कतार सरकारले कामदारहरूको मुलुकका आधारमा संक्रमित छुट्याएर सूचना दिने नगरेको कतारस्थित नेपाली राजदूतावासका अधिकारी बताउँछन्। तर जम्मा संक्रमितको संख्या भने कतार सरकारले सार्वजनिक गरेको छ। 

अहिलेसम्म त्यहाँ ५४ हजार संक्रमित छन्। कतारमा स्थानीय कतारीको जनसंख्या साढे तीन लाख जति छ भने बाहिरबाट आएर काम गर्ने आप्रवासी कामदारको संख्या २५ लाख जति छ। 

स्थानीय कतारीको तुलनामा आप्रवासी कामदार बढी संक्रमित भएका छनन्। कामदार मध्ये १२-१५ प्रतिशत जति नेपाली छन्। जम्मा संक्रमित मध्ये पनि १२-१५ प्रतिशत जति नै नेपाली रहेको अनुमान राजदूतावासका अधिकारी र एनआरएनका प्रतिनिधिको भनाइ छ।

त्यस हिसाबले ६ देखि ७ हजारसम्म नेपाली कामदार संक्रमित भएका हुन सक्छन्। तीमध्ये कति निको भइसके र कति अहिलेसम्म संक्रमित नै छन्, यकिन छैन।

यो पनि पढ्नुस्ः कस्ता कस्ता नागरिक तत्काल स्वदेश फर्किन पाउँछन्, सरकारले तय गर्‍यो प्राथमिकता

कति नेपाली अहिले घर फर्कन तयार छन्?

अहिले नै त्यसको डाटा एकिन छैन। त्यसमाथि परिस्थिति कसरी अघि बढ्छ, त्यहीअनुसार फर्किनेको संख्या तल-माथि हुनसक्छ।

काम सकिएर त्यसै बसेका, होटल म्यानेजमेन्ट पढ्न गएका, बिरामी र गैरकानुनी रूपमा कतारमा रहेका नेपाली नागरिक तत्कालै घर फर्किन चाहेको गैरआवासीय नेपाली संघका कतार अध्यक्ष मोहम्मद मुक्तदाले बताए।

राजदूतावास स्रोतका अनुसार, तत्काल नेपाल आउन तयार भएर बसेका र राजदूतावासमा सम्पर्क गरेकाहरू ५ देखि ७ हजारको हाराहारीमा छन्।

कतारमा अधिकांश कम्पनीले दुई वर्षे करारमा कामदार राख्ने गर्छ। नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गर्नुअघि करार सकिएर घर जाने टिकट काटिसकेका तर आउन नपाएका, होटलमा इन्टर्नसिप गर्न आएका विद्यार्थी र गैरकानुनी रूपमा आइपुगेका नेपालीहरू खासगरि समस्यामा परेको मुक्तदाले बताए। 

कामदारहरूमा कोरोना संक्रमण बढ्दै गएकोकाले कतिपय कामदार रोजगारदाताले ननिकाले पनि नेपाल आउन चाहेका छन्।

'यो क्रमिक प्रकृया हो संक्रमणका कारण मानिसहरूले सुरक्षा र स्थायीत्वको महसुस गर्न सकेका छैनन्, कामदार पंक्तिमा कोरोना संक्रमण बढिरहेको छ त्यसैले पनि कतिपय नेपालीहरू डराएर देश फर्किन चाहेका छन्,' दूतावास स्रोतले भन्यो। 

साथीभाइलाई वा काम गर्ने ठाउँमा संक्रमण बढेपछि काममा नजाने वा छोडेर यत्तिकै बस्नेहरूको संख्या पनि क्रमिक रूपमा बढ्न थालेको छ। यस्तो गर्दा कम्पनीले राम्रो मानेका छैनन्। 

‘कतिपय कामदारले कोरोनाको डरले काममै नजाने, घरै बस्दिने गरेका छन्, त्यो कुरा कम्पनीलाई मन पर्दैन अनि तिमीहरू घर जाऊ भन्दिन्छन्,' दूतावासका एक अधिकारीले भने।

यसरी करार सकिएका, काम छोडेर बसेका र घरेलु तथा साना व्यवसायमा धरासायी भएर बेरोजगार भएका, केही गर्भवती महिलाहरू पनि घर आउन तयार भएर बसेका छन्। 

कतिपय कम्पनीले आफूहरूले अब श्रमिकलाई राख्न नसक्ने भन्दै नेपाल लैजाने खर्च ब्यहोर्न तयार रहेको जानकारी पनि दूतावासलाई गराएका छन्। 

'१२/१५ सय जति कामदारहरूका कम्पनीले नै हामीले अब उनीहरूलाई राख्न सक्दैनौं, बरू जहाज चार्टर्ड गरिदिन्छौं भनेर दूतावासमा निवेदन दिएका छन्,’ ती अधिकारीले भने।

कतारमा कतिपय ठूला व्यवसाय र कम्पनीमा भने काम जारी रहेको पनि राजदूतावासले जनाएको छ। कतारमा सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न रंगशाला, होटल, सडकजस्ता भौतिक संरचना निर्माणको काम रफ्तारमा जारी छ।

'खेलकुद स्टेडियम बनाउनेदेखि ठूला परियोजनाका काम पनि रोकिएका छैनन्। त्यहाँ काम गर्ने मजदुरको काम र पैसा रोकिएको  छैन,’ स्रोतले भन्यो।

संक्रमण बढदै गएर आर्थिक शिथिलता जारी रह्यो भने कम्पनीहरू बन्द हुने र धेरै मजदुर जोखिममा पर्ने सम्भावना छ।

सरकारले घर आउन चाहनेलाई तुरून्तै फर्काउने व्यवस्था मिलायो भने दूतावासले कसरी ती मानिसहरूको पहिचान गर्छ?

'पहिले नै हामीले विभिन्न प्रयोजनका लागि तथ्याङ्क लिएका थियौं। त्यो बेला पनि तत्काल घर जान पर्ने स्थिति के कारण भएको हो भन्ने बुझेर राखेका थियौं। कतिपयले यहाँ फारम नै भर्नुभएको छ त्यसैले पनि सर्टआउट गर्न हामीलाई सजिलो भएको छ,'  दूतावासका ती अधिकारीले भने, ‘सबै तथ्याङ्क  र सम्पर्क भएकाले फर्किने मानिसको व्यवस्थापन गर्न कठिन हुन्न।'

कतारमा गैरकानूनी रूपमा बसेका, डिपोर्टेसन सेन्टरमा रहेका, सरकारले आममाफी दिएका, बिरामी, गर्भवती र कम्पनीको काम गर्दा गर्दै दुर्घटना भएर अंगभंग भएका व्यक्तिहरू सकेसम्म पहिला नेपाल जान चाहेको एनआरएन अध्यक्ष मुक्तदाले बताए। दूतावासले पनि यस्ता मान्छेहरूलाई प्राथमिकतामा राखेर नेपाल फर्काउन खोज्नेछ।

कतार सरकारले कम्पनीहरूलाई संक्रमणको समयमा काम नभए पनि कामदारलाई खाने र बस्ने व्यवस्था मिलाउन भनेको छ। त्यसैले खान बस्न नपाएका मानिस खासै नरहेको मुक्तदाले बताए।

'अहिलेसम्म त सरकारले समस्यामा परेकालाई भनेर राहत पनि दिएको छ। सरकारले केही समयअघि हामीलाई १३ लाख रुपैयाँ राहतका लागि उपलब्ध गराएको थियो,' मुक्तदाले भने।

Published on: 31 May 2020 | Setopati

Link

Back to list

;