s

उपत्यकाका बन्द होटलका श्रमिकलाई ५५ लाख बाँडिँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना माहामारीका कारण होटल बन्द हुँदा जीविकोपार्जनमा कष्ट व्यहोरिरहेका काठमाडौं उपत्यकाका होटल मजदूरलाई राहतस्वरुप ५५ लाख रुपैयाँ वितरण गरिने भएको छ ।

होटलमा काम गरिरहेका ५८ सय हाराहारी मजदूर तथा कर्मचारीलाई लक्षित गर्दै पर्यटकीय सम्पदा, स्थल, उद्यान, पर्यटकीय मार्ग, ऐतिहासिक महत्वका स्थलहरु सफाई गराएर होटल श्रमिकलाई ५५ लाख रुपैयाँ वितरण गर्न लागिएको हो ।

कार्यक्रमको सुरुवात आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने मूलगेटबाट गरिएको छ । कार्यक्रमका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी), नेपाल पर्यटन बोर्ड र होटल संघ (हान) समन्वय गरेका छन् । ‘दीगो पर्यटन परियोजनाअन्तर्गत कोभिड–१९ का बाट अतिप्रभावित होटल उद्योगबाट रोजगारी गुमाएका श्रमिकहरुलाई लक्षित गरी यो कार्यक्रम होटल संघ नेपाल र नेपाल पर्यटन बोर्डबीच सम्झौता भएअनुसार काठमाडौं महानगरपालिकासँगको समन्वयमा सुरु भएको छ’, हानले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हानका प्रथम उपाध्यक्ष विनायक शाहले ‘कोभिड प्रभावित श्रमिकहरुलाई दसैं अगाडि केही राहत दिने उदेश्यले काठमाडौं उपत्यकाका पर्यटकीय स्थल, मठमन्दिर तथा बाटो घाटो सरसफाई र हरियाली गर्ने’ उद्देश्य यस कार्यक्रमको रहेको बताए । हानका अनुसार, यस कार्यक्रमको श्रम दिन पाँच हजार रहेको छ । एउटा श्रमिकले बढीमा ४० दिन काम गर्न पाउने छन् । यसमा प्रतिदिन १ हजार ज्याला दिइने छ । यसको संयोजन हानले गर्ने जनाएको छ ।

होटल बन्द भएर बेरोजगार भएका सुपरभाइजर मुनीका भान्से, सुरक्षागार्ड, हाउसकिपर, सहयोगी, माली, सफाई कामदार, वेटर आदिले यसमा भाग लिन पाउने छन् । श्रमिकहरुले काठमाडौं उपत्यकाभित्र सम्पदा सरसफाई, पार्क गोडमेल, घाँस काट्ने आदिमात्रै गर्ने छन् । श्रमिक छनोटको जिम्मा कांग्रेस, एमाले र माओवादी निकट होटल मजदूरका केन्द्रीय संगठनलाई दिइएको हानले जनाएको छ ।

Published on: 13 September 2021 | Kantipur

Link

Back to list

;