s

उपराष्ट्रपति यादव र इजरायलका राजदूत गोल्डबर्गरबीच भेटवार्ता

काठमाडौँ — उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा पुगेर उपराष्ट्रपति यादवसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुई पक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोग लगायत आपसी हित र चासोका बिषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । सो क्रममा उपराष्ट्रपति यादवले नेपाल र इजरायलबीच १ जुन १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नै मित्रता, सद्भाव, समझदारी र सहयोगसहितको सम्बन्ध सुमधुर रहेको बताए ।

‘इजरायलले विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा नेपाललाई गरेको सहयोग प्रशंसनीय छन्’ उनले भने, ‘नेपाल–इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने विश्वास लिएको छु ।’ उनले द्विपक्षीय व्यापार अभिवृद्धिका लागि थप प्रयत्नशील हुन आवश्यक रहेको समेत बताए ।

उपराष्ट्रपति यादवले भने, ‘इजरायल सरकारले नेपाली युवाहरु (खासगरी महिला) लाई ‘केयरगिभर’ सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकोमा धन्यवाद दिन चाहन्छु ।’ उनले बहुपक्षीय सम्बन्धको चर्चा गर्दै नेपाल मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा सँधै रहिआएको बताए ।

उनले भने, ‘संयुक्त राष्ट्रसंघ लगायतका बहुपक्षीय मञ्चहरुमा नेपाल र इजरायलबीच हुने गरेका आपसी सहयोगको प्रशंसा गर्दछु ।’

Published on: 27 May 2024 | Kantipur

Link

Back to list

;