s

उपचार नपाउँदा पोर्चुगलमा नेपाली युवतीको बिचल्ली

पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परेकी छिन्।

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा परेकी हुन्।

सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनी औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य छिन्।

गत जनवरी १० तारिखका दिन कामबाट फर्कने क्रममा मोन्तिजोमा साँझ ७ बजेतिर जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकी उनलाई तीव्र गतिमा आएको कारले एक्कासि ठक्कर दिएको थियो।

कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको दाहिने हात र देब्रे हिप भाँचिएको छ। दुर्घटनाले हिपदेखि मुनिको देब्रे खुट्टा नचल्ने भएको छ।

कारको ठक्करबाट उछिट्टिएर सडकको छेउमा रगताम्मे अवस्थामा ढलेकी उनको अनुहारमा समेत चोट लागेको छ। हिप फ्याक्चर भई देब्रे खुट्टा नचल्ने भएपछि पीडित मोक्तान ओछ्यानमै थला परेको एक महिना हुन लागेको छ। सामान्य उपचारबाट समेत वञ्चित भएकी उनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ।

दुर्घटनापश्चात् प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि उनलाई तत्काल मोन्तिजोस्थित बरेइरो अस्पताल पुर्‍याइएको थियो भने कार चालक फरार भएका थिए।

उपचारका लागि अस्पताल पुर्‍याइए पनि अस्पतालले हातको मात्रै शल्यक्रिया गरी खुट्टाको उपचार नै नगरी घर पठाएको पीडित मोक्तानले दुःखेसो पोखिन्।

खुट्टाको उपचारका लागि अस्पतालसँग धेरै अनुरोध गरे पनि उपचार नै नगरी घरमै आराम गर्नु भनी अस्पतालले जबर्जस्ती डिस्चार्ज गरेको उनको भनाइ थियो।

‘उपचारै नपाउँदा म त मुढाजस्तै ढलिरहेको छु। न त उठ्न, चल्न सक्छु, न त दिसापिसाब नै गर्न सक्छु। विदेशी भूमिमा मेरो रेखदेख र स्याहारसुसार गरिदिने पनि कोही छैन। उपचार नपाउँदा जीवनभर कुँजिएरै बस्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ’, पीडा सुनाउँदै मोक्तानले भनिन्।

दुर्घटनामा परी बाँचेपनि उपचार पाउन नसक्दा घरपरिवारसमेत चिन्तित बनेका छन्। दुर्घटनाका कारण विक्षिप्त बनेकी उनी आफ्नो औषधोपचारका लागि सबैसँग हारगुहार गरिरहेकी छिन्।

मोक्तान मोन्तिजोस्थित ट्रान्सएटलान्टिको टरभालो टेम्पोरेरिया एलडीए कम्पनीमा कृषि मजदुरका रुपमा कार्यरत थिइन्।

मोक्तानको दुर्घटनाको विषयमा लिस्बनस्थित महावाणिज्यदूतको कार्यालय र गैरआवासीय नेपाली सङ्घलाई जानकारी गराइएको छ।

नेपाल नगएको चार वर्ष भएको बताएकी मोक्तानको आठ वर्षीय छोरा र श्रीमान् नेपालमा रहेको जनाइएको छ।

रोजगारीको सिलसिलामा चार वर्षअघि साइप्रस आएकी उनी दुई वर्षअघि पोर्चुगल आएकी हुन्। -भरत प्रधान/रासस

Published on: 8 February 2024 | Nagarik

Link

Back to list

;