s

उपचार बहानामा यौन उत्पीडन

उपचार गराइदिने बहानामा भारतको दिल्ली पुर्‍याई दुई वर्षसम्म जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा पक्राउ परेका रमेश खत्रीमाथि प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान बढाएको छ ।
 
खत्रीलाई सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएकामा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप गरिएको हो ।
 
अर्घाखाँची सीतागंगा नगरपालिकाका २६ वर्षीय खत्रीले फेसबुकबाट चिनजान गरी मित्र बनाई युवतीलाई टाउकामा रगत जमेको समस्याको उपचार गराइदिने र रोजगारीको प्रलोभन देखाई दिल्ली पुर्‍याएका थिए । एउटै अपार्टमेन्टमा बसेका उनले ती युवतीसँग जबरजस्ती शारीरिक सम्बन्ध बनाई त्यसको तस्बिर तथा भिडियो खिची युवतीलाई ‘ब्ल्याकमेल’ गर्ने गरेका थिए ।
 
ती अश्लील सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएर खत्रीले बारम्बार यौन शोषण गरेको र अपार्टमेन्टमा आउने अन्यसँग पनि शारीरिक सम्बन्ध बनाउन लगाउने गरेको युवतीले बयान दिएकी छन् । केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले भने, ‘दिनहुँ ५/७ जनासँग यौनसम्बन्ध गर्न लगाउने र त्यसबापत केही रकम उनलाई पनि दिने गरेको युवतीको भनाइ छ । यसबारे दुई वर्ष दिल्ली बसेर उनी नेपाल फर्केपछि मात्र परिवारलाई थाहा भएको हो ।’
 
खत्रीलाई ब्युरोको टोलीले शुक्रबार पक्राउ गरेको थियो । उनले विगत १३ वर्षदेखि दिल्लीमा यौन धन्दा चलाउँदै आएको खुलेको छ । यसबाट अन्य महिला पनि पीडित हुन सक्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गुरुङले बताए ।
 
Published on: 15 May 2018 | Kantipur

Back to list

;