s

युनिलिभर आज खुल्ने

प्रताप बिष्ट

मजदुर आन्दोलनले १२ दिनदेखि बन्द युनिलिभर लिमिटेड बिहीबारदेखि खुल्ने भएको छ । मजदुर र व्यवस्थापन वार्ताका लागि सहमत भएपछि बिहान ६ बजेदेखि काम सुचारु हुने सहमति भएको हो । उद्योग खोल्दै वार्ता गर्ने सहमति भएकामा व्यवस्थापनको माथिल्लो तहको पत्र आउन ढिलाइ भएकाले बुधबार नखुलेको हो ।

'दुवै पक्षबीच सैद्धान्तिक सहमति भइसकेको छ,' सभासद प्रह्लाद लामिछाने भने, 'उद्योग व्यवस्थापनको उच्च तहको अधिकारी बाहिर भएकाले उद्योग खोल्न ढिलाइ भएको हो  ।  उनले बिहीबार उद्योग खुल्ने र वार्ता हुने बताए । प्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार उद्योग व्यवस्थापन र आन्दोलनरत मजदुरहरूलाई हडताल तोड्न र वार्ता गर्न निर्देशन दिएका थिए । उक्त निर्देशन पश्चात हेटौंडामा बसेको सर्वपक्षीय बैठकमा मजदुरले उद्योग सुचारु गर्ने र व्यवस्थापनले वार्ता गर्ने सहमति भएको हो ।

सर्वपक्षीय बैठकमा  सभासद् लामिछाने, दलका प्रमुख, उद्योग वाणिज्य संघका अध्यक्ष, उद्योग संघका अध्यक्ष, उद्योग व्यवस्थापन र आन्दोलनकारी मजदुर तथा मजदुर नेताहरू सहभागी थिए । बैठकले सभासद् लामिछाने, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष भुवनलाल श्रेष्ठ र उद्योग संघका अध्यक्ष ऋषिराम घिमिरेको रोहबरमा मजदुरहरूले ११ दिनदेखि बन्द उद्योग खोल्ने निर्णय गरेको छ ।

मकवानपुरका बसामाडी गाविसस्थित युनिलिभर लिमिटेडका मजदुरहरूले विद्यमान तलबभत्तामा ५० प्रतिशतका दरले वृद्धि गर्नुपर्ने, प्रतिव्यक्ति निब्र्याजी १० लाख घरकर्जा दिनुपर्ने र घर मर्मत बापत वाषिर्क १ लाख रुपैयाँ प्रतिव्यक्ति दिनुपर्ने लगायत ६ सूत्रीय माग राखेर गत महिनाको २२ गते उद्योगको उत्पादन ठप्प पारेर आन्दोलन गर्दै आएका थिए । उद्योग एक दिन बन्द हुँदा उद्योगलाई ४० लाख रुपैयाँ घाटा पर्ने उद्योग व्यवस्थापनले जनाएको छ  ।

मजदुरहरूले माग पूरा नभएसम्म उद्योग ठप्प पार्ने र उद्योग सुचारु नभएसम्म वार्ता नगर्ने उद्योग व्यवस्थापनको आआफ्नो अडानका कारणले गर्दा वार्ता हुन सकेको थिएन । उद्योग व्यवस्थापनले मजदुरका माग अनुचित, असान्दर्भिक र उद्योगले बेहोर्न नसक्ने भन्दै उद्योगको उत्पादन बन्द (लक आउट) गर्न श्रम विभाग र मन्त्रालयमा निवेदन दिएका थिए ।

लक आउट गर्न उद्योगले निवेदन दिएपछि लगानीको वर्षको सुरुवातमा गलत सन्देश जाने गरी बहुराष्ट्रिय कम्पनीको उद्योग बन्द गर्न नहुने अडानका साथ प्रधानमन्त्री भट्टराईले हडताल तोड्न निर्देशन दिएका थिए । गत वर्ष ७६ करोड ४० लाख रुपैयाँ राजस्व बुझाएको युनिलिभर लिमिटेडले गत आवमा ३ अर्ब ८० करोड रुपैयाँको कारोबार गरेको थियो । २०५० मा स्थापित उद्योगमा कामदार र कर्मचारी १ सय ८० जना कार्यरत छन् । हेटौंडा नगरपालिकासँग जोडिएको उक्त उद्योगले लक्स, लाइफब्वाई, लिरिल साबुन, पेप्सुडेन्ट, क्लोजप मञ्जन र फेरेन्लभ्ली उत्पादन गर्दै आएको छ ।

Published on: 16 February 2012 | Kantipur

Back to list

;