s

युएन मिसनमा नेपालको ६४ वर्ष : ८५ नेपाली सुरक्षाकर्मीले गुमाए ज्यान

टेकराज थामी

 

विश्व शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिएको ६४ वर्षयता ८५ नेपाली सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । जसमा सबैभन्दा धेरै हिस्सा नेपाली सेनाका सुरक्षाकर्मीको छ । नेपाली सुरक्षाकर्मी शान्ति मिसनमा खटिने क्रम लेबनानबाट सन् १९५८ देखि सुरु भएको थियो । नेपाली सेनाका पाँच ‘अब्जर्भर’बाट सुरु भएको मिसनमा हालसम्म एक लाख ४० हजार दुई सय दुई सुरक्षाकर्मी विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिसकेका छन् । यसक्रममा नेपाली सेनाका मात्रै ७२ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका ११ र सशस्त्र प्रहरी बलका दुई सुरक्षाकर्मी पनि मिसनकै क्रममा मृत्यु भएका छन् । 

मंगलबार मात्रै नेपाली सेनाका सिपाही अनिल गुरुङले द्वन्द्वग्रस्त मुलुक कंगोमा ज्यान गुमाउन पुगे । अपरेसन ‘बाली’मार्फत उनी मिसनमा खटिएका थिए । विद्रोही पक्षबाट हानिएको गोली अचानक उनलाई लाग्न पुग्यो । सोही चोटका कारण उनको मृत्यु हुन पुगेको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । ‘कंगो मिसनमा उनी अपरेसन ‘बाली’अन्तर्गत फिल्डमा थिए । मंगलबार विद्रोही पक्षबाट फायर भयो । उनलाई गोली लाग्न पुग्यो । चोटका कारण उनले साहदत प्राप्त गर्न पुगे,’ उनले भने । 

सहायक रथी नारायण सिलवाल, सैनिक प्रवक्ता

सिपाही अनिल गुरुङ कंगो मिसनमा उनी अपरेसन ‘बाली’अन्तर्गत फिल्डमा थिए । मंगलबार विद्रोही पक्षबाट फायर भयो । उनलाई गोली लाग्न पुग्यो । सोही चोटका कारण उनले सहादत प्राप्त गर्न पुगे । 

गुरुङलाई मंगलबार साँझ ६ बजे विद्रोही लडाकुले हानेको गोली लागेको थियो । चोटका कारण घटनास्थलमै ढलेका उनलाई उपचारका लागि नेपाली सेनाका सुरक्षाकर्मीले तत्काल अस्पताल पुर्‍याएका थिए । तर, उनको उपचारकै क्रममा मृत्यु भएको थियो । ०६६ मा सेनामा जागिर सुरु गरेका गुरुङ गत ८ पुसमा मात्रै मिसनका लागि कंगो पुगेका थिए । सुर्खेत गुर्भाकोट–१४ बस्दै आएका उनका श्रीमती र १२ वर्षका एक छोरा छन् । 

द्वन्द्वग्रस्त मुलुकका ४३ वटा मिसनमा नेपाली सुरक्षाकर्मी

सेनाका अनुसार नेपाली सुरक्षाकर्मी हालसम्म द्वन्द्वग्रस्त मुलुकका ४३ वटा मिसनमा खटिसकेका छन् । जसमा सेनाका सहभागिता सबैभन्दा धेरै छ । त्यसो हुँदा सहादत प्राप्त गर्ने सैनिक पनि सेनाकै धेरै छन् । सेनाको तथ्यांकअनुसार सबैभन्दा धेरै सैनिक लेबनानमा मारिएका छन् । लेबनानमा मात्रै हालसम्म ३१ सैनिकले सहादत प्राप्त गरेका छन् । मिसनका क्रममा खटिनेमध्ये सेनाका सिपाही गंगाबहादुर दर्लामीले पहिलोपटक सहादत प्राप्त गरेका थिए । ५ पुस ०३६ मा उनले लेबनानमै ज्यान गुमाउन पुगेका थिए । तथ्यांकअनुसार द्वन्द्वग्रस्त मुलुक सोमालियामा पनि हालसम्म १० सैनिकले ज्यान गुमाएका छन् । हाइटीमा ६, कंगोमा ६,  सुडानमा चार, सेरालियोनमा तीन, बुरुन्डीमा तीन, युगोस्लाभियामा दुई, लिबियामा एक र अन्य मुलुकमा ६ गरी कुल ७२ सैनिकले शान्ति स्थापनार्थ मिसनकै क्रममा सहादत प्राप्त गरेका छन् । ‘मिसनमा खटिएका अनिलले जस्तै सहादत प्राप्त गर्ने सैनिकको सूची नेपाली सेनासँग लामो छ । हालसम्म सहादत  प्राप्त गर्ने सैनिकको संख्या ७२ पुगेको छ,’ सैनिक प्रवक्ता सहायक रथी सिलवालले भने । 

युएन आवासीय संयोजक हवार्ड र प्रधानसेनापति शर्माबीच भेट

प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघ नेपालका लागि आवासीय संयोजक रिचर्ड हवार्डबीच बुधबार सैनिक मुख्यालय भद्रकालीमा भेटवार्ता भएको छ । भेटमा मंगलबार सहादत प्राप्त सैनिक अनिल गुरुङको बहादुरीपूर्ण कार्यको सन्दर्भमा कुराकानी भएको थियो । उनले गुरुङका परिवारलाई संयुक्त राष्ट्रसंघबाट उपलब्ध हुने सहयोगका लागि आवश्यक पहल गर्नेसमेत प्रतिबद्धता जनाएको नेपाली सेनाले जानकारी दिएको छ । यसक्रममा हवार्डले शान्ति स्थापनार्थ विभिन्न मुलुकमा खटिएका नेपाली शान्ति सैनिकले पु¥याएका योगदानको प्रशंसा गरेका थिए । यसक्रममा उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन हुने अनमो र अनसो तालिमको अन्तर्राष्ट्रिय मान्यताका लागि अवश्यक प्रक्रिया अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

युएन मिसनमा सुरक्षाकर्मी खटाउने मुलुकमध्ये नेपाल दोस्रो

शान्ति स्थापनार्थ ११ वटा विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिने नेपाली सुरक्षाकर्मीको संख्या पाँच हजार पाँच सय ३६ छ । शान्ति स्थापनार्थ सैनिक खटाउने विभिन्न एक सय २० मुलुकको तुलनामा यो दोस्रो ूलो संख्या हो । शान्ति स्थापनार्थ सैनिक खटाउने मुलुकमध्ये सबैभन्दा अगाडि बंगलादेश छ । हाल विभिन्न द्वन्द्वग्रस्त मुलुकमा बंगलादेशका ६ हजार चार सय ४७ सैनिक परिचालित छन् । नेपालपछि सबैभन्दा धेरै सैनिक खटाउनेमा भारत  (५४८१), रुवान्डा (५२६३), इथोपिया (४८५६), पाकिस्तान(३९४९), इजिप्ट (२८१८), इन्डोनेसिया (२८१८), घाना (२२९६) लगायतका देश छन् । नेपाली सुरक्षाकर्मी हाल कंगो, दक्षिण सुडान, वेस्ट सहारा, इजरायल, लेबनान, माली, सिरिया, सेन्टर अफ्रिका रिपब्लिक, इराक र लिबियामा खटिएका छन् ।

Published on: 7 April 2022 | Nayapatrika

Link

Back to list

;