s

यूएन कर्मचारी घर फर्कनेबारे के हुँदैछ प्रक्रिया ?

काठमाडौँ — राष्ट्रसंघीय मिसन (यूएन) अन्तर्गत अफगानिस्तानमा रहेका नेपाली कर्मचारी आफ्नै इच्छामा घर फर्कन चाहेको प्रक्रियाबारे सम्बद्ध कूटनीतिक नियोगबाट औपचारिक प्रस्ताव नआएकाले निर्णय हुन नसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

गत साता कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले ‘अफगानिस्तानमा यूएनअन्तर्गत कार्यरत नेपाली नागरिक उद्धार गर्न यूएन एजेन्सीबाट अनुरोध भएर आएको’ जानकारी दिँदै ती कर्मचारीलाई नेपाल ल्याउन उपयुक्त उपाय अपनाइने बताएको थियो। ‘तर, यसबारे कूटनीतिक तहबाट औपचारिक प्रस्ताव आएकै छैन, प्रस्ताव आएपछि मात्रै यसबारे उपयुक्त निर्णय हुनेछ,’ प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कान्तिपुरसँग भने, ‘कूटनीतिक तहबाट आवश्यक कागजातसहितको प्रस्ताव आएपछि मात्रै कर्मचारी घरफिर्तीको प्रक्रिया अघि बढ्नेछ।’

राष्ट्रसंघीय मिसनअन्तर्गत अफगानिस्तानमा रहेका १८ जना कर्मचारीले बढ्दो कोरोना सन्त्रास र राष्ट्रसंघीय निकायले दिएको लामो घरबिदाका कारण नेपाल फर्कन चाहेका हुन्। यसअघि, चर्चामा आएजस्तो ‘नेपाल सरकारले उद्धार गर्न चाहेर फिर्ता ल्याउन लागिएको नभएर’ राष्ट्रसंघीय कार्यालयको संयोजनमा कर्मचारीहरुको इच्छाअनुसार घरफिर्ता गर्न लागिएको यूएन मिसनका एक अधिकारीले बताए। कर्मचारीको घरफिर्तीमा आवश्यक प्रक्रिया भने दिल्लीस्थित नेपाली दूतावासले अघि बढाउनुपर्ने हुन्छ।

सचिव बिडारीका अनुसार, अफगान मामला हेर्ने दिल्ली नियोगले यसबारे नेपाल सरकारलाई औपचारिक कूटनीतिक प्रस्ताव पठाएको छैन।

Published on: 20 April 2020 | Kantipur

Link

Back to list

;