s

उमेर मापदण्डले वैदेशिक रोजगारीमा जाने महिलालाई समस्या

रुद्र खड्का

वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको इजरायल खुलेको सुनेपछि झापा, शनिश्चरेकी २१ वर्षीया पार्वती लिम्बु दरखास्त दर्ता गर्न वैदेशिक रोजगार विभाग पुगिन्। विभागमा उनले फारम दर्ता गर्न खोजिन्, कर्मचारीले मानेनन् । कर्मचारीले पार्वतीको उमेर नपुगेको जवाफ फर्काए। उनी निराश हुँदै घर फर्किन्। केयर गिभरको काममा इजरायल जान विभागले दरखास्त मागेपछि यतिखेर दिनहुँ ठूलो संख्याका युवती विभाग पुग्ने र फर्कने गरेका छन्। जसमध्ये थोरैले मात्र फारम दर्ता गर्न पाउँछन्। फारम दर्ता गर्न नपाउने युवतीका लागि समस्या हुने गरेको छ– उमेर।

मन्त्रालयले खाडी मुलुकमा घरेलु कामदारका रूपमा जाने महिलाको न्यूनतम उमेर २४ वर्ष र इजरायलको केयर गिभरलाई २५ वर्ष तोकेको छ। जबकि अन्य जुनसुकै देशमा जान उमेरको मापदण्ड छैन।

नेपालको कानुनले १८ वर्ष पुगेको हरेक व्यक्तिलाई समान रूपमा घुमफिरको अधिकार दिए पनि इजरायल र साउदी अरब जाने महिलाको हकमा सरकारी निकायबाटै उमेरको हदबन्दी तोकिएपछि नेपाली श्रम बजार तरगिंत छ। सरकारी निकायको अन्योल र श्रम तथा रोजगार मन्त्रालयले बनाएको विभेदकारी नियमका कारण १८ वर्ष पुगेका महिलाले राहादानी लिए पनि चाहेको देशमा रोजगारीका लागि जान पाइरहेका छैनन्। सरकारले महिलाको सुरक्षाको लागि उक्त नियम बनाइएको तर्क गरे पनि त्यसकौ सान्दर्भिकता र औचित्य भने पुष्टि हुन सकेको देखिँदैन।

अमेरिका, युरोप जस्ता मुलुकमा १८ वर्ष पुगेका महिलालाई जान दिने कानुन बनाएको सरकारले खाडी मुलुकमा घरेलु कामदारमा र इजरायल जान उमेरको हद तोक्नुको कुनै अर्थ नभएको आवाज चर्को रुपमा उठिरहेको छ। मन्त्रालयले खाडी मुलुकमा घरेलु कामदारका रूपमा जाने महिलाको न्यूनतम उमेर २४ वर्ष तोकेको छ भने इजरायलको केयर गिभरमा २५ वर्ष पुगेका मात्र जान पाउँछन्। जबकि अन्य जुनसुकै देशमा जान उमेरको मापदण्ड छैन।

इजरायलमा केयर गिभरको काम गर्न जान खोजेकी पाँचथरकी नरमाया थापा २५ वर्ष नपुग्दा अघिल्लो वर्ष र यो वर्ष फारम भर्नबाटै वञ्चित भएको गुनासो गर्छिन्। 'म को हुँ? के काम गर्न हुन्छ र हुँदैन भन्नेबारे सबै जानकारी छ,' बिएस्सी नर्सिङको अध्ययनसमेत सकेकी २३ वर्षीया थापाले भनिन्, 'इजरायल जान २५ वर्ष न्यूनतम उमेर तोकिएका कारण अरु दुई वर्ष बेरोजगार भएर बस्नु पर्‍यो।' उनको विचारमा सक्षम युवायुवतीका लागि २५ वर्ष पर्खाउनु भनेको अलपत्र पार्नु जस्तै हो। उनी भन्छिन्, 'काम गर्न सक्ने बेला २५ वर्षसम्म पर्खाउनु महिलामाथि अत्याचार हो। महिलाको क्षमतामाथि विश्वास नगर्नु हो।' पुरुषलाई विदेश जाँदा १८ वर्ष पुग्ने भए पनि महिलालाई उमेर मापदण्ड तोक्दा महिलालाई झनै परनिर्भर बनाउने र त्यस्तो काम सरकारी निकायले नै गरेको पाउँदा थापाले निकै दुःख लागेको बताइन्।

अस्पष्ट सरकारी नीतिका कारण यतिखेर कैयौं महिलाले मार खेपे पनि पीडा सुनिदिने कोही नभएको गुनासो गरेका छन्। संविधानले १८ वर्ष पुगेका नागरिकलाई जुनसुकै मुलुकमा जानसक्ने व्यवस्था रहेको बेला खाडी र इजरायलका लागि छुट्टै निर्देशिका बनाएर उमेरको मापदण्ड तोकेपछि अलमलमा परेको इजरायलका लागि फारम भर्न नपाएकाको गुनासो छ ।

मन्त्रालयले उमरेको मापदण्ड तोकेपछि अघिल्लो वर्ष ५९ जना इजरायल गएका छन् भने खाडीको संयुक्त अरब इमिरेट्समा सवा सय जति महिला घरेलु कामदारको रूपमा गएका छन्। यसपटक सोही प्रावधानमा रहेर विभागले केयर गिभरको दोस्रो चरणको कार्यक्रमका लागि ६० जना छनोट गर्ने प्रक्रिया सुरु गरिसकेको छ। जसमा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष छनोट हुनेछन्।

विभागकी निर्देशक रमा भट्टराई इजरायलको केयर गिभर र खाडी मुलुकमा घरेलु कामदार महिलाका लागि उमेर हदबन्दी तोक्नुको कारण महिलालाई सुरक्षित बनाउने मनसायबाट प्रेरित रहेको बताउँछिन्। 'घरेलु कामदारको रूपमा खाडी मुलुकमा जाने महिला बढी असुरक्षित भएपछि उमेर हदबन्दी कायम गर्नु परेको हो,' उनले भनिन्, '२४ वर्षसम्म नेपालमा धेरै महिलाको बिहे भइसक्ने र बिहे भइसकेका महिला खाडीमा जाँदा परपुरुषको आँखा नपर्ला भनेरै उमेर तोक्नुपरेको हो जस्तो लाग्छ।'

तर, श्रमविज्ञ भने सरकारी निकायले वैदेशिक रोजगारीमा जाने महिलाको उमेरमा हदबन्दी तोक्नुभन्दा कसरी वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सकिन्छ भनेर चेतना जगाउनु आवश्यक रहेको सल्लाह दिन्छन्। विभागले इजरायलमा केयर गिभरको काम गर्न जानेको उमेर २५ वर्ष पुगेर ४५ वर्ष ननाघेको हुनुपर्छ। त्यस्तै, उचाइ कम्तीमा १.४ मिटर र तौल ४५ केजी हुनुपर्ने प्रावधान राखेको थियो।

इजरायल जान १४ सयको प्रतिस्पर्धा

केयर गिभरका लागि इजरायल जान वैदेशिक रोजगार विभागले मागेको दरखास्तमा एक हजार चार सयले आवेदन दिएका छन्।

गत फागुन १८ गते मागिएको सूचनाको बुधबार अन्तिम दिन थियो। विभागकी निर्देशक रमा भट्टराईका अनुसार आवेदन दिएका प्रतिस्पर्धीको विवरण केही दिनमै इजरायली दूतावासमा पठाइसकेपछि छनोट प्रक्रिया सुरु हुनेछ।

उनले १५ दिन जतिमा सबै आवदेकको विवरण इजरायली दूतावासमा पठाइसक्ने बताइन्। अघिल्लो वर्ष विभागले केयर गिभरमा इजरायल पठाउन सुरु गरेको थियो। सोही वर्ष तीन सयजना पठाउने भनिए पनि दुवै देशले ढिलाइ गरेका कारण अघिल्लो वर्षको कार्यक्रमलाई पुनः निरन्तरता दिइएको हो।

गत वर्ष ५९ जना इजरायल गइसकेका छन्। यो वर्ष ६० जनालाई पठाइने बताइएको छ। इजरायलमा बालबालिका र वृद्धवृद्धाको रेखदेखको काम गर्नेलाई केयर गिभर भनिन्छ। यो वर्ष छनोट गरिनेमा ८० प्रतिशत (४८ जना) महिला र २० प्रतिशत (१२ जना) पुरुष हुने भट्टराईले बताइन्।

गत वर्ष तीन महिने केयर गिभरको तालिम लिएका कोही पनि फेला नपरेपछि नर्स, अनमी र अहेब अध्ययन गरेका छनोटमा परेका थिए। यसपटक भने तीन महिने तालिम लिएकाले समेत दरखास्त दिएको विभागले जनाएको छ। इजरायली दूतावासले दरखास्त दिएकामध्ये गोलाप्रथाद्वारा सय जना छनोट गरेपछि परीक्षा हुने भट्टराईले बताइन् ।

लागत न्यून हुने र मासिक पारिश्रमिक सवा लाख रुपैयाँभन्दा बढी पाइने भएकाले इजरायलको रोजगारी निकै आकर्षक मानिन्छ। इजरायलमा केयर भिगरका लागि कुनै पनि मेनपावरले कामदार पठाउन पाउँदैनन्। जिटुजी (दुबै देशका सरकारी प्रक्रिया) मार्फत पठाइने भएकाले कामदार शोषणमा पर्ने सम्भावना पनि निकै कम हुने विश्वास गरिन्छ। मेनपावरमार्फत इजरायल जाँदा समस्या देखिएपछि तीन वर्षअघि सरकारले मेनपावरमार्फत पठाउन बन्द गरेको थियो। यसपटक छनोटमा परेका कामदार आउँदो असारपछि इजरायल जान पाउनेछन्।

Published on: 23 March 2017 | Nagarik

Back to list

;