s

युक्रेनमा रहेका नेपाली भन्छन्– त्रासमा छौँ, के हुने हो थाहा छैन

दोलखाका गान्वा थामी युक्रेनको राजधानी किभबाट दुई किलोमिटर पश्चिमको बेलासरगुवामा छन् । उनी रहेको स्थानमा २५ जना नेपाली विद्यार्थी भिसामा ६ महिनादेखि छन् । तर, उनीहरू कामका लागि लगिएका हुन् । नयाँ पत्रिकासँग टेलिफोन कुराकानीमा उनले अहिलेसम्म सुरक्षित रहेको, तर कुनै पनि वेला रुसी आक्रमण हुने त्रासदी फैलिएको बताए । 

‘६ महिनादेखि हामी बेरोजगार अवस्थामा बसेका छौँ । एजेन्टलाई साढे आठ लाख तिरेर आइपुग्यौँ । विद्यार्थी भिसामा काम गर्न आएका हौँ, तर काम नपाएर आफ्नै खर्चमा बस्दै आएका छौँ,’ थामीले भने, ‘हामी जतिसक्दो यहाँबाट निस्कने उपायको खोजीमा छौँ । भारतीय, पाकिस्तानीसहित अरू पनि छन् । उनीहरूसँगै लिबिब (स्लोभाकिया र पोल्यान्ड, हंगेरीनजिकको ठाउँ) जाने उपायमा छौँ ।’ 

पर्वतका गोकुल शर्मालगायतको ६ जनाको टोली बिहीबार लिभिब पुगेको छ । उनीहरू राजधानी किभबाट बुधबार राति आपत्कालीन गाडी बुक गरेर त्यहाँ पुगेका छन् । उनीसँगै हेटौँडाका सुनील पाण्डे र मिलन ठकुरी र मोरङका जंगबहादुर लिम्बु पनि सीमावर्ती सहर पुगेका छन् । यो राजधानी किभबाट करिब पाँच सय किलोमिटर टाढा हो । ‘हामी आएको भर्खरै दुई महिना मात्रै भयो,’ शर्माले भने, ‘युक्रेनमा परिस्थिति नराम्रो भएपछि बुधबार साँझ किभबाट आपत्कालीन ट्याक्सीमा चढेर यहाँसम्म आएका छौँ । अब के हुन्छ, थाहा छैन ।’

स्लोभाकियाले युक्रेनको सीमा खोल्ने जानकारी बर्लिनस्थित नेपाली दूतावासबाट पाएको उनले बताए । ‘सीमा खुल्यो भने हामी स्लोभाकिया जान कोसिस गर्छौं,’ शर्माले भने, ‘युक्रेनबाट किभसम्म करिब सयजना नेपाली शुक्रबार बिहानसम्म लिभिब आउँदै गरेको जानकारी पाएका छौँ ।’ उनीहरू होस्टलमा बसेका छन् । ‘हामी सुरक्षित छौँ । घरपरिवारमा पनि सम्पर्क भइरहेको छ,’ किभस्थित इन्टरनेसनल कलेज अफ इकोलोजी एन्ड बायोलोजी साइन्स अध्ययनका लागि पुगेका शर्माले भने, ‘राजधानी किभमा बम खसेको खबरले त्रासमा थियौँ । अब हामी यहाँबाट जतिसक्दो चाँडो बाहिरिन चाहन्छौँ । नेपाली दूतावाससँग पनि सम्पर्कमा छौँ ।’ 

पूर्वी युक्रेनको खार्किभ सहरमा रहेका एकजना विद्यार्थीले परिचय सार्वजनिक नगर्न आग्रह गर्दै ८० हजार विद्यार्थी रहेको ठाउँमा सुरक्षित रूपमा बसेको बताए । तर, त्यहाँ बिहीबार सैन्य बेसमा रुसी बम खसेको थियो । ‘बिहान बमको आवाजले हामी ब्युँझिएका हौँ,’ ती नेपालीले भयमिश्रित आवाजमा भने, ‘अहिले पनि डाङडुङ आवाज चलिरहेको छ । भगवान्सँग प्रार्थना छ कि हामीलाई केही हुनेवाला छैन ।’ 

राजधानी किभबाट ६ सय किलोमिटर टाढा खार्किभमा रहेका आधा दर्जनजति नेपालीलाई किभस्थित भारतीय दूतावासले भारतीय नागरिकलाई उद्धार गर्ने क्रममा दिल्लीसम्म लगिदिने आश्वासन दिएको छ । ‘हामी भारत हुँदै आएका हौँ, भारतीय एजेन्टमार्फत आएका हौँ,’ अर्का विद्यार्थीले भने, ‘भारत सरकारले नै उद्धार गरिदिन्छ भनिएको छ ।’

Published on: 25 February 2022 | Nayapatrika

 

Link

Back to list

;