s

युक्रेनमा विवेक खत्री बन्धक, छुटाउन पत्राचार

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा रहेको पुष्टि गरेको छ । बर्दियाका खत्री रुसी सेनामा भर्ती भएपछि युक्रेनसँगको युद्धका क्रममा असोज अन्तिम सातादेखि रुसी सेनाको नियन्त्रणमा छन् । उनलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ ।

युक्रेनसमेत हेर्ने जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले खत्रीको रिहाइका लागि राजदूतावासले युक्रेन सरकारलाई पत्र पठाएको बताए । ‘युक्रेन युद्धमा भएका कारण सोचेजसरी कुराकानी हुन पाएको छैन । तर, हामीले पत्र पठाएर चासो राखेका छौँ, सम्बन्धित निकायमा नेपालको चासो पुर्‍याउँछौँ भन्ने जानकारी आएको छ । योबाहेक केही पनि जानकारी छैन,’ राजदूत खड्काले जर्मनीबाट टेलिफोनमा भने ।

नेपालले युक्रेनमाथि रुसी हमलाको विरोध गरेको थियो । यो सन्दर्भसमेत उल्लेख गर्दै नेपाल सरकारका तर्फबाट युक्रेनलाई खत्रीको रिहाइका लागि चिठी लेखिएको छ ।

युक्रेनको गृह मन्त्रालयका सल्लाहकार एन्टोन गेरासचेन्कोले २ कात्तिकमा ट्विटरमा खत्री युक्रेनी सुरक्षा फौजको नियन्त्रणमा रहेको भन्दै उनको भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोमा खत्रीले घरको आर्थिक अवस्थाका कारण रुसी सेनामा भर्ती भएको बयान दिएका छन् । साथीका कारण रुसी सेनामा भर्ती भएको, तर अब घर फर्किन चाहेको पनि उनले बताएका छन् ।

Published on: 5 December 2023 | Naya Patrika

Link

Back to list

;