s

युक्रेनले सार्वजनिक गर्‍यो पाँच नेपाली युद्धबन्दी

युक्रेनले रुसी सेनामा भर्ती भएका नेपालीसहित ८ युद्धबन्दी सार्वजनिक गरेको छ।

समाचार संस्था रोयटर्सका अनुसार थुनामा रहेका युद्धबन्दीमध्ये शुक्रबार ५ नेपाली क्युबा, सोमालिया र सियरा लियोनका एक/एक गरी ८ जनालाई सार्वजनिक गरेको हो।

उनीहरूलाई सार्वजनिक गर्दै युक्रेनी सेनाले रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिकहरूलाई रोक्न आग्रह गरेको छ।

‘अन्य देशले आफ्ना नागरिकहरूलाई विदेशी सेनामा भर्ती नगराउन् र उनीहरू पनि सचेत होऊन् भन्नका लागि हामीले युद्धबन्दीलाई सार्वजनिक गरेका हौं ताकी उनीहरू नफसुन्,’ युद्धबन्दीहरुको उपचार समन्वय विभागका प्रतिनिधि पेट्रो यात्सेन्कोले शुक्रबार पत्रकार सम्मेलनमा भने।

पत्रकार सम्मेलनमा युद्धबन्दीहरूलाई बर्दीमा उपस्थित गराइएको थियो। त्यहाँ दुई पङ्क्तिमा उनीहरुलाई राखिएको रोयटर्सले उल्लेख गरेको छ।

प्रवक्ता यात्सेन्कोले उनीहरूलाई पनि अन्य युद्धबन्दीहरूलाई जस्तै व्यवहार गरिएको पनि बताए।

युक्रेनले उनीहरूको परिचय भने खुलाएको छैन। तस्बिरमा अघिल्लो लहरमा बायाँतर्फका तीन र पछिल्लो लहरमा दायाँबाट दुईजना नेपाली नागरिक हुन्।

हामीले यसबारेमा परराष्ट्र मन्त्रालयलाई सोधेका छौं।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले सार्वजनिक गरिएको भनिएकाहरू थप नयाँ व्यक्तिहरू नभएको बताएका छन्।

‘उहाँहरूलाई दोस्रो पटक बयान लिइएको रहेछ। त्यही क्रममा सार्वजनिक गरिएको हो । नयाँ युद्धबन्दी होइनन्,’ उनले भने।

रूसी सेनामा भर्ती भएका ६ जना नेपाली युवकहरूलाई युक्रेनले बन्दी बनाएको विषय यसअघि नै मन्त्रालयको जानकारीमा रहेको उनले बताए।

राजापुर नगरपालिका-१ बर्दियाका विवेक खत्री, मण्डनदेउपुर नगरपालिका-६ काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ-२ मोरङका विकास राई, दाङका प्रतिक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने युक्रेनमा बन्दी बनाइएका हुन्।

उनीहरुलाई युक्रेनको नियन्त्रणबाट मुक्त गरी स्वदेश ल्याउने प्रक्रिया भइरहेको प्रवक्ता राईले बताए। त्यहाँ नेपालको दूतावास पनि नभएकाले अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र जर्मनीस्थित नेपाली दूतावासबाट पहल भइरहेको उनले बताए।

Published on: 18 March 2024 | Setopati

Link

Back to list

;