s

युक्रेनको कब्जामा रहेका नेपालीलाई छुटाउन पहल भइरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौँ — रुसी सेनामा गैरकानुनी रूपमा भर्ना भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेका ५ नेपालीहरूलाई छुटाउनका लागि सरकारले निरन्तर पहल गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूलाई छुटाउन युक्रेनी पक्षसँग परराष्ट्र मन्त्रालयले आफ्ना संयन्त्रहरूमार्फत गृहकार्य गरिरहेको परराष्ट्रका प्रवक्ता अमृतकुमार राईले जानकारी दिए । युद्धका क्रममा विभिन्न स्थानबाट कब्जामा लिइएका नेपालीहरूलाई युक्रेनले एकै स्थानमा भेला गरिसकेको छ ।

शुक्रबार भने युक्रेनले ८ जना रुसी सेनामा कार्यरत अन्य मुलुकका नागरिकहरूलाई एकै पटक सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । युक्रेनले ग्लोबल साउथका मुलुकहरूलाई आफ्ना नागरिकलाई रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा रोक लगाउनका लागि पनि सार्वजनिक रूपमै आग्रह गरेको छ ।

युक्रेनी सरकार ‘ट्रिटमेन्ट अफ प्रिजनर्स अफ वार’ हेडक्वार्टरका संयोजक पेट्रो यात्सेन्कोले सार्वजनिक गरेको नागरिकहरूको सूचीमा नेपालका ५ तथा क्युबा, सोमालिया र सियरा लियोनका एक/एक नागरिक छन् । राजधानी किभमा भएको पत्रकार सम्मेलनमा कमजोर आय भएका देशका केही नागरिकहरूलाई रूसले भर्ती गर्ने र युद्धमा आफ्नो हतियारका रुपमा प्रयोग गर्ने उच्च सम्भावना रहेको उनले उल्लेख गरेका छन् ।
युक्रेनले नेपालका ५ जनालाई एकै स्थानमा राखेर बयान लिएको थियो । रुसी सेनामा भर्ना भएका बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन र गोरखाका ईश्वर लामिछाने युद्धका क्रममा युक्रेनी सेनाको कब्जामा परेका छन् ।

युक्रेनले नेपालीहरूसँग कुराकानी गरेर सबैलाई युक्रेनबाट रिहा भएपछि रुस जाने र सैन्य सम्झौता रद्द गरेर नेपाल फर्कने वाचा गराएका छन् । युक्रेनले बन्दीहरुलाई कहिले छाड्छन् भन्ने बारेमा पनि जानकारी दिएको छैन । नेपालले लामो समयदेखि जर्मनीस्थित नेपाली दूतावासमार्फत युक्रेनी कब्जामा रहेका आफ्ना नागरिकहरुलाई रिहाई गर्नको लागि कूटनीतिक कदम चालेको थियो ।

नेपालको लगातारको प्रयासपछि मात्र युक्रेन नेपालसँग कूटनीतिक संवाद गर्न सहमत भएको थियो । अहिले नेपाल र युक्रेनबीच कूटनीतिक संवाद भइरहेको छ । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र युक्रेनी राजदूतबीच कुराकानी भइरहेका छन् । युक्रेनले यसअघि कब्जामा भएका नेपालीहरूको विभिन्न समयमा भिडियो पनि सार्वजनिक गरेको थियो ।

रुस–युक्रेन युद्ध लड्न रुसी सेनामा भर्ती भएर गएका १९ जना नेपालीहरूको मृत्यु भइसकेको छ । अहिलेसम्म रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने बारेमा नेपालले पटक–पटक रुसलाई आग्रह गर्दासमेत जवाफ दिन मानेको छैन ।

Published on: 18 March 2024 | Kantipur

Link

Back to list

;