s

युक्रेनबाट पोल्याण्ड पुगेका नेपालीको भारतीय टोलीद्वारा उद्धार

कान्तिपुर संवाददाता 

नयाँ दिल्ली — भारतले युक्रेनबाट आफ्ना नागरिकसँगै एक जना नेपाली नागरिको पनि उद्धार गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बागचीले एक जना नेपाली र अर्को एक जना बांगलादेशी नागरिकलाई पनि उद्धार गरिएको बताए । तनाबग्रस्त युक्रेनबाट पोल्याण्ड पुगेका नेपाली नागरिकको भारतीय टोलीले उद्धार गरेको हो ।

तर उद्धार गरिएका नेपाली नागरिकबारे उनले केही जानकारी दिएका छैनन् । दिल्लीस्थित नेपाली दूतावासले केही दिनअघि भारतीय विदेश मन्त्रालयलाई नेपाली नागरिकको उद्धारमा समेत सघाउन आग्रह गरेको थियो । 

भारतले त्यसलाई सकारात्मक रुपमा लिँदै उद्धारमा सहयोग गर्ने बताएको थियो । सही समय र सही ठाउँमा उपलब्ध रहेका नेपाली र बंगलादेशी नागरिकलाई उद्धार गरिएको बागचीले बताए ।

यस्तै नेपाली दूतावासले युक्रेनबाट बाहिरिएका नेपाली नागरिकलाई भारतीय नागरिक बसोबास गरेकै क्षेत्रमा उनीहरु सँगै रहन सन्देश पठाएको छ । भारतका लागि कार्यवाहक नेपाली राजदूत रामप्रसाद सुवेदीले युक्रेनबाट पोल्यान्ड आइपुगेका एक जना नेपाली नागरिक भारतीय टोलीको सम्पर्कमा आएपछि उनको उद्धार भएको बताए ।

‘एक जना नेपाली भारतीय प्लेन चढ्नु भएको सूचना पाइएको छ । तर, उनी को हुन भन्नेबारे विस्तृत जानकारी आइसकेको छैन,’ कान्तिपुरसँग उनले भने ‘नेपाली नागरिकको उद्धारमा भारतले सघाएको छ । थप कोहीले उद्धार चाहनु भएको छ भने भारतीय टिमको निकट पुगे सहयोग पाउनु हुनेछ ।’ 

युक्रेन र छिमेकी मुलुकहरुमा नेपाली दूतावास छैन । जर्मनीमा रहेको नेपाली दूतावासले नै अहिलेको परिस्थितिमा काम गरिरहेको छ । दिल्ली दूतवासले उद्धारका लागि खटिएका भारतीय टोलीको सम्पर्क नम्बरहरु जर्मनी दूतावासलाई उपलब्ध गराएको छ ।

भारतले युक्रेनबाट आफ्ना अधिकांश नागरिकलाई उद्धार गरेर ल्याइसकेको छ । पछिल्लो २४ घण्टामा उद्धारका लागि १३ उडान गरिएको छ । तर, अझै युक्रेनको सुमीमा एक हजार हाराहारीमा भारतीय विद्यार्थी उद्धारको प्रतिक्षामा छन् । प्रवक्ता बागचीले अबको सबै ध्यान सुमीमा रहेका विद्यार्थीहरुको उद्धारमा लगाइएको बताए ।

Published on: 7 March 2022 | Kantipur

Link

Back to list

;