s

युक्रेनबाट नेपाली बन्दी रिहाइका लागि सहजीकरण गरिदिन राष्ट्रपति पौडेलकाे आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले युक्रेनको सैन्य हिरासतमा रहेका ६ जना नेपालीलाई रिहाइ तथा स्वदेश फिर्ताका लागि सहजीकरण गरिदिन जर्मनीसँग आग्रह गरेका छन् । सोमबार बर्लिनस्थित राष्ट्रपति भवनमा समकक्षी फ्रयांक वाल्टर स्टाइनमायरसँग भएको औपचारिक द्विपक्षीय वार्तामा राष्ट्रपति पौडेलले युक्रेनी सैन्य हिरासतमा रहेका नेपालीको रिहाइका लागि आग्रह गरेका हुन् । रुस–युक्रेन युद्धमा नेटो सदस्य राष्ट्र जर्मनीले युक्रेनलाई सैन्य सहायता प्रदान गर्दै आएको छ ।

रुसी सेनामा कार्यरत रहेको अवस्थामा युक्रेनी भूभागबाट ६ जना नेपाली फरक–फरक मितिमा युक्रेनी सेनाको नियन्त्रणमा छन् । परराष्ट्र मन्त्रालय तथा पारिवारिक च्यानलका अनुसार बर्दियाका विवेक खत्री, मोरङका विकास राई, काभ्रेका सिद्धार्थ ढकाल, रोल्पाका प्रतीक पुन, चितवनका सुजन सुवेदी र मकवानपुरका ईश्वर लामिछाने युक्रेनी सेनाको नियन्त्रणमा छन् ।

‘राष्ट्रपतिज्यूले युक्रेनमा रहेका ६ जना नेपालीलाई रिहाइका लागि पहल गरिदिन जर्मनीका समकक्षीसँग आग्रह गर्नुभयो । जर्मनीका राष्ट्रपतिज्यूले यो विषयलाई आफूले सकारात्मक रूपमा हेर्ने जवाफ दिनुभएको छ,’ औपचारिक वार्तामा रहेका राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार डा. सुरेशचन्द्र चालिसेले टेलिफोनमा भने । आफ्नो सैन्य हिरासतमा रहेका नेपालीलाई छाड्न नेपालसँग आपसी कानुनी सहायता सन्धि (एमएलएटी) वा यस्तै प्रकारको द्विपक्षीय सम्झौता गर्नुपर्ने युक्रेनको प्रस्ताव छ । तर, नेपाल सरकारले युक्रेनसँग थप छलफल गरेको छैन ।

राष्ट्रपति पौडेलले जर्मनीसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको र बदलिँदो विश्व परिवेशमा यो सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । सोसियलिस्ट इन्टरनेसनल तथा प्रोग्रेसिभ एलायन्सजस्ता संस्थाहरू सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रतालगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्नेमा उनको जोड थियो ।

‘नेपाल दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न तल्लीन रहेको छ, नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गर्दछु, नेपालको विकासको पथमा मित्रराष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी विश्वस्त छौँ,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहाकार किरण पोखरेलले बताए ।

जर्मनी युरोपेली युनियनको सबैभन्दा महत्वपूर्ण साझेदार हो भने अमेरिका र चीनपछि विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो । सल्लाहकार डा. चालिसेले राष्ट्रपतिको भ्रमण सफल भएको बताए ।

पर्यटन, जलस्रोत र कृषिमा सहयोगका लागि आग्रह

राष्ट्रपति पौडेलले नेपालको पर्यटन, जलस्रोत र कृषिमा लगानीका लागि जर्मन सरकार तथा सरकारमार्फत निजी क्षेत्रलाई अनुरोध गरेका छन् । राष्ट्रपतिले विकासशील मुलुकलाई जलवायु परिवर्तनको प्रभावसँग जुध्न जर्मनीले लस एन्ड ड्यामेज फन्डमा गरेको सहयोग प्रतिबद्धतालाई नेपालले स्वागत गरेको पनि बताए । ‘नेपालको कृषिमा क्रान्तिको आवश्यकता छ । कृषिमा अधिकांश जनता निर्भर छन् । कृषिमा प्रविधि, ज्ञान र आर्थिक स्रोतको आवश्यकता छ । हामीले यसमा जर्मनीबाट सहयोगको अपेक्षा गरेका छौँ भन्ने विषय राष्ट्रपतिले राख्नुभयो,’ परराष्ट्र सल्लाहकार चालिसेले भने ।

राष्ट्रपति पौडेलले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयासरत रहेको र यसलाई समस्यारहित, दिगो तथा अपरिवर्तनीय बनाउने क्रममा स्रोत, साधन, प्रविधि, लगानी तथा आर्थिक सहकार्यको आवश्यक पर्ने बताए । जलस्रोत तथा ऊर्जा क्षेत्रमा रहेको विशाल सम्भावना उपयोग गर्नु, पूर्वाधार विकास तीव्र पार्नु, पर्यटनका सम्भावना उपयोग गर्नु र जलवायु परिवर्तनको नकारात्मक प्रभावविरुद्ध लड्नु नेपालको प्राथमिकतामा रहेको उनको भनाइ थियो ।

सहभागितामूलक र समावेशी लोकतन्त्र, मानव अधिकार, मौलिक अधिकार, लैंगिक समानता, जलवायु परिवर्तनजस्ता धेरै सामाजिक–आर्थिक मुद्दाहरूमा दुई देशबीच अन्तरर्राष्ट्रिय मञ्चहरूमा समान धारणा रहेको राष्ट्रपति पौडेलेको भनाइ थियो । अर्को प्रसंगमा राष्ट्रपति पौडेलले सन् १९८९ मा बर्लिनको पर्खाल भत्कनु र नेपालमा प्रजातन्त्र पुनस्र्थापना हुनु एकैपटक परेको उल्लेख गरे । त्यसवेला स्थानीय विकासमन्त्रीको रूपमा आफूले जर्मनको भ्रमण गरेको स्मरण गरे ।

नेपाल र जर्मनीबीच विद्यमान व्यापार, लगानी र वाणिज्यका सम्बन्धहरूलाई थप विस्तार गर्न निजी क्षेत्रलाई अभिप्रेरित गर्नु जरुरी रहेको पनि राष्ट्रपतिको जोड थियो । हालैका वर्षहरूमा जर्मनी नेपाली युवाहरूका लागि उच्च शिक्षा अध्ययन, सीपयुक्त काम र सीपजन्य तालिमका लागि एक आकर्षक गन्तव्यको रूपमा स्थापित भएको राष्ट्रपति पौडेलले सुनाए ।

दुई देशबीच सीपयुक्त श्रम आप्रवासन र ज्ञान आदान–प्रदानका क्षेत्रमा गत वर्ष एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको भन्दै यसको कार्यान्वयनबाट जनस्तरको सम्बन्ध अझ मजबुत हुने राष्ट्रपतिको विश्वास थियो । यसैगरी, नेपाली एयरलाइन्सलाई युरोपेली संघको आकासमा उडान गर्न लगाइएको प्रतिबन्ध हटाउन जर्मन सरकारको सहयोगको आशा व्यक्त गरे ।

नेपाललाई सहयोग निरन्तर : जर्मन राष्ट्रपति

जर्मनीका राष्ट्रपति वाल्टरले जर्मनीले नेपालको आर्थिक विकासका लागि सहयोग निरन्तर गर्ने वचनबद्धता जनाएका छन् । ‘नेपाल जर्मनीको पुरानो र असल मित्र हो । बहुपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा हाम्रा समान धारणा छन्,’ राष्ट्रपति वाल्टरको भनाइ थियो । राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असरबारे राखेको भनाइप्रति जर्मनीका समकक्षीले चासो राखे र यसमा नेपालप्रति आफ्नो सहानुभूति रहेको सुनाए । जर्मनीका राष्ट्रपतिले नेपालजस्तो मुलुकको अप्ठ्यारा बुझेको र त्यसमा आफ्नो सहानुभूति रहेको बताए ।

३८ वर्षपछिको भ्रमण, जर्मन राष्ट्रपतिलाई निम्ता

जर्मनीमा नेपालबाट राष्ट्रप्रमुखको तहमा ३८ वर्षपछि भ्रमण भएको छ । सन् १९८६ मा राजा वीरेन्द्र शाहले जर्मनीको राजकीय भ्रमण गरेका थिए । त्यसपछि राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको पहिलो भ्रमण भएको हो । ‘राष्ट्रपतिको भ्रमण सफल रह्यो । जर्मनीमा ३८ वर्षपछि र स्विट्जरल्यान्डमा पहिलोपटक राष्ट्रप्रमुखको स्तरमा वार्ता भएको छ । यसले सम्बन्धको नयाँ अध्याय सुरु भएको छ,’ राष्ट्रपतिका परराष्ट्र सल्लाहकार चालिसेले भने । राष्ट्रपति पौडेलले जर्मनीका समकक्षीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको परराष्ट्र सल्लाहकार चालिसेले बताए । ‘तपाईंलाई म नेपाल भ्रमणको निमन्त्रणा दिन्छु । नेपालमा शीघ्र स्वागतका लागि प्रतिक्षारत छु’ राष्ट्रपति पौडेलले भने । जर्मन राष्ट्रपति वाल्टरले आफ्नो समयतालिका हेरेर कूटनीतिक च्यानलमार्फत् यसबारे तय गर्ने बताएका छन् ।

बुधवार फर्कदै

स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी हुन गएका राष्ट्रपति पौडेल त्यसपछि जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् । पौडेले जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार राति बर्लिन पुगेका थिए । राष्ट्रपति पौडेल बुधवार स्वदेश फर्किने कार्यक्रम छ ।

भ्रमणले सम्बन्धको नयाँ अध्याय सुरु भएको छ : डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार

राष्ट्रपतिज्यूले युक्रेनमा रहेका ६ जना नेपालीलाई रिहाइका लागि पहल गरिदिन जर्मनीका समकक्षीसँग आग्रह गर्नुभयो । जर्मनीका राष्ट्रपतिज्यूले यो विषयलाई आफूले सकारात्मक रूपमा हेर्ने जवाफ दिनुभएको छ ।

नेपालको कृषिमा क्रान्तिको आवश्यकता छ । कृषिमा अधिकांश जनता निर्भर छन् । कृषिमा प्रविधि, ज्ञान र आर्थिक स्रोतको आवश्यकता छ । हामीले यसमा जर्मनीबाट सहयोगको अपेक्षा गरेका छौँ भन्ने विषय राष्ट्रपतिले राख्नुभयो ।

राष्ट्रपतिको भ्रमण सफल रह्यो । जर्मनीमा ३८ वर्षपछि र स्विट्जरल्यान्डमा पहिलोपटक राष्ट्रप्रमुखको स्तरमा वार्ता भएको छ । यसले सम्बन्धको नयाँ अध्याय सुरु भएको छ ।

Published on: 18 June 2024 | Naya Patrika

Link

Back to list

;