s

युक्रेन युद्ध सुरु भएयता ह्वात्तै बढे रुस जाने नेपाली, रुसी सेनामा भर्ति भएको हुन सक्ने

रुस–युक्रेन युद्ध सुरु भएपछि रुस जाने नेपालीहरूको सङ्ख्या ह्वात्तै बढेको खुल्न आएको छ। पछिल्ला महिनाहरूमा नेपाली रुस जाने क्रम बढेको र तीमध्ये अधिकांस सेनामा भर्ती भएको हुनसक्ने अनुमान सरकारी निकायहरूको छ।

रुस–युक्रेन युद्ध २०७८ फागुन १२ गतेबाट सुरु भएको हो। यता रुसमा जाने नेपालीहरूको सङ्ख्या निकै बढेको देखिएको छ। अझ गत वैशाखदेखि कात्तिकसम्म मात्र ५३३ जना नेपाली रुस गएका छन् जबकि २०७५/७६ देखि ०७९/८० सम्म ७४४ जना मात्र रुस गएका थिए।

उल्लेखित दुई तथ्याङ्क हेर्दा पनि युद्ध सुरु भएपछि त्यहाँ जाने नेपालीको सङ्ख्या बढेको देखिन्छ।

ती नेपाली अध्ययन, रोजगार र भिजिट भिसामा त्यहाँ गएका छन्। ‘पछिल्ला महिनाका तथ्याङ्क हेर्ने हो भने अध्ययन र अन्य रोजगार भनेर गए पनि उनीहरू युद्धमा सेनाका भूमिका गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ’, मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्णप्रसाद पङ्गेनीले नागरिकन्यूजसँग भने, ‘युक्रेन युद्ध सुरु भए लगत्तै रुस जानेको सङ्ख्या बढ्यो।’

उनले अहिले रुसी सेनामा २ सयदेखि ५ सयको सङ्ख्यामा नेपाली रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको जानकारी दिए।

पङ्गेनीले युद्ध सुरु भएपछि त्यहाँ जाने नेपालीहरूको सङ्ख्या बढेको जानकारी दिए। उनका अनुसार नेपाली युवाहरूलाई रुसी सेनाको फ्रन्ट डेस्कमा राख्ने गरेको जानकारी पनि दिए।

‘नेपालीहरू विश्वमा वीर गोर्खाली भनेर चिनिएका छन्। त्यसैले नेपालीहरूलाई युद्धको फ्रन्टलाइनमा राखेका हुन्छन्’, पङ्गेनीले भने। उनका अनुसार नेपालीलाई हतियार चलाउने सामान्य तालिम दिएर युद्धमा खटाइने गरेको छ। ‘त्यही तालिमपछि सिधै युद्धमा पठाइन्छ’, पङ्गेनीले भने।

उनका अनुसार युद्धमा सामेल हुने नेपालीहरूलाई अलि समय काम गरेपछि रुसी नागरिकता पनि पाइन्छ भनेर लोभ देखाइने गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म रुसी सेनामा भर्ना भएकामध्ये ६ जना मारिएका छन्। सरकारले मृत्यु भएका ६ जनाकै शव फिर्ता पठाइदिन र क्षतिपुर्ति दिन रुस सरकारलाई आग्रह गरेको छ।

Published on: 12 December 2023 | Nagarik

Link

Back to list

;