s

युक्रेनी सेनाको नियन्त्रणमा रहेका लामिछानेको उद्धारका लागि हारगुहार

गोरखा — युक्रेनी सेनाको नियन्त्रणमा रहेको भनिएका आरुघाट गाउँपालिका–१० खत्रीस्वााराका ईश्वर लामिछानेलाई घर फर्काइदिन परिवारका सदस्यले हारगुहार गरेका छन् । लामिछाने गत साउन १० गते ‘भिजिट भिसा’मा रुस पुगेका थिए । रुसी सेनामा भर्ना भएको दुई महिनासम्म परिवारसँग कुराकानी गर्दै आएका लामिछाने त्यसयताका ५ महिना सम्पर्कविहीन बनेपछि परिवारका सदस्य चिन्तित थिए ।

लामिछाने युक्रेनी सेनाको नियन्त्रणमा रहेको जानकारी पाएपछि भने उनलाई स्वदेश फिर्ताका लागि परिवारजनले पहल थालेका हुन् ।

रुस–युक्रेन युद्ध चर्किरहेको समयमा विदेशिएका ३७ वर्षीय लामिछाने सेनामा भर्ना भए । त्यसयताको दुई महिना उनी नियमित परिवारको सम्पर्कमा थिए । ‘भिजिट भिसामा दाई रुस जानुभएको हो, सेनामा सेलेक्ट हुनुभएछ,’ उनको बहिनी नाता पर्ने सुमित्राले भनिन्,‘भर्ती भएपछि पनि नियमित फोन हुन्थ्यो, १ वर्षमा परिवार पनि ल्याउन पाइन्छ भन्नुहुन्थ्यो ।’

लामिछाने गत असोज २२ गतेसम्म पनि परिवारको नियमति सम्पर्कमा थिए । ‘सुविधा पनि राम्रो छ, १०/१५ दिनमा बस्ने ठाउँ सर्दै जानुपर्छ भनेर भन्नुहुन्थ्यो,’ सुमित्राले भनिन्,‘२२ गते अर्को ठाउँ सर्नुपर्छ मोबाइल चलाउन दिँदैनन् भनेपछि कुराकानी हुन छाड्यो ।’

युद्धग्रस्त क्षेत्रमा पुगेका ईश्वर सम्पर्कविहीन बनेपछि परिवारका सदस्य विक्षिप्त थिए । ‘हामीले माया मारिसकेका थियौ, गाउँतिर पनि सम्पर्कमा छैन भनेपछि के के हल्ला चल्न थाल्यो,’ उनले भनिन्,‘फागुन १२ गते एउटा टिभीमा युक्रेनी पत्रकारले लिएको अन्तवार्तासहितको दाईको भिडियो देखियो, उहाँले नाम र ठेगाना खुलाउनुभएन, आफ्नो मान्छे चिनिहाल्यौं ।’

युक्रेनको नियन्त्रमा दाई ईश्वर रहेको खुलेपछि नेपाल फिर्ताका लागि परिवारका सदस्यले पहल थालेका हुन् । भिडियो अन्तवार्तामा ईश्वरले भक्कानिदै नेपाल फिर्ता पठाइदिन आग्रह गरेका छन् । ‘आफ्नो मान्छे देखियो, कसरी नेपाल फिर्ता ल्याउने मेले मेसो भएन,’ सुमित्राले भनिन्,‘आज(सोमबार) सिडिओलाई भेटेर नेपाल फिर्तामा सहयोग गरिदिन आग्रह गरेका छौं ।’

फागुन १२ गतेको एक टेलिभिजनमा प्रशारण भएको भिडियोमा ईश्वरलाई युद्धग्रस्त क्षेत्रमा युक्रेनी सेनाको नियन्त्रणमा विक्षिप्त अवस्थामा रहेको जानकारी पाएपछि परिवारका सदस्य नेपाल फिर्ताको पहल गर्दै भौतारिएका छन् । सोमबार आरुघाट–१० का अध्यक्ष सन्जित श्रेष्ठसहितका आफन्तले जिल्ला प्रशासन कार्यालय पुगेर ईश्वरको जीवन रक्षाको माग गर्दै सकुशल स्वदेश फिर्ताको पहल गरिदिन ज्ञापन बुझाएका छन् ।

१८ वर्ष नेपाली सेनामा कार्यरत ईश्वर राजीनामा दिएर रुस पुगेका थिए । वैदेशिक रोजागारीमा रहेको कान्छो छोरा ईश्वर ५ महिनादेखि सम्पर्कविहीन भएदेखि ७१ वर्षीय बाबु नरबहादुर र ६९ वर्षीया आमा कमलादेवी चिन्तामा छन् । ‘सम्पर्कविहीन भएपछि पनि आज फोन गर्ला, भोली गर्ला भनेर आशैआशमा बसियो,’ ईश्वरका दाजु सन्दीप लामिछानेले भने,‘पाँच महिनापछि बल्ल अवस्था थाहा भयो, अब काठमाडौं पुगेर परराष्ट्र मन्त्रालयमा पनि उद्धारका लागि भन्छौं, कहाँ भन्नुपर्छ, जानुपर्छ बुझ्दै पनि छौं ।’

ईश्वरका आमाबुवा, एक दाजु, बहिनी, श्रीमती र एक छोरी छन् । वडा कार्यालयले पनि परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा ईश्वरलाई स्वदेश फिर्ताका लागि पहल गर्न आग्रह गरेको छ । भिडियो मार्फत ईश्वर युक्रेनको नियन्त्रणमा रहेको थाहा पाए पनि कुन ठाउँमा कस्तो अवस्थामा छन् भन्ने बारे भने परिवारका सदस्य बेखबर छन् ।

Published on : 27 February 2024 | Kantipur

Link

Back to list

;