s

उद्योगमा दक्ष कामदार अभाव

बुटवल, फागुन ४ गते । रुपन्देहीका उद्योगी व्यवसायीले दक्ष जनशक्ति नहुँदा अझै पनि भारत र तेस्रो मुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताएका छन् ।

रुपन्देहीमा रहेका ठुला उद्योगमा अहिले पनि ठुलो सङ्ख्यामा भारतीय कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताउँदै उद्योगीले नेपाली विभिन्न तालिम तथा प्राविधिक क्षेत्रमा दक्ष नहुँदा समस्या परिरहेको बताएका हुन् ।

नेपालमा थुप्रै तालिमप्रदायक संस्थाले प्राविधिक क्षेत्रका तालिम सञ्चालन गरे पनि ती तालिमबाट उत्पादित जनशक्तिले उद्योगी व्यवसायीको आवश्यकता पूरा गर्न नसकेको उद्योगीको भनाइ छ ।

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बुधबार सङ्घ सचिवालय बुटवलमा एसियाली विकास बैङ्कका प्रतिनिधिसँग गरेको अन्तर्क्रियात्मक छलफलमा उद्योगी व्यवसायीले तालिमप्रदायक संस्थाले बजारको सर्वेक्षण नगरी तालिम सञ्चालन गर्ने गरेका कारण तालिम प्राप्त जनशक्तिले रोजगारी नपाएको र उद्योगी व्यवसायीले पनि सम्बन्धित विषयमा दक्ष जनशक्ति पाउन नसकेको गुनासो गरेका हुन् ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले सिटिइभिटीलगायतका तालिमप्रदायक संस्थाले उद्योगी व्यवसायीसँग परामर्श गरेर तालिम सञ्चालन गर्ने हो भने उद्योगी व्यवसायीका आवश्यकता पनि पूरा हुने र उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्न सकिने बताउनुभयो ।

उहाँका अनुसार उद्योग, कृषि, पर्यटनलगायतका क्षेत्रमा दक्ष जनशक्तिको उच्च माग छ तर उत्पादित जनशक्ति सम्बन्धित काममा फिट नहुँदा समस्या जस्ताको तस्तै छ ।

बुटवल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीवनप्रसाद ओझाले तालिम प्राप्त जनशक्तिले रोजगारी नपाउने र उद्योगी व्यवसायीले पनि आवश्यकता अनुसारको जनशक्ति नपाउँदा तालिममा गरेको लगानी बालुवामा पानीसरह भएको बताउनुभयो ।

कार्यक्रममा एसियाली विकास बैङ्कका कन्सल्टेन्ट डा. प्रमोदबहादुर श्रेष्ठले शिक्षालाई सिप र सिपलाई रोजगारीसँग जोड्नुपर्ने बताउँदै औद्योगिक विकासको वातावरण सरकारले तयार गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारले साँच्चै औद्योगिक विकास चाहेको हो भने निजी क्षेत्रलाई कस्तो जनशक्ति चाहिएको हो, परामर्श लिएर आवश्यकताका आधारमा तालिम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

बुटवल टेक्निकल इन्स्टिच्युटका कार्यकारी प्रमुख अभिमन्यु भीमार्जुन पन्थीले भने बिटिआईले विगत ६० वर्षदेखि अन दी जब तालिम कार्यक्रम सञ्चालन गरिरहेको र तालिमपश्चात् उनीहरू स्वरोजगार र रोजगारीमा जोडिएको दाबी गर्नुभयो । उहाँले बिटिआईले सिप, रोजगार र उद्योगलाई आपसमा जोड्ने काम गरेको बताउँदै कतिपय कुरामा नीतिगत रूपमै समाधान खोज्नुपर्ने बताउनुभयो ।

Published on: 16 February 2024 | Gorkhapatra

Link

Back to list

;