s

उद्योगी र चिया मजदुरबीच सहमति : न्यूनतम ज्याला पाउने, आन्दोलन फिर्ता

बिर्तामोड — ऐन लागू भएको ५ वर्षपछि चिया उद्योगीहरु चिया बगानमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न सहमत भएका छन् । श्रमिकको निरन्तरको दबाब र पटक पटकको आन्दोलनका कारण उद्योगीहरु श्रमिकलाई कोषमा सूचीकृत गर्न सहमत भएका हुन् ।

चिया क्षेत्रमा क्रियाशील तीन वटा ट्रेड युनियन र चिया उद्योगीका प्रतिनिधिबीच आइतबार झापाको भद्रपुरमा भएको वार्तामा उक्त सहमति जुटेको हो । उनीहरुबीच सरकारले तोकेको चिया श्रमिकको दैनिक ज्याला लागू गर्ने र चिया बगान तथा कारखानामा कार्यरतमध्ये पहिलो चरणमा नियमित श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने लिखित सहमति जुटेको नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले जानकारी दिए ।

उद्योगीहरुले श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने लिखित सहमति जनाएपछि श्रमिकहरुले गत असार ३२ गतेदेखि जारी राखेको आन्दोलन स्थगित गरेका छन् । श्रमिकले भदौ १७ गतेसम्म सहमति नजुटे भदौ १८ देखि चिया बगान तथा कारखानामा कामकाज बन्द गर्ने अल्टिमेटम दिएका थिए । श्रमिकले ४ बुँदे माग राखी असार ३२ देखि आन्दोलन सुरु गरेका थिए । श्रमिकको दैनिक ज्याला वृद्धि हुनुपर्ने, श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नुपर्ने, पत्ती डबली वृद्धि गर्नुपर्ने र रोजगार सम्झौता पछि मात्र काममा लगाउनुपर्ने श्रमिकको माग थियो ।

चार वटामध्ये मुख्य दुई वटा माग सम्बोधन भएकाले तत्कालको लागि आन्दोलन स्थगित गरेको तामाङले बताए । उनकाअनुसार सरकारले गत साउन ३२ गते जारी गरेको चिया श्रमिकको दैनिक ज्याला ५ सय रुपैयाँ दिन समेत उद्योगीहरुले लिखित सहमति जनाएका छन् । वृद्धि भएको ज्याला साउन १ देखिकै प्रदान गर्न उद्योगीहरु सहमत भएको उनको भनाइ छ ।

चिया श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने कार्य पनि तत्काल सुरु गर्ने चिया उद्योगीहरुको संस्था नेपाल चिया उत्पादक संघका केन्द्रीय अध्यक्ष सुरेश मित्तलले जानकारी दिए । ‘श्रमिकका मागमा हामी दुवै पक्ष बसेर वार्ता गर्‍यौं र सहमतिमा पुगेका छौं’ अध्यक्ष मित्तलले भने,‘बाँकी दुइटा मागका विषयमा पनि यही भदौभित्रै पुनः वार्तामा बसेर टुंग्याउने सहमति जुटेको छ ।’

सरकारले २०७५ मंसिरदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन लागू गरेको थियो । उक्त ऐन कार्यान्वयनको माग गर्दै चिया श्रमिकले २०७६ मा ४४ दिनसम्म चिया बगान तथा कारखानामा हड्ताल गरेका थिए । तर, उद्योगीहरु ऐन लागू गर्न सहमत भएका थिएनन् । सामाजिक सुरक्षा कोषमा सूचीकृत गरिए पहिलो चरणमा कम्तिमा ५ हजार श्रमिक लाभान्वित हुने तामाङको दाबी छ ।

सामाजिक सुरक्षा योजनामा श्रमिकको तर्फबाट आधारभूत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत गरी जम्मा ३१ प्रतिशत रकम जम्मा गरिन्छ । कोषमा सूचीकृत भएका श्रमिकले औषधि उपचार तथा स्वास्थ्य, मातृत्व, दुर्घटना, अशक्तता, वृद्धावस्था, आश्रित परिवार सुरक्षा योजना प्राप्त गर्नेछन् । वृद्धावस्था सुरक्षा योजना अन्तर्गत २८ दशमलव ३३ प्रतिशत र बाँकी रकम अन्य सुविधाको लागि छुट्याइएको छ ।

नेपालमा चिया खेती सुरु भएको १६० वर्ष पुगेको छ । सन् १९२० मा इलामबाट तथा निजी क्षेत्रबाट ६३ वर्षअघि विसं. २०१६ देखि झापाको बुधकरण चिया कमानबाट चिया खेती सुरु भएको इतिहास छ । चिया बगानमा २०५१ देखि श्रमिकलाई स्थायी गर्ने चलन सुरु भएको हो । श्रमिकलाई स्थायी गरिएतापनि उद्योगीहरुले श्रमिकको सञ्चयकोष र उपदान बापतको करोडौं रकम आफैसँग राखेको आरोप खेप्दै आएका छन् । सामाजिक सुरक्षा कोषमा सूचीकृत गरिए श्रमिकको सञ्चयकोष र उपदानसहितका सेवा सुविधाको रकम मासिक रुपमा बैंक खातामा जम्मा हुनेमा श्रमिकहरु आशावादी भएका छन् ।

Published on: 4 September 2023 | Kantipur

Link

Back to list

;