s

उद्योगहरूमा विदेशीको साटो नेपाली कामदार राख्न निर्देशन

काठमाडौँ — संसदीय समितिले नेपाली उद्योगहरूमा विदेशी मजदुरहरू राखिएको विषयमा श्रम विभागलाई अनुगमन गरेर लागत संकलन गर्न निर्देशन दिएको छ । सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रम सम्बन्धी समस्याका विषयमा श्रम मन्त्री शेरबहादुर कुँवरसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।

समिति सभापति विमलप्रसाद श्रीवास्तवले नेपाली उद्योगमा विदेशी कामदारको लागत संकलन गरी विदेशी कामदारको ठाउँमा स्वदेशी कामदार राख्न निर्देशन दिए । समितिले कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए, गरेका कार्य प्रगतिको विवरण पठाउन मन्त्रालयलाई निर्देशन दिएको छ । उनले नेपाली उद्योगमा स्वदेशी कामदार राख्ने विषयमा आपसी सहयोगका लागि समिति सदस्यहरुलाई पनि सहभागी गराउन निर्देशन दिए ।

उनले भने ‘सम्बन्धित मन्त्रालयहरु उद्योग, भौतिक पूर्वाधार तथा अन्य निकायहरुसँग समन्वय गरी श्रम मन्त्रालयको नेतृत्वमा उद्योग मजदुरको समस्या समाधानका विषयमा पहल गर्ने, विभिन्न कारखानाहरुमा विदेशी कामदारहरु रहेको विषयमा श्रम विभाग मार्फत सोको अनुगमन गरी लागत संकलन गरेर विदेशी कामदारको स्थानमा स्वदेशी कामदार राख्ने सम्बन्धमा आपसी सहयोग आवश्यक परेमा समितिका सदस्यहरुलाई समेत सहभागी गराउन निर्देशन दिन्छ ।’

Published on: 2 August 2022 | Kantipur

Link

Back to list

;