s

उद्योग स्थापना भएपछि गाउँमै रोजगारी

व्यास नगरपालिका–१ स्थित भादगाउँमा शुभकामना युपिभिसी उद्योग स्थापना गरिएको छ । उद्योग खुलेसँगै त्यस क्षेत्रका स्थानीयले गाउँमै रोजगारीसमेत पाएका छन् । युपिभिसीको झ्याल, ढोका, पाटेसन डिजाइन र डेकुरेसन गर्ने उद्योग स्थापना भएपछि स्थानीयलाई सहज भएको सञ्चालक दिलबहादुर दरैले बताए । उनका अनुसार एक रोपनी जग्गामा उद्योग स्थापना गरिएको हो । उद्योगमा ३० लाखको प्रोफाइल छ भने २७ लाख रुपैयाँ खर्चिएर मेसिन खरिद गरिएको छ । उद्योग स्थापना गर्न भवनसहित २० करोड ५० लाख रुपैयाँ खर्च भएको उनले बताए ।

भादगाउँमा उद्योग स्थापना भएपछि त्यस क्षेत्रका १३ जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् । तनहुँमै युपिभिसीको उद्योग स्थापना गरिएको यो पहिलो हो । दमौली, खैरनीटार, डुम्रे, सत्रसय, आँबुखैरेनीलगायतका स्थानीयले युपिभिसीको झ्याल, ढोकाखरिद गर्न पोखरा, चितवन र काठमाडौं जानुपर्ने बाध्यता थियो अब उद्योग स्थापना भएपछि त्यो अवस्था हटेको छ । घरमै बसी उद्योगमा रोजगारी गर्ने अवसर पनि पाएकोमा खुसी लागेको स्थानीय एकबहादुर मगरले बताए ।

उनका अनुसार कतिपय मानिस रोजगारी नपाएर विदेश जानुपर्ने बाध्यता छ । तर, आफ्नो गाउँमा नै केही गरौँ भन्ने उद्देश्यले खोलिएको उद्योगमा स्थानीयले समेत रोजगारी पाएका छन् । त्यसैले, वैदेशिक रोजगारीमा जाने युवापिँढीले पनि स्वदेशमै आई कलकारखाना, उद्योग तथा कृषि व्यवसाय गरेदेखि आयस्तरमा वृद्धि हुने उनले बताए । उद्योग स्थापनापछि यस क्षेत्रका स्थानीयलाई घर निर्माण गर्दा अन्यत्रबाट सामग्री झिकाउनुपर्ने बाध्यता हटेको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले बताए ।

Published on: 16 December 2019 | Naya Patrika

Link

Back to list

;