s

उद्योग धराशायी हुँदा रोजगारी गुम्दै

देशकै ठूलो र पुरानो वीरगञ्ज–पथलैया औद्योेगिक करिडोरमा सञ्चालित उद्योगहरूको अवस्था दयनीय बनेको छ।

उत्पादित सामग्रीहरूको खपत दिनानुदिन घट्दै जाँदा दैनिक खर्च धान्नसमेत मुस्किल भएको उद्योगीहरूले बताएका छन्।

वीरगञ्ज–पथलैया औद्योेगिक करिडोरमा साना ठूला गरेर करिब १८ सयको हाराहारीमा उद्योगहरू रहेका छन्।

बजारमा उपभोग घटे पछि उद्योगको उत्पादन घट्दा उद्योग सञ्चालनको खर्च धान्न पनि कठिन भएको वैद्यले बताए।

सामान्य अवस्थामा शालिमार उद्योगबाट दैनिक २० हजार बोरा सिमेन्ट उत्पादन हुने गरेकोमा अहिले मुस्किलले पाँच हजार बोरा मात्रै उत्पादन गरिएको वैद्यले बताए। उत्पादन घटे पनि कामदारलाई तलब खुवाउन पनि कठिन भएको छ।

उद्योगले २५ प्रतिशत मात्रै सिमेन्ट उत्पादन गर्दा मजदुरहरूलाई तलब र बैंकको किस्ता दिनसमेत सोच्नुपर्ने अवस्था आएको वैद्यले बताए।

करिडोरमा सञ्चालित उद्योगहरूबाट प्रत्यक्ष र अप्रत्यक्ष हजारौंले रोजगारी पाए पनि उद्योगहरू दयनीय अवस्थामा पुग्दा यस क्षेत्रमा बेरोजगारीसमेत बढ्दै गएको छ।

सिमरामै रहेको साःख स्टिल इन्डष्ट्रिज प्रालि बन्द हुँदा उद्योगमा कार्यरत सयौं मजदुर बेरोजगार बनेका छन्। उद्योग अगाडि खोलिएका नास्ता र चिया पसलहरू समेत बन्द हुने अवस्थामा पुगेका छन्।

साःख स्टिल सञ्चालन भैरहेको बेलामा काम गरेबापत प्रत्येक महिना १५ हजार रूपैयाँ रकम बुझ्ने गरे पनि अहिले उद्योग बन्द हुँदा घरमै बस्नु परेको रामबाबु प्रसादले बताए।

साःख स्टिल उद्योग सञ्चालन भइरहेको बेलामा दैनिक पाँच किलो दुधको चियासमेत बिक्री हुने गरे पनि अहिले आधा लिटर दुधको चिया बेच्नै मुस्किल भएको श्रेष्ठले बताए। करिडोरमा सञ्चालित कृष्ण, अरनिको, स्टार, रिलायन्स, कलश, आरएमसी लगायतका सिमेन्ट तथा हामा आइरन, साखः स्टिल, भगवती रोलिङ, अशोक, जगदम्बालगायतका डण्डी उद्योगहरू मध्ये कोही पूर्ण रूपले बन्द भएका छन् भने कोही क्षमताको २५ प्रतिशत मात्रै सञ्चालनमा छन्।

बजारमा उच्च गुणस्तरयुक्त भन्ने पहिचान बनाएको साखः, हिमाल, हामा, अशोक जस्ता ठूला उद्योग अहिले बन्दझैं भएका छन्। सरकारले पुँजीगत खर्च बढाउन नसकेकै कारणले गर्दा उद्योगहरूको दयनीय अवस्था आएको उद्योगी वैद्यले आरोप लगाए।

ठूला उद्योगले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ क्लिंकर नेपालमै उत्पादन गरे पनि सानाले कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने वा ठूला उद्योगसँग खरिद गर्नुपर्ने भएको हुँदा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेर करिडोरका सिमेन्ट उद्योग बन्द हुने क्रम बढेको छ।

करिडोरका प्रायः सबै सिमेन्ट र छड उद्योग रुग्ण बन्न थालेपछि बैंकको अर्बौं लगानी जोखिममा परेको छ। बैंकलाई देखाउनकै लागि मात्रै भए पनि न्यूनतम क्षमतामा उद्योग चलाएको जस्तो गरिरहेको अवस्था छ।

Published on: 4 March 2024 | Nagarik

Link

Back to list

;