s

उद्यममा कस्सिए युवा

भरत जर्घा मगर

स्वदेशमै सीपमूलक काम गरी आम्दानी बढाउन सकिन्छ भन्ने सन्देश दिन सिरहाका ५१ युवा आयआर्जनमा सक्रिय भएका छन् । सीप सिकेर आयआर्जनमा उनीहरू जुटेका हुन् । ५१ युवामध्ये १२ ले जनरल इलेक्ट्रिकल हाउस वायरिङ तालिम, १५ ले मोबाइल मर्मत र १० जना एडभान्स मेटरसाइकल मर्मतसम्बन्धी तीनमहिने तालिम लहानस्थित घरेलु तथा साना उद्योग कार्यालयबाट तालिम प्राप्त गरेका छन् । 

उनीहरूले सीपलाई स्वरोजगारसँगै आयआर्जनका लागि १० दिने उद्यमशीलता विकास तालिमसमेत लिएका छन् । तीनमहिने एडभान्स मोटरसाइकल मर्मत तालिम लिएका सिरहा कुथनामाका रामविनेश यादव मिर्चैयामा मोटरसाइकल रिपेयरिङ सेन्टर खोलेका छन् । ‘विदेशकै जति यही मासिक ३० हजार कमाउन थालेको छु,’ कहिल्यै विदेश नजाने अठोट गरी अभियानमा संलग्न उनले भने ‘सीप भए भौंतारिनु पर्दैन, म विदेश जान राहदानी बनाएका युवाहरूलाई मेरो काम हेर्न आग्रह गर्छु ।’ 

सिरहा कचनारी ५ गरगामाका १७ वर्षीय रन्जन यादव तालिम पश्चात हाउस वायरिङ काम सुरु गर्ने तयारीमा छन् । भन्छन्, ‘जनरल इलेक्ट्रिकल पसल खोलेर हाउस वायरिङ काम सुरु गर्छु ।’ उनी वैदेशिक रोजगारीमा जाने युवालाई पहिला सीप सिकेर स्वदेशमै काम गर्न सुझाउँछन् ।

रामविनेश र रञ्जन मात्रै होइन तीनमहिने तालिम लिएका सिरहाका ५१ युवा दक्ष सीप हासिलसँगै त्यसको सदुपयोगमा लागिपरेका छन् । प्रमुख उद्योग अधिकृत राजेन्द्र लालकर्णले स्वदेशमै सीपमूलक तालिम लिई उद्यमशीलतातर्फ अग्रसर गराउनका लागि युवा शक्तिलाई तालिम दिई सहयोग गरिएको जानकारी दिए । तालिमप्राप्त उनीहरूलाई हौसला बढाउन १ लाख रुपैयाँ बराबरको सामान कार्यालयले उपलब्ध गराई सहयोग गरेको उनले जानकारी दिए ।

तालिम लिई सीप सिकेका १८ वर्षदेखि ३८ वर्षसम्मका युवा छन् । १८ देखि ३८ वर्षसम्मका युवाहरू बढी वैदेशिक रोजगारीमा गएको तथ्यांक सार्वजनिक भएपछि घरेलु तथा साना उद्योग कार्यालय ती उमेर समूहका युवाहरूलाई लक्षित गरी तालिम दिँदै आएको छ ।

वैदेशिक रोजगारमा जाने युवा बढ्दो
आर्थिक विपन्नताले गाँजेको परिवार र स्वदेशमै रोजगारीको अवसर नपाएका युवाहरूको कमाउने माध्यम वैदेशिक रोजगार बनेको छ । सिरहामा वैदेशिक रोजगारमा जानेक्रम बढदो छ । आप्रवासन सूचना तथा परामर्श केन्द्रको तथ्यांकअनुसार सिरहाबाट वैदेशिक रोजगारीमा आर्थिक वर्ष २०७२/०७३ को यो अवधिसम्म १७ हजार ९३ जना गएका छन् । तीमध्ये वैदेशिक रोजगारीका क्रममा पाँच जनाको मृत्यु भइसकेको छ । ४ जनाको शव प्राप्त भए पनि १ जनाको शव आउन बाँकी रहेको केन्द्रका संयोजक कवीर चौधरीले जानकारी दिए । 

त्यसैगरी वैदेशिक रोजगारीका क्रममा सिरहाका १३ जनाको मृत्यु भएको छ । स्वदेशमा रोजगारीका पर्याप्त अवसर नहुँदा युवाहरूको लागि वैदेशिक रोजगारी महत्त्वपूर्ण विकल्प बने पनि सीप नसिकी जाने प्रवृत्तिका कारण जोखिम बढेको विज्ञहरूको भनाइ छ । 

नेपालको हाल ६ वटा देशसँग मात्र श्रम सम्झौता भएको छ । विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा ४ लाख १८ हजार ७ सय १३ युवायुवती श्रम स्वीकृति लिई रोजगारीका लागि बिदेसिएका छन् । त्यसैगरी हालसम्म ४३ लाख ७८ हजार ६ सय ५६ युवा बिदेसिएका छन् । वैदेशिक रोजगारीबाट ६० प्रतिशत घरधुरीले विप्रेषण प्राप्त गर्छन् 

Published on: 13 March 2017 | Kantipur

Back to list

;