s

उद्योगलाई कामदारकै पिरलो

प्रशान्त माली

काठमाडौँ — काभ्रेका २४ वर्षीय शान्ति न्यासुर तामाङ पाटन औद्योगिक क्षेत्रमा काम गर्थिन् । लकडाउनपछि गाउँ फर्किइन् । ६ जनाको परिवार पाल्नुपर्ने जिम्मेवारी उनमा छ । लकडाउनले ठप्प भएका उद्योग आंशिक रूपमा सञ्चालनमा आए । लकडाउन लम्बिएसँगै पैसाको समस्या भएपछि उनी काममा फर्कने सोचले उपत्यका फिरिन् । तर पाटन सुन्धाराका स्थानीयले कोठामा बस्न दिएनन् । साहूले पनि उद्योगमा स्थान अभाव भएपछि आवासका रूपमा व्यवस्था गर्न सकेनन् । 

ललितपुर भट्टेडाँडाका ३८ वर्षीय विजय लामा पनि पाटन औद्योगिक क्षेत्रमा काम गर्थे । पाटन सिन्चाहिटीमा कोठामा बस्ने उनी लकडाउनपछि चापागाउँ सरे । उनमा पनि आठ जनाको परिवार पाल्नुपर्ने जिम्मेवारी छ । उनी काम गर्ने टेक्सटाइल कारखाना आंशिक रूपमा सञ्चालनमा आएको छ ।

तर लकडाउनले गर्दा उनी जान सकेका छैनन् । भन्छन्, ‘मसँग निजी सवारीसाधन पनि छैन । भए पनि आवतजावत गर्न पासको व्यवस्था छैन । सार्वजनिक यातायात पनि ठप्प छ । हिँडेर जान सक्ने अवस्था छैन ।’ यस्तै अवस्था लम्बिइरहे मागेर खानुपर्ने अवस्था आउने उनले बताए । ‘अहिले साथीभाइ एवं आफन्तसँग सापटी लिएर गुजारा चलाइरहेको छु,’ उनले भने ।

भट्टेडाँडाकै २८ वर्षीय असली न्यासुर पनि काम गर्ने सोचले पाटन सिन्चाहिटीस्थित कोठामा पुगिन् । तर त्यहाँ घरबेटीले राख्न मानेनन् । कारखानामा पनि पर्याप्त ठाउँ नभएपछि उनी पनि गाउँ फर्कन बाध्य भइन् । ‘दैनिक घरबाट कारखानासम्म आवतजावत पनि गर्न सक्ने अवस्था छैन,’ उनले भनिन् ।

यी केही प्रतिनिधि पात्र मात्र हुन् । बालाजु, भक्तपुर, हेटौंडा, पोखरा, बुटवल, नेपालगन्ज, धरान, वीरेन्द्रनगरलगायत औद्योगिक क्षेत्रमा पनि यस्तो समस्यामा परेका थुप्रै मजदुर छन् । वैशाख २४ को मन्त्रिपरिषद् बैठकले अत्यावश्यक उद्योगका श्रमिकलाई उद्योग प्रतिष्ठानले नै लकडाउन अवधिभर छुट्टै स्थानमा राख्ने बन्दोबस्त मिलाई उद्योग सञ्चालन गर्ने निर्णय गर्‍यो । प्रतिष्ठानभित्र पर्याप्त स्थान नभए स्थानीय निकायको समन्वयमा सार्वजनिक, सामुदायिक भवन वा सरकारी तथा निजी विद्यालय वा खाली स्थानमा सुरक्षित आवासको व्यवस्था गरेर पनि मजदुरलाई व्यस्थापन गर्न सक्ने मन्त्रिपरिषद्को निर्णय छ ।

तर मुलुकका औद्योगिक क्षेत्रको हकमा सीमित व्यवसायीले बाहेक प्राय: उद्योगले स्थान अभाव र कारखानामा धेरै श्रमिक राख्न स्वास्थ्य तथा अन्य समस्याका कारण देखाउँदै निर्णय कार्यान्वयन गर्न नसकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतले बताए । उनका अनुसार उद्योग सञ्चालन गर्न मजदुरहरूलाई कारखानामा आवासको व्यवस्था गर्न नसक्नु, बजारमा उत्पादित सामानको माग नभएको, कच्चापदार्थ अभावलगायत समस्या छन् । ‘सरकारले केही दिनअघि उपत्यकाका तीनै जिल्लाभित्र लकडाउन अवधिभर तोकिएका उद्योग प्रतिष्ठान सञ्चालन तथा सवारी पाससम्बन्धी मापदण्ड, ०७७ लागू गर्‍यो,’ उनले भने, ‘मापदण्डमा उद्योगी र उनका सवारीसाधनलाई मात्र पास दिने व्यवस्था छ । मजदुरलाई छैन ।’

बजार खुला नभएसम्म पूर्ण रूपमा उद्योग सञ्चालन गर्न नसकिने पाटन औद्योगिक क्षेत्रका व्यवसायीहरूको छातासंगठन कल्याण तथा सुरक्षा समितिका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बताए । ‘उद्योग सञ्चालन मात्र भएर भएन, खरिद गर्ने पनि चाहियो,’ उनले भने, ‘दिन बिराएर जावलाखेल, कुपन्डोल, लगनखेल गरेर आलोपालो पसल सञ्चालनमा ल्याउन सकिन्छ ।’

Published on: 8 June 2020 | Kantipur

Link

Back to list

;