s

उद्योगीको प्रतिबद्धतामा चिया श्रमिक असन्तुष्ट

भीम चापागाईं

निजी क्षेत्रका उद्योगले न्यूनतम् ज्याला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपनि असन्तुष्ट चिया श्रमिकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन्। सरकारी उद्योगले ज्याला कार्यान्वयनमा चासो नदेखाएको र निजी उद्योगले पनि ‘देखाउनलाई’ मात्रै न्यूनतम् ज्याला दिने प्रतिबद्धता जनाएको श्रमिकको गुनासो छ।

सरकारले तोकेको श्रमिकको न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन गरेको जवाफ दिन मात्रै उद्योगीले हचुवाका भरमा न्यूनतम् ज्याला कार्यान्वयनको ‘झारा टारेको’ चिया श्रमिकको भनाइ छ। ‘वैशाखदेखि न्यूनतम् ज्याला कार्यान्वयन गर्ने तर साउनसम्म आफ्ना माग पूरा नभए उद्योग बन्द गर्ने भन्नु तत्काललाई श्रमिकको माग छल्ने मेलो मात्रै हो,’ श्रमिक नेता विष्णु भट्टराईले भने, ‘लामो समयदेखि आन्दोलनमा रहेका श्रमिकलाई केही दिन फकाएर काम लगाउने अनि आन्दोलन कमजोर बनाउने प्रपञ्च मात्रै हो।’
 
सूर्याेदय नगरपालिकाका ५२ चिया उद्योग आबद्ध सूर्याेदय टी एसोसिएसनले गत सोमबार विज्ञप्ति निकालेर श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो। तर, दुई पटकसम्म श्रमिकसँग वार्तासमेत गरिसकेको एसोसिएसनले वैशाखदेखि आउँदो असारसम्मको मात्रै न्यूनतम् ज्याला कार्यान्वयन गर्नु आफूहरूका लागि घातक भएको नेता भट्टराईले बताए। ‘सरकारले गत साउन १ देखि नै लागू हुनेगरी न्यूनतम् ज्याला तोकेको हो, हाम्रो माग श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयनको पनि हो,’ उनले भने, ‘तर, उद्योगी साउनदेखि अहिलेसम्मको ज्यालाका विषयमा मौन छन्।’
 
आन्दोलनरत श्रमिकले बुधबार पनि इलाम र झापाका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्। झापाको बिर्तामोडमा उनीहरूले थाल ठटाउँदै विरोध ¥याली आयोजना गरे। बिएन्डसी अस्पताल चोकबाट बिर्तामोड बजार परिक्रममा गरेको श्रमिकको ¥याली इलाका प्रहरी कार्यालयअघि कोणसभामा परिणत भएको थियो। कोणसभालाई टे«ड युनियन प्रदेश १ का अध्यक्ष नारायण कार्की, जिफन्ट प्रदेश उपाध्यक्ष सन्तकुमार राई, श्रमिक नेताहरू भूपाल सापकोटा, दीपक तामाङ, सहीकुमार राई र सीता सापकोटाले सम्बोधन गरे। उनीहरूले सरकारले तोकेको न्यूनतम् ज्याला, श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए।
 
उद्योगीको विज्ञप्तिमा श्रमिकको न्यूनतम् ज्याला कार्यान्वयन गर्ने र आफूहरूले राखेका माग पूरा नभए आउँदो साउनदेखि उद्योग नै बन्द गरेर आन्दोलनमा उत्रिने उल्लेख छ। श्रमिक नेताहरूले उद्योगीको विज्ञप्तिबारे आफूहरूलाई आधिकारिक जानकारी नभएको पनि बताए। ‘उद्योगीले गरेको प्रतिबद्धता हामीले आम सञ्चारमाध्यममा मात्रै थाहा पाएका हौं,’ भट्टराईले भने, ‘तर, त्यो विज्ञप्तिमा पनि साउनदेखि अहिलेसम्मको न्यूनतम् ज्यालाबारे बोलिएको छैन रे।’ उनले आन्दोलन थालेयता दुई पटकसम्म उद्योगीसँग वार्ता हुँदा उद्योगीहरू साउनदेखि अहिलेसम्मको ज्याला कार्यान्वयनमा राजी नभएको बताए। ‘हामीसँग दुई पटकसम्म वार्ता हुँदा नमिलेको विषय नै गत साउनदेखि अहिलेसम्मको ज्यालाको हो,’
 
उनले भने, ‘बाहिर जे भनेपनि उद्योगी वैशाखदेखि असारसम्मको मात्रै न्यूनतम् ज्याला दिएर उम्किन खोजिरहेका छन्।’ गत असोजमा चिया श्रमिकले अहिलेकै मागमा आन्दोलन चर्काएपछि श्रमिकको तर्फबाट उमेश रेग्मी र उद्योगीको तर्फबाट एसोसिएसन अध्यक्ष पुनम राईको संयोजकत्वमा वार्ता टोली गठन भएका थिए। गत चैत १७ देखि आफूले काम गरिरहेका चिया प्रतिष्ठान बन्द गरेर श्रमिक आन्दोलनमा उत्रिएपछि एसोसिएसन र श्रमिक प्रतिनिधिबीच दुई चरणका वार्ता पनि भए। तर, दुवै वार्तामा कुनै सहमति हुन सकेन। ‘तेस्रो पटक उद्योगीले हामीसँग सल्लाह नै नगरी एकलौटी रूपमा न्यूनतम् ज्याला कार्यान्वयनको ललिपप ल्याएका छन्,’ श्रमिक वार्ता टोलीका संयोजक रेग्मीले भने, ‘उद्योगीको एकलौटी र अपूरो निर्णयप्रति हाम्रो सहमति छैन।’
 
रेग्मीले चिया श्रमिक आबद्ध नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले एसोसिएसनको भनाइप्रति खेद प्रकट गरिसकेको बताए। ‘श्रमिकलाई जबर्जस्ती काममा लगाउन तीन महिनाको न्यूनतम् ज्याला दिन खोजिएको छ,’ रेग्मीले भने, ‘उद्योगले न कसैलाई नियुक्तिपत्र दिएका छन्, न कसैलाई श्रम ऐनअनुसारको सेवा–सुविधा ग्यारेन्टी गरेका छन्।’ उनले न्यूनतम् ज्याला दिन खोज्ने उद्योगीलाई समेत एसोसिएसनले अड्काएको आरोप लगाए।
 
श्रमिक आन्दोलनका कारण इलाम र झापाका सात सरकारीसहित केही निजी उद्योग–बगान बन्द छन्। केही निजी उद्योगले श्रमिकसँग न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयनको सहमतिसमेत गरेर उद्योग–बगान चालू राखेका छन्। श्रमिक अगुवाका अनुसार आइतबारे र श्रीअन्तुको इलाम टी प्रोड्युसर्स प्रालि, मालुम टी र हिमालय टी प्रोड्युसर्सले चाहिँ श्रमिकलाई न्यूनतम् ज्याला, १० प्रतिशत सञ्चयकोषलगायत सेवा–सुविधा दिन श्रमिकसँग सहमति गरेका छन्।
 
सूर्योदय नगरपालिका इलाम जिल्लामा सबैभन्दा बढी चिया उद्योग–बगान रहेको नगर हो। यहाँका ६३ चिया उद्योगमध्ये ५२ वटा एसोसिएसनमा आबद्ध छन्। सूर्याेदय नगरमै रहेको सरकारी स्वामित्वको कन्याम चियाबगान, इलाम नगरपालिकास्थित नेपालकै पुरानो इलाम चिया बगान, माई नगरपालिकास्थित चिलिमकोट र सोक्तिम चिया बगान श्रमिकले ठप्प बनाएका छन्। यी बगानमा तीन सातादेखि हरियो चिया टिपाइ नहुँदा वर्षभरकै सबैभन्दा गुणस्तरीय र महँगो मानिने फस्ट फ्लस (सिजनको पहिलो मुना) खेर गइरहेको छ।  सरकारी स्वामित्वका सातै बगान सरकारले २०५७ मा त्रिवेणी सांघाई समूहलाई ६५ प्रतिशत हिस्सा दिएर लिजमा लगाएको छ।
 
एसोसिएसनका सचिव गोपाल कट्टेलले एसोसिएसनमा आबद्ध उद्योगले गत साउनयताकै न्यूनतम् ज्याला श्रमिकलाई दिने बताए। ‘साउनदेखि एउटै उद्योगमा निरन्तर काम गरिरहेका श्रमिकले त्यतिबेलादेखिकै ज्याला पाउने हो,’ उनले नागरिकसँग भने, ‘तर, हामीले राखेका माग सरकारले असारमसान्तसम्ममा पूरा नगरे साउनदेखि चाहिँ हामी आन्दोलनमा उत्रिने छौं।’ उद्योगीले सरकारसँग विभिन्न २० बुँदे माग यसअघि नै राखेका थिए।
 
आन्दोलनका थप कार्यक्रम तय
 
चिया श्रमिक आबद्ध केन्द्रीय समितिहरूको संयुक्त बैठकले जारी आन्दोलनलाई निरन्तरता दिन संघर्षका थप कार्यक्रम तय गरेका छन्। नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघसहित विभिन्न ट्रेड युनियनको बिर्तामोडमा बुधबार भएको बैठकले आन्दोलनको तेस्रो चरणका कार्यक्रम तय गरेको हो।
 
यसअन्तर्गत वैशाख ७ गते श्रमिक संघ–संगठनले आफ्नो बगान–उद्योग क्षेत्रका प्रतिनिधिसभामा सहभागी सांसदसँग अन्तरक्रिया गर्ने, ८ गते इलाम र झापाका जिल्ला समन्वय समिति घेराउ, ९ गते प्रदेश १ का मुख्यमन्त्रीकहाँ डेलिगेसन जाने र १० गते दुवै जिल्लाका प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम तय भएको श्रमिक नेता दीपक तामाङले बताए। चैत १२ गते चिया श्रमिकले १७ गतेपछि आयोजना गर्ने विरोधका कार्यक्रम सार्वजनिक गरेका थिए। त्यसपछि चैत २५ मा दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरेका थिए। ‘हामीले सरकारले गरेका निर्णय कार्यान्वयनको मात्रै माग गरेका हौं, हाम्रो माग नयाँ होइन,’ उनले भने, ‘उद्योगीले १० वर्षसम्म सरकारी निर्णयमा अटेर गर्दा सरकार किन मूकदर्शक बनिरहेको छ भन्ने चाहिँ अनौठो लाग्छ।’
 
सरकारले गत साउन १ देखि लागू हुनेगरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम् दैनिक ज्याला तीन सय ८५ रुपैयाँ तोकेको छ। कारखानामा काम गर्ने श्रमिकका लागि दैनिक ४२ रुपैयाँ थपिएको छ। तर, इलामका सरकारी बगानमा काम गर्ने श्रमिकले दैनिक दुई सय ६५ र झापाका श्रमिकले दुई सय ७८ रुपैयाँ मात्रै ज्याला पाउँदैछन्। निजी क्षेत्रका श्रमिकले चाहिँ दैनिक तीन सय आठ रुपैयाँसम्म ज्याला पाएका छन्।
 
Published on: 18 April 2019 | Nagarik

Back to list

;