s

उद्धारको माग गर्दै कतारबाट डाँको छोड्दै युवती

किशोर बुढाथोकी

कतारमा रहेकी मोरङ सुन्दरहरैंचा नगरपालिका-१० की तीर्था विकसँग बुधबार बिहान श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले टेलिफोनमा कुराकानी गरे।

वैदेशिक रोजगारीका लागि गत जेठ १४ गते कतार पुगेकी उनले सञ्जेललाई त्यहाँ आफूले भोगेका सबै पीडा सुनाइन्। पीडा सुनाइरहेका बेला टेलिफोनमै डाँको छाडेर रुन थालेकी तीर्थाले जति सक्दो चाँडो उद्धार गर्न आग्रह गरिन्।

आधा घण्टासम्म रुँदै सुनाएका कुराले सञ्जेल पनि निक्कै भावुक बने। विदेशमा रहेकी नेपाली युवतीका पीडाले मन अमिलो बनेको बताउँदै उनले भने, ‘तत्काल उद्धारका लागि पहल सुरु हुन्छ। विदेश पठाउने व्यक्ति वा म्यानपावर जो भए पनि छानबिन गरेर कारबाही अघि बढाइने छ।’तीर्थाले आफू घाजी अब्बु ट्रान्सपोर्ट एण्ड सर्भिस नामक कम्पनीमा बन्धक जस्तै भएको बताएकी छन्। ‘अस्पताल र स्कुल सरसफाईको काममा भनेर यहाँ पठाइएको हो,’ टेलिफोनमा उनले भनिन्, ‘अझैसम्म भने अनुसारको काम र सेवा सुविधा दिइएको छैन।’उनले कम्पनीका माान्छेले अनैतिक काम गर्न दबाब दिने गरेको र त्यो नगरे कुट्ने गरेको पीडा सुनाइन्। युवतीले भाषागत समस्याका कारण पनि आफू समस्यामा परेको बताएकी छन्।

नेपाली चेलीको समस्यालाई पहिलो प्राथमिकतामा राखिने जानकारी दिंदै सञ्जेलले त्यसपछि अन्य कारबाही अघि बढ्ने बताए। उनले युवती पठाउने म्यानपावरको लापरबाही देखिएकोसमेत बताए। विदेशमा छोरीले दुःख पाएको भनेर रुँदै श्रम कार्यालयमा आइपुगेकी तीर्थाकी आमा सीता विकले मंगलबार सुनसरीको इटहरीमा रहेको विराट इन्टरनेशन ट्रेडिङ सेन्टरका सञ्चालक गोपाल पोखरेलविरुद्ध उजुरी समेत दिएकी छन्। महिलाका क्षेत्रमा काम गर्ने संस्था ओरेक नेपालमार्फत् श्रममा पुगेकी उनले पोखरेलमार्फत् नै आफ्नी छोरी कतार गएको बताइन्। ‘मैले कतारमा छोरीलाई यातना दिइरहेको कुरा पटक-पटक सुनाउँदा पनि नेपाल झिकाउन सहयोग गरेनन्,’ उनले भनिन्, ‘छोरीको उद्धार र दोषीलाई कारबाही गर्न माग गर्दछु।’

ओरेकका विराटनगर प्रमुख दीपक सेनचुरीले नेपालकै बाटो प्रयोग गरेर युवतीलाई कतार पठाएको पाइएको बताए।पोखरेलले आफ्नै सेन्टरमा तालिम दिए पनि आफूले तीर्थालाई कतार नपठाएको दाबी गरे। ‘मेरो म्यानपावर नभएका कारण कतार पठाउने सम्पर्क व्यक्तिको भूमिका मात्रै मैले खेलेको हुँ,’ उनले भने, ‘उनी काठमाडौंको सिन्धुली ओभरसिज नामक म्यानपावरबाट कतार गएकी हुन्।’

पोखरेलले युवतीसँग म्यानपावरले एक लाख १० हजार रुपैयाँ लिएर कतार पठाएको बताए। श्रम अधिकृत सञ्जेलले भने कतार जानका लागि १० हजार रुपैयाँ मात्रै लिन पाइने र अरु रकम अवैध रुपमा लिइएको बताए।

Published on: 11 July 2019 | Annapurna Post

Back to list

;