s

उद्धारका नाममा अचाक्ली

शिव उप्रेती

 

गोरखा : गोरखा नगरपालिका-६ का स्वप्नील मास्के बुधबार राति १ बजे अस्ट्रेलियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए। त्यसबापत हवाई भाडा १ लाख ९७ हजार रुपैयाँ तिर्नु परेको उनले सुनाए। जबकि विगतमा ९० हजार रुपैयाँमा अस्ट्रेलिया आउजाउ हुन्थ्यो।

नेपाल फर्किन पनि लगातार दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्र उनले अनुमति पाएका थिए। विभिन्न स्वास्थ्य जाँच र फारम भराउने नाममा २ सय ५८ जनालाई विमानस्थलमै तीन घण्टा अलमल्याएको उनले सुनाए।

‘प्लेनभित्र पनि कोचेर ल्यायो। तर, ओर्लिएपछि फोटो खिचाउन सामाजिक दूरी कायम गराए’, उनले भने, ‘अनि, एउटै बसमा कोचाकोच गरेर यात्रुलाई होल्डिङ सेन्टरमा लगे।’

महँगो भाडा असुले पनि व्यवस्थापन पक्षले १४ घण्टाको उडानमा चाउचाउ र तातोपानी मात्र खान दिएको उनको गुनासो छ। होल्डिङ सेन्टरमा पनि एक बोतल पानीबाहेक केही खान नदिएको उनले सुनाए। ‘हामी त युवा हौं, केही भएन। बूढापाका धेरै जना थिए, उहाँहरूलाई धेरै सकस भयो’, उनले भने।

उनका अनुसार होल्डिङ सेन्टरमा दुई घण्टा राखेपछि गण्डकी प्रदेश आउने २१ जनाका लागि एउटा बस आयो। ‘हामीले त सोचेका थियौं, सेनाले व्यवस्थापन जिम्मा लिएको हुँदा सेनाकै बस आउँछ। तर, ट्राभल एजेन्सीको बस आयो। अनि, आँबुखैरेनीमा झरेपछि २-२ हजार रुपैयाँ माग्यो, दियौं’, उनले भने।

काठमाडौंबाट गोरखासम्म ३ सय ५० रुपैयाँ भाडा लाग्नेमा २ हजार तिर्नु परेकामा उनले आपत्ति जनाए। ‘यो त विपत्तिका बेला लुट्ने काम भयो’, उनले भने, ‘प्लेनमा पनि सधैंभन्दा दोब्बर भाडा तिर्नुपर्ने, बसमा पनि सात गुना बढी भाडा तिर्नुपर्ने किन ? सरकारले जनतालाई दुःख परेको बेला राहत दिने कि लुट्ने ? ’

बहराइनबाट हालै फर्किएका गोरखा-६ का गौरव मास्केले पनि सधंैभन्दा दोब्बर भाडा तिर्नुपर्‍यो। ‘सधंै २४-२५ हजारभन्दा बढी तिर्नु पर्दैनथ्यो। तर, यो विपद्का बेला सरकारले राहतस्वरूप ल्याइदिनुपर्ने हो नि’, उनका बुवा भगवानबाबु मास्केले भने, ‘तर, दोब्बर बढी ४७ हजार ५ सय रुपैयाँ भाडा तिर्नु पर्‍यो। अनि, काठमाडौंबाट गोरखा आउन पनि २ हजार रुपैयाँ तिर्नुपर्‍यो। यो त लुटाहा प्रवृत्ति भएन र ? ’

उनले नेपाली सेनाले गरेको व्यवस्थापन चित्तबुझ्दो नपाइएको गुनासो गरे। ‘नेपाली सेनाले व्यवस्थापन गर्ने भनेपछि हामीले नेपाली सेनामार्फत नै फारम भरेका हौं’, उनले भने, ‘तर, प्लेन र बसमा यति धेरै भाडा कसरी तिर्नुपर्‍यो ? दुःखमा परेकाहरूसँग यसरी लुट्न पाइँदैन।’

Published on: 28 June 2020 | Annapurna Post

Link

Back to list

;