s

‘उद्धार’ उडानको भाडा अलिकति घट्यो, अलपत्र कामदारको तनाव घटेन

रवीन्द्र घिमिरे

३० जेठ, काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले विदेशबाट नेपाली ल्याउन तोकेको भाडादर थोरै घटाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आंशिक संशोधनपछि अब विभिन्न प्रमुख श्रम गन्तव्य मुलुकको भाडा ५ हजारदेखि साढे ९ हजारसम्म घटेको छ ।

यसअघि नियमित उडानभन्दा चार गुणा बढी लिने गरी तय भएको भाडादर अब करिब तीन गुणाको तहमा ओर्लिएको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्का हाल तय भएको भाडादर आफूहरुले प्रस्ताव गरेकै हाराहारीमा रहेको बताउँछिन् ।

‘हामीले प्रस्ताव गरेकै रकमको सेरोफेरोमा भाडादर स्वीकृत भएको छ,’ उनले भनिन् । सरकारले प्रमुख श्रम गन्तव्यहरुको उडानमा ४५ देखि ८० डलरसम्म मूल्य घटाएको छ ।

तर, अझै पनि समस्यामा परेका नागरिकलाई रहात दिनेखालको भाडादर तोकिएको छैन । सरकारले यसअघि भाडादर तोक्दा गैरजिम्मेवार भएर अन्यायपूर्ण तरिकाले चर्को भाडा तोकिएको यो निर्णयबाट स्पष्ट हुन पुगेको छ । यसअघि नेपाल एयरलाइन्सले प्रस्ताव गरेको भन्दा महँगो भाडा किन तय गरिएको थियो भन्ने मन्त्रालयले खुलाएको छैन ।

तर, अझै पनि न्यायपूर्ण भाडादर कामय भएको छैन । ओमानको नेपाली दूतावासले सलाम एयरमार्फत ३४ हजार रुपैयाँमा उद्धार गर्ने तयारी गरिररँदा ६२ हजार रहेको ओमानको भाडा घटाएर सरकारले करिब साढे ५५ हजार तोकेको छ ।

साउदीबाट फर्किनुपर्ने नेपालीले ६५ हजार देखि साढे ८३ हजारसम्म भाडा तिर्नुपर्ने भएको छ । दमाम, रियाद र जेद्दाको लागि फरक-फरक भाडादर तय गरिएको छ ।

दुबईको भाडा करिब साढे ४५ हजार तय भएको छ भने मलेसियाको साढे ५६ हजार । बहराइन र कतारबाट फर्किने अलपत्र कामदारले साढे ५९ हजार रुपैयाँ र ओमानबाट फर्किनेले साढे ५५ हजार रुपैयाँ भुक्तानी गरेपछि मात्रै टिकट पाउनेछन् । 

खाडी देश जोर्डलबाट फर्किन साढे ९३ हजार र कुवेतबाट फर्किन ६२ हजार खर्चिनुपर्ने छ । साइप्रसबाट फर्किने टिको मूल्य १ लाख तय भएको छ । कोरियाबाट आउन १ लाख ६ हजार रुपैयाँ तिरेर टिकट किन्नुुपर्ने छ ।

सरकारले जापान, बैंकक, हङकङ, बंगलादेश र भारतको भाडादर यथावत राखेको छ । अष्ट्रेलियबाट फर्किन १ लाख ९५ हजार भाडादर तोकिएको छ ।

भाडादर घटेपछि पनि विशेष गरी विदेशमा अलपत्र कामदारहरुले यसको विरोध गरिरहेकै छन् । 

बहराइनबाट शवि केही भन्छन्, ‘यो त अति नै लाजमर्दो कुरा भयो, हामी समस्यामा परेर ३/४ महिनादेखि खाने पैसा नभएर दूतावासमा नाम दर्ता गराएर राहत लिइरहेका छौं, अनि सरकार कसरी यत्रो महंगो टिकट खरिद गर्ने ?’

ओमानबाट सस्तो भाडा नेपालीहरु र्फकँदै

नेपालको श्रम गन्तव्य मुलुक ओमानबाट जून १५ र २१ तारेखमा प्रतिव्यक्ति करिब २९९ डलर तिरेर नेपालीहरु स्वदेश र्फकदैछन् । तर, सरकारले भने ओमनको भाडा ४६० डलर तोकेको छ । यसअघि सरकारले ५१० डलर भाडा तोकेको थियो । तर, सर्वत्र विरोध भएपछि ५० डलर घटाइएको छ ।

 

ओमान दूताबासका कर्मचारीले दिएको जानकारी अनुसार त्यहाँबाट प्रतिव्यक्ति करिब ३४ हजार नेपाली रुपैयाँमा काठमाडौं ल्याउन सलाम एयर तयार भइसकेको छ । तर, आफ्नै देशको सरकारले तोकेको भाडा चाहिँ करिब साढे ५५ हजार पुग्छ ।

Published on: 12 June 2020 | Onlinekhabar

Link

Back to list

;