s

उद्दार गर्नुपर्ने सम्भावित विवरण खोजी

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा रोजगारी गुमाएर फर्काउनुपर्ने सम्भावितको विवरण तयार गर्न खाडी देशका दूतावाससँग आग्रह गरेको छ। श्रममन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीमा रहेका कामदार फिर्ताका लागि विवरण तयार गर्न दूतावासलाई आग्रह गरेका हुन्।

मन्त्री यादवले कति फर्किन चाहन्छन्, कति सम्पर्कमा आउँछन् सबैको डाटा संकलन गर्न ढिला गर्न नहुने बताए। अनलाइन फारम भरेर फर्कन चाहनेको विवरण राख्न आग्रह गरिएको छ। फर्किन चाहने नेपाली कामदारलाई प्राथमिकताका साथ फर्काउने उनको भनाइ छ। कोरोना भाइरस महाव्याधि (कोभिड १९) बाट रोजगारी गुमाएका सबैलाई नेपालमा उचित व्यवस्थापन गर्ने योजना बनेको उनले बताए। 

वैदेशिक रोजगारीबाट फर्केकालाई कृषि, निर्माण, हाइड्रोपावरलगायत क्षेत्रमा काम दिनेगरी योजना बनेको उनले बताए। 

लकडाउन अवधिभर कोही पनि भोकै नपरुन् भनेर सम्बन्धित देशका सरकारसँग आग्रह गरिएको उनले बताए। मन्त्री यादवले दूतावास नै सक्रिय भएर अनलाइनमार्फत विवरण संकलन गर्नुपर्नेमा जोड दिए। नेपाली फर्कदा कोरोना जाँच गराएर मात्र फर्काउने उनले बताए। कानु संशोधन गरेर भए पनि कामदारको हितका लागि कोषको रकम परिचालन गर्न सरकार पछि नपर्ने बताए। 

कुवेतस्थित नेपाली दूतावासले भने फर्कन चाहनेको विवरण संकलन गर्न थालिसकेको छ। कुवेतका लागि नेपालका राजदूत दुर्गा भण्डारीले फर्कन चाहने कामदारको सूचना संकलन भइरहेको बताए। कुवेतले कागजात बिना बसेका कामदार सात हजार रहेको र ती मध्ये तीन हजार बढी फर्किन चाहेको बताए। अवैधानिक रूपमा बसेका कामदारलाई कुवेतले जरिवाना छुटलगायत सुविधा दिएपछि कामदार उत्साहित भएको बताए। 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठका अनुसार कोरोना महामारी पछि ६० हजारभन्दा बढी कामदार सम्पर्कमा आएर गुनासो राखेका छन्। उनीहरूको समस्या समाधानका लागि रोजगारदातासँग सम्पर्क गरी प्रयास भइरहेको भन्दै उनले फर्कन चाहने कामदारका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको रकम परिचालन गरिनुपर्ने बताए।

Published on: 29 April 2020 | Annapurna Post 

Link

Back to list

;