s

उद्धार गरिएकी बालिका बीचबाटै अपहरित

लालप्रसाद शर्मा
 
बिहे गर्ने भन्दै धनगढी पुर्‍याइएकी १५ वर्षीया किशोरीको उद्धार गरेलगत्तै बीच बाटोबाटै अपहरण भएको छ ।
 
पोखरा २२ अमलाचौरकी ती किशोरीलाई सोही वडाका कस्टारीका २२ वर्षीय सुनील रानाभाटले जेठ १७ मा भगाएका थिए । लामो समयको खोजीपछि किशोरीका परिवारजनले कैलालीको धनगढीमा फेला परेका उनीहरूलाई प्रहरी र जिल्ला बालकल्याण समितिले नियन्त्रणमा लिएको थियो । प्रहरीले सुनिललाई भनेको बेला उपस्थित गराउने सर्तमा आफन्तको जिम्मा लगाएको र किशोरीलाई थ्री एन्जल्स नामक संस्थाको जिम्मा लगाएर पोखरा पठाएको थियो । 
 
मंगलबार थ्री एन्जल्सका दुई कर्मचारीले किशोरीलाई रात्रिबसमा पोखरा ल्याउने क्रममा बाँकेको चपरगौडीबाट अज्ञात समुहले अपहरण गरेको जिल्ला बालकल्याण समिति कास्कीले जनाएको छ । ‘खाना खान बस रोकेका बेला एक समुहले थ्रीएन्जल्सका कर्मचारी वीरबहादुर विकलाई लछारपछार गरी जबरजस्ती खोसेर लगेछन्,’ बालअधिकार अधिकृत बद्रीप्रसाद वाग्लेले भने, ‘केटा पक्षकाले खोसेर लगेको आशंका छ । उनको खोजी भइरहेको छ । पीडित परिवारबाट जाहेरी आएपछि आवश्यक कानुनी प्रक्रियाका लागि पहल गर्नेछौं ।’ राति ११ बजे किशोरीलाई उक्त समुहले लगेको थियो ।
 
किशोरी आफन्तकामा बसेर लेखनाथको एक विद्यालयमा १० कक्षामा अध्ययनरत थिइन् । जेठ १८ देखि छात्राबासमा बस्ने योजना रहेकामा अघिल्लै दिन उनलाई भगाइएको थियो । ‘बल्लबल्ल भेटेर ल्याउने क्रममा फेरि अपहरण गरियो,’ किशोरीका बाबुले कान्तिपुरसँग भने, ‘अब पीडकविरुद्ध कानुनी प्रक्रियामा जान्छौं ।’ जबरजस्ती करणी, यौन दुराचार, मानव बेखबिखन तथा ओसारपसार र अपहरण मुद्दामा प्रहरीमा जाहेरी दिने तयारी भइरहेको उनले बताए । 
 
अधिवक्ता सरलाकुमारी पाण्डेले कानुनअनुसार १८ वर्षमुनिका बालिकालाई मनखुसीले बिहे गरे पनि जबरजस्ती करणी ठहर्छ । घटनाको प्रकृति हेर्दा जबरजस्ती करणी, मानव ओसारपसार र अपहरणमा समेत मुद्दा चलाउन सकिने उनले बताइन् । 
 
‘पोखराबाट बिहे गरेर किन धनगढी पुर्‍याइयो,’ उनले भनिन्, ‘उमेर नपुगेकालाई बिहे गरेको, अर्को ठाउँमा लगेको र फेरि खोसेर लगेकाले सबै मुद्दा एकैसाथ लगाउन सकिन्छ ।’
 
Published on: 16 June 2016 | Kantipur

Back to list

;