s

उद्धार गरिएका चेली दूतावास सम्पर्कमा

चन्द्रशेखर अधिकारी

चेलीहरू यहीँ बस्न चाहे पनि दूतावासले उनीहरूको सुरक्षा हेरेर मात्र छाड्नेछ : राजदूत

अफ्रिकी मुलुक केन्याबाट उद्धार गरिएका सात नेपाली महिला त्यहाँस्थित अवैतनिक दूतावासको सम्पर्कमा पुगेका छन् । भारतीय हाइकमिसनको आग्रहमा केन्याली प्रहरीले तीन भारतीय र सात नेपाली महिलालाई उद्धार गरेकामा उनीहरू अवैतनिक दूतावासको सम्पर्कमा पुगेका हुन् ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सात नेपाली महिलासहित तीन भारतीयलाई केन्यासम्म फैलिएको मानव तस्करको जालोबाट उद्धार गरिएको भनी ट्वीट गरेपछि यो विषय बाहिर आएको हो ।
 
केन्यास्थित नेपाली वाणिज्यदूत जिमी अस्कले उद्धार गरिएका सबै नेपाली महिला अवैतनिक दूतावासको सम्पर्कमा आएको दक्षिण अफ्रिकास्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन् । केन्यासमेत हेर्ने दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईले उद्धार भएका युवतीहरूसँग कन्सुलर सम्पर्कमा रहेको जानकारी दिए । राईले कान्तिपुरसँग टेलिफोनमा भने, ‘हामीले पनि उद्धारको प्रयास गरिरहेका छौं ।’ उनीहरूको फिर्ती प्रक्रिया अघि बढाइने पनि उनले बताए । दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले हरेक महिना सातभन्दा बढी नेपाली चेलीलाई उद्धार गर्दै आएको छ । तिनीहरूलाई एजेन्टबाट तथा पीडितकै परिवारबाट टिकट मगाएर स्वदेश फर्काइने गरिएको छ । यस्तै कतिपयलाई केही दिनसम्म दूतावासमा राखेर पनि सरकारी खर्चमा फर्काइने गरिएको छ ।
 
थोरै खर्च गरेर धेरै रकम कमाउने लोभमा नेपाली चेलीहरू केन्याको रेस्टुरेन्ट, डान्सबारमा बेचिने गरेका छन् । मानव तस्करी नियन्त्रण गर्न दूतावासले लामो समयदेखि प्रयास गरे पनि कारबाही हुन सकेको छैन ।
 
केन्या तथा अन्य अफ्रिकी मुलुकको कमजोर कानुन र त्यहाँको प्रहरी प्रशासनकै संरक्षणमा नेपालीसहित दक्षिण एसियाली मुलुकका चेली बेचिने गरेका छन् ।
 
‘धेरै नेपाली यहाँका रेस्टुरेन्टमा बेचिने गरेका छन् । यसको नियन्त्रण नेपालबाट हुन आवश्यक छ,’ राजदूत राईले भने, ‘पठाउने व्यक्ति तोकेर जानकारी गराएपछि कारबाही भए अफ्रिका मात्र होइन, अन्यत्र लैजाने जालो पनि तोडिनेछ । यसमा सबै अग्रसर हुनुपर्छ ।’
 
पैसा खर्च गरेर आएका र दलालको डरमा परेर पनि कतिपय नेपालीले फर्कन अस्वीकार गर्ने हुनाले यसमा अध्ययन र छानबिन हुने उनले बताए । केन्यामा यस्ता चेलीहरू सयौं रहेको राईले बताए । केन्या मात्र नभई अन्य अफ्रिकी मुलुकमा समेत यसरी नेपाली चेली पुर्‍याउने क्रम सुरु भएको छ । सबै दक्षिण एसियाली मुलुकहरू मिलेर यस्तो जालो तोड्न लाग्नुपर्ने राईको धारणा छ । नेपाली चेलीहरू त्यहीँ बस्न चाहेको भए पनि नेपाली दूतावासले उनीहरूको सुरक्षा, आम्दानी, कामको प्रकृति हेरेर मात्र छाड्ने उनले बताए । ‘अन्यथा घर फर्काउने प्रक्रिया अघि बढाउनेछौं,’ उनले भने । यसरी उद्धार गरिदिएकामा भारतीय पहललाई उनले धन्यवादसमेत दिए |
 
Published on: 5 January 2018 | Kantipur

Back to list

;