s

उद्धार गरिएका १२ चेली फेरि बेपत्ता

ज्ञानेन्द्र खड्का

भारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौ दिनदेखि बेपत्ता छन्। उनीहरूसँगै उद्धार गरिएका अन्य चारलाई यसअघि आश्रयस्थलबाटै बेपत्ता पारिएको थियो। दिल्लीस्थित जीबीरोडमा रहेको वेश्यालयबाट २०१७ नोभेम्बरमा उद्धार गरिएका आठ चेलीहरू मंसिर १५ गते रातिदेखि बेपत्ता भएका हुन्। कोठीबाट उद्धार गरिएका उनीहरूसहित नौ जना अचानक बेपत्ता भएपछि उनीहरूको खोजी हुनुपर्ने मागसहित दिल्लीमा प्रदर्शन भइरहेको छ।
 
उनीहरूलाई एक वर्षअघि त्यहाँबाट झिकेर आश्रममा राखिएको थियो। उद्धार गरिएका १४ मध्ये आठ जना दिल्लीकै गार्डेनस्थित संस्कार आश्रमबाट मंसिर १५ गते राति हराएका हुन्। उनीहरू १६ देखि २२ वर्षसम्मका छन्। जीबी रोडबाटै उद्धार गरिएका अन्य चार नेपाली चेली यसअघि नै बेपत्ता थिए। अन्य दुईलाई भने अभिभावको जिम्मा लगाई नेपाल फर्काइएको थियो। पछिल्लो पटक बेपत्ता भएकामध्ये तीन जना नुवाकोट र दुई जना काभ्रेका हुन्। अन्य युवतीहरू तेह्रथुम, मकवानपुर र सिन्धुपाल्चोकका हन्।
 
उद्धार गरिएका सहित नौ जना मंसिर १ मा आ श्रमबाट हराएपछि दिल्ली महिला आयोगले त्यहाँका उपमुख्यमन्त्री मनीष सिसौदियालाई घटनाको जानकारी गराएको थियो। युवती हराएको भन्दै सिसौदियाले दिल्लीस्थित उत्तरपूर्व जिल्लाका महिला बाल विकास विभाग अधिकारी र आश्रमका अध्यक्षलाई बर्खास्त गरिसकेका छन्।
 
घटना सम्बन्धमा दिल्ली पुलिसले उजुरी दर्ता गराई छानबिन थालेको छ। तर नौ दिन बितिसक्दा पनि उनीहरू फेला पर्न सकेका छैनन्। दिल्लीस्थित नेपाली पत्रकार इन्द्रकमल जैरूका अनुसार नेपाली दूतावासकै लापरबाहीका कारण चेलीहरू फेरि कोठीमा पुगेको हुन सक्ने अनुमान गरे। ‘चेलीहरूलाई नेपाल पठाउन पटक पटक दूतावासमा पत्राचार भएको, तर दूतावासले पूरै बेवास्ता गरेको पाइयो’, जैरूले अन्नपूर्णसँग भने, ‘दिल्लीस्थित कार्यवाहक राजदूत भरत रेग्मीलाई फोन गर्दा जानकारी नभएको जवाफ दिनुभयो। कर्मचारी फेरबदल भइरहँदा चासो दिन नसकिएको जवाफ आयो।’
 
दिल्ली पुलिस र महिला आयोगले संस्कार आश्रम सञ्चालक र वेश्यालय सञ्चालकको मिलेमतोमै युवती बेपत्ता बनाइएको अनुमान गरेका छन्। चेली बेपत्ता प्रकरणको छानबिन दिल्लीस्थित सीबीआईले पनि गरिररहेको छ। नौ दिन बित्दा पनि नभेटिएपछि त्यहाँस्थित नेपाली समुदायले दूतावास पुगेरै विरोध सुरु गरेका छन्।
 
दूतावासले घर फिर्तीको पहल नगर्दा चेलीहरूलाई फेरि कोठीमै पुर्याइएको भन्दै दिल्लीस्थित नेपाली समुदायले आक्रोश पोखेका छन्। प्रदर्शनको नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय नेपाली समाज भारतको दिल्ली राज्य समिति संयोजक वीरेन्द्र सिंहले घटनाबारे दूतावासको ध्यानाकर्षण गराउन ज्ञापनपत्रसमेत बुझाइने जानकारी दिए। यी युवती उद्दारमा एक वर्षदेखि दिल्लीमा सक्रिय शक्ति समूहका प्रतिनिधि प्रमोद पोखरेलले उनीहरूलाई तुरुन्त नेपाल पठाउन भने पनि फर्काउने प्रक्रिया नै अघि बढ्न नपाई युवती बेपत्ता भएका बताए।
 
‘दिल्लीस्थित हाम्रा प्रतिनिधिले त्यहाँको उद्धार टोलीसँग मिलेर काम गरेका थिए, अभिभावकसँग समन्वयसमेत गरेका थियौँ’, शक्ति समूहकी अध्यक्ष सुनीता दनुवारले भनिन्, ‘चेलीहरूलाई नेपाल पठाउने कुरा थियो, तर हराएको सुन्दा अचम्मित भएँ।’ उद्धारपछि चेलीहरूले घर पठाइदिन आग्रह गरे पनि नेपाली दूतावासले बेवास्ता गरेको र आश्रमले पठाउन नमानेको दिल्लीस्थित शक्ति समूहका प्रतिनिधि पोखरेलले जानकारी दिए।
 
उद्धारको लामो पहल
 
दिल्लीको कोठीमा रहेका नेपाली चेलीको उद्धार गरिएपछि बाल कल्याण समितिले २०१७ डिसेम्बरमै परिवारलाई भेट्न दिने पहल गर्न दिल्लीस्थित नेपाली दूतावासलाई पत्राचार गरेको थियो। नेपालको परराष्ट्र मन्त्रालयले युवतीहरूको ठेगाना खुलेको भन्दै गत साउन १७ गते नेपाली दूतावासलाई घर पठाउन पहल गर्न भनेको थियो।
 
दिल्ली महिला आयोगले क्राइम ब्रान्चको सहयोगमा दुई पटक छापा मारेर १६ जनाको उद्धार गरेको पत्रकार जैरूले जानकारी दिए। पत्रकार जैरूका अनुसार उनीहरूलाई उद्दार गरिएपछि आफन्तको जिम्मा लगाउन भन्दै तत्काल सरकारी महिला आश्रय गृह (नारी निकेतन र निर्मल छाया कम्प्लेक्स) मा राखिएको थियो। त्यसपछि उनीहरूलाई क्याटेलिस्ट नामक आश्रयमा सारियो। त्यहाँबाटै चार चेली बेपत्ता भएका थिए। उनीहरूको पनि अवस्था अहिलेसम्म अज्ञात छ।
 
आश्रय गृहमा बाँकी १० मध्ये २ नेपाली चेलीलाई अदालतमार्फत आफन्तलाई दिल्लीमै बोलाएर बुझाइयो। उनीहरू नेपाल फर्किसकेका छन्। बाँकी आठ किशोरीलाई गत ४ मे २०१८ मा संस्कार आश्रम पठाइएको थियो। त्यही आश्रमबाट १ डिसेम्बर राति उनीहरू पनि बेपत्ता भएका हुन्।
 
Published: 10 December 2018 | Annapurna Post

Back to list

;