s

उडान थोरै, फर्किनुपर्ने धेरै

काठमाडौं : वैदेशिक रोजगारीबाट तत्काल डेढलाख कामदार फर्काउनुपर्ने अवस्थामा छन्। तर, सरकारले उडान संख्या नबढाउँदा लाखौं कामदार गन्तव्य देशमै अलपत्र परेका छन्। सरकारले पछिल्लो सयम दैनिक ८ सय नेपालीलाई मात्रै फर्काइरहेको छ। यसरी फर्काउँदा डेढलाख कामदारलाई ६ महिनाभन्दा बढी सय लाग्ने देखिएको छ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले वैदेशिक रोजगारीमा अलपत्र कामदारलाई उद्घार गर्न सरकारले ढिलाइ गर्न नहुने बताउँछन्। नियमित उडान गरेर भए पनि अलपत्र कामदारलाई एक महिनाभित्र फर्काउनुपर्ने उनको भनाइ छ। भारतलगायत विदेशमा ३२ लाख कादार कार्यरत छन्। सबै कामदारलाई फिर्ता ल्याउँदा अहिलेको पाराले १२ वर्ष लाग्ने उनको भनाइ छ।

राष्ट्रिय मानव अधिकार आयोगको अध्ययनअनुसार करार अवधि सकिएर दैनिक वैदेशिक रोजगारीबाट १ हजार ५ सय फर्कन्छन्। फागुनदेखि अन्तर्राष्ट्रिय उडान रोकिँदा करार अवधि सकिएका धेरै कामदार अझै गन्तव्य मुलुकमै अलपत्र अवस्थामा छन्। त्यसो त दैनिक १५ सय फर्किने आधार मान्दा पनि चैतदेखि भदौसम्म नियमित करार अवधि सकिएका दुई लाख ७० हजार हुन्छन्। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले तत्काल फर्कनुपर्ने अवस्थामा डेढलाखभन्दा बढी नेपाली रहेको बताउँछन्।

‘कति कामदार फर्कने प्रष्ट छैन’, उनले भने, ‘सरकारले कति उडान भए यो महिनामा फर्कन्छन्, निक्र्योल गर्नुपर्छ।’ कति उडान भए यो महिनामा फर्कन्छन् भन्ने विषयमा सरकार स्पष्ट हुन आवश्यक भएको विज्ञहरू बताउँछन्। ‘फर्कने नम्बर बढी भए पनि उडान संख्या कम हुँदा कामदार फर्कन पाएका छैनन्’, पाठकले भने। एक चरणमा मान्छे आए नियमित हुने र भयावहको अवस्था अन्त्य हुने उनको ठम्याइ छ। ‘रोजगारी गुमाएर विदेशमा अलपत्र बस्नुपर्दा कामदारले दुःख पाए’, उनले भने, ‘आर्थिक अवस्था सुधार्न गएको ऋण खोजेर फर्कनुपरेको छ।’

त्यसो त कोरोना भाइरसबाट ६ लाखभन्दा बढी कामदार फर्कने विभिन्न अध्ययनबाट देखिएको छ। वैदेशिक रोजगार बोर्डले गत वैशाखमै गरेको अध्ययनअनुसार खाडी र मलेसियाबाट मात्रै चार लाख ७ हजार कामदार फर्कने आकलन गरिएको थियो। तर, सरकारले अहिलेसम्म ८७ हजार ४ सय २५ जनामात्रै स्वदेश फर्काएको बताएको छ। स्वदेश फर्कन नपाउँदा लाखौं युवा रोजगारविहीन भएर विदेशमै अलपत्र परेका छन्। कतिपय कामदारलाई खान बस्नसमेत समस्या परेको छ। कोरोना भाइरसका कारण रोजगारी गुमाएका, नियमित करार अवधि सकिएका तथा बिना कागजात बसेका पाँच लाखदेखि सात लाख कामदार फर्कन सक्ने विभिन्न अध्ययनबाट देखिए पनि सरकारले उडान संख्या बढाउन सकेको छैन।

साउदी अरबका लागि नेपाली राजदूत प्रो. डा. महेन्द्रसिंह राजपुतले उडान संख्या थोरै हुँदा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन नसकिएको बताउँछन्। ‘उडान संख्या बढाउन सके समस्यामा परेका सबै नेपाली फर्काउन सक्छौं’, उनले भने, ‘उडानमा बन्देज गर्दा श्रमिकको गाली हामीले खानुपरेको छ।’ साउदीमा ३ लाख ५० हजार कार्यरतमध्ये १ लाख २० हजार तत्काल स्वदेश फर्कन चाहन्छन्। तर, त्यहाँबाट दश हजार १४ सय साठी जना श्रमिक मात्रै स्वदेश फर्किन पाएका छन्।

‘सम्बन्धित निकायको समन्वय अभावमा अलपत्र कामदार स्वदेश फर्काउन सकिएको छैन’, उनले भने। उडान भर्ने र रोक्नेमा हाम्रो निर्णय चल्दैन तर गाली हामीले नै खानुपरेको छ’, उनले भने। सरकारले चार्टर्ड तथा नियमित उडान संख्यामा सीमा तोकेकाले फर्कन बाध्यतामा रहेका र फर्कन चाहने हजारौं, लाखौं नेपाली गन्तव्यस्थलमै भोकभोकै परेका छन्।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता समितिले अलपत्र कामदारलाई एक महिनाभित्रै फर्काउन निर्देशिन दिएको थियो। तर, सरकारले अझै उडान संख्या बढाएको छैन। केही समयअघि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले समितिको बैठकमा अलपत्र परेका सबै नेपालीलाई एक महिनाभित्र उद्घार गर्ने प्रतिबद्घता जनाएका थिए। गैरआवासीय नेपाली संघ कतारका उद्घार तथा राहत समिति संयोजक उत्तम गुरुङले नेपाल फर्खने पर्खाइमा बसेका धेरै नेपाली भए पनि उडानको संख्या न्यून हुँदा समस्या थपिँदै गएको बताए।

कतारमा ३ लाख ७२ हजार ८ सय ७२ नेपाली कार्यरत रहेकोमा १ लाख ४५ हजार स्वदेश फर्कनुपर्ने अवस्थामा छन्। कोभिड– १९ बाट रोजगारी गुमाएर फर्किनुपर्ने कामदारको संख्या ७० हजार र भिसाको म्याद सकिएको र आममाफी पाएर तत्काल फर्किनुपर्ने नेपाली ७५ हजार जना छन्। तर सरकारले त्यहाँबाट १२ हजार १ सय ४३ जनालाई मात्रै स्वदेश फर्काएको छ।

गैरआवासीय नेपाली संघ मलेसिया अध्यक्ष हरि भट्टराईले नेपाल फर्किन चाहनेको तुलनामा फर्किन पाउनेको संख्या अत्यन्त थोरै भएको भन्दे रोजगार गुमाएकालाई कसरी नेपाल फर्काउन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए। लकडाउन अघि टिकट काटेका २ हजार ५ सय जना अझै आउन नसकेको बताए। ‘आयस्रोत नभएका कारण अर्को टिकट खर्च गर्न सक्ने स्थिति छैन’, उनले भने, ‘कम्पनी बन्द भएका कारण बस्ने, खानेको व्यवस्था नभएपछि हामीले पैसा उठाएर बचाएका छौं’, उनले भने। रोजगारी गुमाएकालाई मलेसियामै पालेर समस्या समाधान नहुने भन्दै उडान बढाएर तत्काल फर्काउन पहल गर्नुपर्ने उनको भनाइ छ।

मलेसियामा ३ लाख २५ हजार कामदार कार्यरत रहेकोमा आममाफी पाएका ७ हजार र कोभिडबाट रोजगारी गुमाएका ३० हजार गरी ३७ हजार नेपाली स्वदेश फर्किन चाहन्छन्। तर, सरकारले १२ हजार ६ सय ६ जनालाई मात्रै फर्काएको छ। संघ मलेसियाका अध्यक्ष भट्टराईका अनुसार उडान नबढ्दा दिनप्रतिदिन स्वदेश फर्कनुपर्ने संख्या बढ्दो छ।

साउदी अरेबियाका लागि नेपाली राजदूत राजपुतका अनुसार भौगोलिक विकटताका कारण साउदीमा रहेका नेपालीलाई उद्घार गर्न समस्या भएको छ। ‘मनोवैज्ञानिक त्रास छ,’उनले भने,‘घर जान पाए हुन्थ्यो भन्ने धेरैको चाहना भए पनि उडानको बन्देजका कारण स्वदेश फर्काउन सकिएको छैन।’

Published on: 4 October 2020 | Annapurna Post

Link

Back to list

;