s

उडान सुरु हुनु अगाडि नै श्रम स्वीकृति : श्रममन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले अन्तर्राष्ट्रिय उडान पूर्ववत अवस्थामा आएपछि वैदेशिक रोजगारमा जाने श्रमिकलाई श्रमस्वीकृति प्रदान गर्ने बताएका छन् ।

‘अहिले श्रमस्वीकृति प्रदान गरेर पनि अर्थ छैन । गन्तव्य देशले नै श्रमिक लिइसकेको अवस्था छैन,’ आफ्नो वार्षिक प्रतिवेदन आइतबार सार्वजनिक गर्दै उनले भने,‘अन्तर्राष्ट्रिय उडान सुरु हुने बेलासम्म यसबारे हामी टुंगोमा पुगि सक्नेछौं । यसबारे मन्त्रिपरिषद्‌मा समेत छलफल भएको छ ।’ कोरोनाको महामारी सुरु भएपछि सरकारले चैतको पहिलो सातादेखि नै श्रम स्वीकृति बन्द गरेको छ । बिदामा आएका श्रमिकलाई भने पुन:श्रमस्वीकृति दिँदै आएको छ । 

श्रम मन्त्री यादवले अनालेखबद्ध श्रमिकलाई पनि टिकट व्यहोर्नका लागि ऐन नियममा संशोधनको आवश्यकता रहेको बताए । ‘सर्वोच्च अदालतको आदेशको परिधिभित्र रहेर टिकट प्रदान गर्ने गरी निर्देशिका तयार गरेको हो । बोर्डमा रहेको कल्याणकारी कोषबाट अनालेखबद्ध खर्च गर्न सर्वोच्चले बोलेको छैन,’ उनले भने,‘हामी अनालेखबद्ध श्रमिक कति छन् ? निर्देशिकाको दायरालाई अझ फराकिलो कसरी बनाउन सकिन्छ भनेर अध्ययन गरिरहेका छौं । यसमा श्रम मन्त्रालयको मात्रै जिम्मेवारी हुने कि अरु मन्त्रालयले पनि जिम्मेवारी लिने भनेर छलफल गरिरहेका छौं ।’

श्रम सचिव तोयम रायाले अनालेखबद्ध श्रमिक अवस्था आउन नदिन नेपाली दूतावासबाटै पुन:श्रम स्वीकृतिको व्यवस्था गर्न लागिएको बताए । ‘भिजिट भिसामा गएर काम गर्ने, नेपालबाट नगइ अन्य ठाउँबाट गएकाहरु पनि छन् । उनीहरुलई कसरी सम्बोधन गर्ने भनेर हामीले तयारी गरिरहेका छौं,’ उनले भने ।

Published on: 30 August 2020 | Kantipur

Link

Back to list

;