s

'उडान नहुँदा खाडी र मलेसियामा नेपालीहरू समस्यामा पर्दै, थुप्रिन थाले शव'

कोभिड महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा खाडी तथा मलेसियामा नेपालीहरू समस्यामा पर्ने क्रम बढेको छ। करार अवधि सकिएका तथा विविध कारण स्वदेश फर्कनुपर्ने अवस्थाका नेपालीहरू उतै रोकिँदा समस्यामा पर्ने क्रम बढ्न थालेको हो।

सोमबार आयोजित एक भर्चुअल कार्यक्रममा बोल्दै मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले हाल पहिलो चरणको महामारीमा जस्तो रोजगारी गुमाएर खान-बस्नै समस्या भई अलपत्र पर्ने अवस्था नभए पनि नियमित उडान बन्द हुँदा समस्या बढ्न थालेको बताए।

'मलेसियामा अहिले दैनिक ६ हजारको संख्यामा कोरोना संक्रमण भइराखेको छ। नेपालीहरू पनि अछुतो छैनन्। तर पहिलो चरणको तुलनामा थोरै संख्यामा मात्रै नेपालीले रोजगारी गुमाएको वा खान बस्न समस्या भएको अवस्था छ। यस्तो समस्या दूतावासले सम्बोधन गरिदिएको छ,' राजदूत पाण्डेले भने, 'तर उडान नहुँदा करार अवधि सकिएका तथा विविध कारण स्वदेश फर्कनुपर्ने अवस्थाका नेपालीहरू फर्कन पाउनुभएको छैन। त्यस्तै मलेसियामा हाल २६ वटा शव रोकिएका छन्।'

कागजातबिहीन (अनडकुमेन्टेड) नेपालीहरूलाई स्वदेश फर्काउन पनि समस्या देखिएको राजदूत पाण्डेले बताए। उनका अनुसार अहिले मलेसियाले अनडकुमेन्टेड आप्रवासी श्रमिकलाई स्वदेश फर्कन छुट दिइएको छ। निश्चित समयभित्र नफर्किए त्यस्ता श्रमिकले चर्को जरिवाना तिर्नुपर्छ।

अहिले अनडकुमेन्टेड नेपालीले ५ सय मलेसियन रिंगेट तिरेर देश फर्कन सक्छन्। यो समयमा नफर्किए पछि १० हजार मलेसियन रिंगेट जरिवानासहित जेल सजायको व्यवस्था छ।

समस्यामा परेका नेपालीको संख्या दिनानुदिन बढ्दै गएको तथा शव समेत थुप्रिन थालेकाले सरकारले नियमित उडान खुला गर्नुपर्ने उनको भनाइ छ। अहिले मलेसियाबाट स्वास्थ्य सामग्रीहरू नेपाल पठाउने अभियानसमेत रहेकाले उक्त जहाजमा अप्ठ्यारोमा परेका नेपाली तथा अड्किएका शव ल्याउने व्यवस्था मिलाउन राजदूत पाण्डेले जोड दिए।

यस सम्बन्धमा दूतावासले पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको उनले बताए।

राजदूत पाण्डेका अनुसार हाल मलेसियामा ५ हजार नेपालीमा कोरोना संक्रमण भएको तथ्यांक छ। त्यस्तै ९ जना नेपालीले कोभिडका कारण ज्यान गुमाएका छन्।

साउदीका लागि नेपालका राजदूत महेन्द्रप्रसाद सिंह राजपुतका अनुसार साउदीमा पनि कोभिड संक्रमणको जोखिम कायमै छ। तर साउदी सरकारले आप्रवासी श्रमिकलाई त्यहाँका नागरिकसरह जाँच तथा उपचार गरिरहेको उनले बताए। 

दोस्रो चरणको महामारीमा पहिलो चरणजसरी ठूलो संख्यामा नेपाली समस्यामा नपरेको उनको भनाइ छ। 

'पहिलो लहरमा २८ हजार श्रमिकले देश फर्कन चाहेका थिए। दूतावासको पहलमा १८ हजारलाई फर्काएका थियौं। त्यसपछि साउदीमा सामान्य अवस्था हुँदै थियो। दोस्रो लहर सुरू भए पनि अहिलेसम्म त्यति धेरै जटिल अवस्था छैन,' उनले भने। 

तर केही नेपालीहरू भने कोभिड संक्रमति भएको उनले बताए। नेपालबाट पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट लिएर गएका नेपालीमा साउदीमा पुगेपछि पोजिटिभ देखिएको तथा केहीको ज्यान समेत गएको उनले बताए। 

तर उडान नहुँदा स्वदेश फर्कन चाहने नेपाली र शवहरू स्वदेश पठाउन नसक्दा समस्या निम्तिएको राजदूत राजपुतले बताए। 

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले कोभिडको दोस्रो चरणमा वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि अध्ययन कमिटी गठन भएको जानकारी दिए। सोहीअनुसार समस्या समाधानका लागि पहल हुने समेत उनले उल्लेख गरे।

'केही समस्या परे कल-सेन्टरमार्फत राख्न सकिन्छ। कल-सेन्टरमा प्राप्त भएका समस्या वैदेशिक रोजगार विभागले सम्बोधन गर्न सक्नेजति गर्छ। बोर्डले गर्नुपर्ने खालका भए बोर्डले गर्छ,' उनले भने।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ भने संघले पाँच–पाँच जनाको समूह तोकेर काम गरिराखेको बताउँछन्। 

'हामीले गन्तव्य मुलुकमा भएको समस्या सहजीकरणका लागि टिम बनाएका छौं। यो पटक कोभिडका कारण समस्यामा परेकाले उद्धार गर्नुपर्ने तथा संक्रमण हुँदा पनि उपचार नपाएको भनेर पहिलेजस्तो समस्या अहिलेसम्म देखिएको छैन। तर जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न हामी यो पटक तयारी अवस्थामा छौं,' उनले भने।

Published on: 25 May 2021 | Setopati

Link

Back to list

;