s

उच्च शिक्षाको लागि विदेश पलायन रोक्न उद्योग र प्राज्ञिक संस्थाबीच सहकार्य

काभ्रे : उच्च शिक्षाको लागि बढ्दो विदेश पलायन रोक्न प्राज्ञिक संस्था र उद्योगहरूबीच सहकार्य हुनुपर्नेमा प्राज्ञिक व्यक्तित्वहरूले जोड दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले धुलिखेलमा आयोजना गरेको ‘विज्ञान र प्रविधिक क्षेत्रमा प्राज्ञिक र उद्योगहरूबीचको सहकार्य’ विषयक कार्यशाला गोष्ठीमा बोल्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरूले समायानुकूल र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम परिमार्जन हुनसके उच्च शिक्षाको लागि विदेशिने जनशक्तिलाई नेपालमा नै रोक्न सकिने बताएका हुन् ।

वक्ताहरूले विश्वविद्यालयजस्ता प्राज्ञिक संस्था र विभिन्न उद्योग, व्यवसायीबीच प्रविधि,अनुसन्धान, जनशक्तिको क्षेत्रमा सहकार्य भए मात्रै मुलुकले चाहेको आर्थिक समृद्धि सम्भव हुने तर्क गरे । पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा.डा.विजुकुमार थपलियाले सरकार–विश्वविद्यालय र उद्योगहरूबीचको सहकार्य महत्वपूर्ण भएको भन्दै त्यस्ता सहकार्यले नै ‘नतिजा’ दिने बताए ।

नयाँ–नयाँ विषयको लागि विद्यार्थीहरू विदेशिने गरेको तर्क गर्दै उनले समयानुकूल पाठ्यक्रम परिमार्जन गरेर नयाँ कुरा पढेको,सिकेको अनुभंति विद्यार्थीलाई गराउनुपर्ने बताए । रजिष्ट्रार निलमणि पोखरेलले बजारको आवस्यकता पूरा गर्ने,रोजगारी सिर्जना गर्ने खालको पाठ्यक्रम तयार हुनुपर्ने भन्दै बेरोजगारी समस्या र विदेश पलायन रोक्न गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे ।

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष यज्ञप्रसाद जम्मरकट्टेलले विदेश पलायन रोक्न अन्तर्ष्ट्रिय स्तरको पाठ्यक्रम तयार गरी विदेशी विद्यार्थी समेत आकर्षित गर्नुपर्ने बताए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा.सुवर्ण शाक्य अनुसन्धानमा जोड दिँदै त्यसको लागि कोष वृद्धि गर्नुपर्ने बताए ।

वनस्पति विभागका महानिर्देशक डा.सञ्जीव कुमार राईले समय सापेक्ष पाठ्यक्रम परिमार्जन नहुँदा अद्यावधिक भएको शिक्षाको लागि विद्यार्थीहरू विदेशिएको बताए । नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.रविन्द्र ढकालले नेपालमा उत्पादित जनशक्तिलाई उद्योगहरूले रोक्न नसकेको भन्दै प्राज्ञिक संस्थाहरूसँग सहकार्य नगर्दा समस्या भएको बताए ।

प्रतिष्ठानले ७ वटै प्रदेशमा अनुसन्धान केन्द्रहरू स्थापना गर्न खोजेको भन्दै उनले अनुसन्धानको लागि अनुदान समेत उपलब्ध गराउँदै आएको जानकारी दिए । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघका अध्यक्ष रञ्जित पोदारले नेपालमा उपयुक्त हुने दक्ष जनशक्ति विश्वविद्यालयले तयार गर्नुपर्ने भन्दै यस्ता कार्यक्रमले विदेश पलायन रोक्न योगदान दिन सक्ने बताए ।

पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका निर्देशक नरेशकुमार शाहले विश्वविद्यालय तह पार गरेपछि विद्यार्थीमा एक खालको अन्यौलता हुने भन्दै त्यसलाई चिर्नको लागि उद्योगहरुसंग सहकार्य हुनुपर्ने बताए ।

भारतको मिडिया एण्ड इन्टरटेन्मेन्ट स्किल काउन्सिलको व्यवसाय विकास तथा अन्तराष्ट्रिय सम्बन्ध प्रमुख रोशनी सेइगलले सहकार्य र सहयोगको लागि तयार रहेको प्रतिवद्धता जनाइन् । पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा.पवनकुमार झाले उद्योग र प्राज्ञिक संस्थाबीचको सहकार्य अत्यावश्यक भएको भन्दै बीचको खाडल पुर्न यस्ता गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे ।

सहायक डिन मनोजकुमार हलवाईले विश्वविद्यालयबाट उत्पादित जनशक्तिहर जागिर खोज्ने भन्दा पनि रोजगारी सिर्जना गर्ने खालका भएको तर्क गरे । कार्यक्रम संयोजक सुधीर गुरागाईले विश्वविद्यालयले अन्यत्र भन्दा फरक विषयहरू अध्यापन गराउने विश्वविद्यालयले उत्कृष्ट जनशक्ति तयार गरिरहेको बताए ।

कार्यशाला गोष्ठीमा विश्वविद्यालयका विभिन्न संकाय,आंगिक तथा सम्बन्धन प्राप्त २५ कलेजका प्रतिनिधि सहभागी थिए।

Published on: 30 May 2024 | Annapurna Post

Link

Back to list

;