s

युएईसँगको श्रम सम्झौताको मस्यौदामा आज छलफल

सरकारले श्रम समझदारी (एमओयू)को मस्यौदा टुंगो लगाउन पठाएको प्राविधिक टोलीले बुधाबार युएईको श्रम तथा मानव संसाधन मन्त्रालयमा छलफल गर्दैछ ।

ओमानको छलफलपछि प्राविधिक टोली मंगलवार युएई आइपुगेको र आज (बुधबार) यहाँ छलफल सुरु गर्ने नेपाली दूतावास युएईले जनाएको छ।

छलफलमा सहभागी प्राविधिक टोलीले आफ्ना कामदारको सेवासुविधा, सुरक्षा र शून्य लागतमा कामदार लैजाने  कुरा स्पष्ट ढंगले राख्ने जनाइएको छ ।

यसअघि युएईले पठाएको मस्यौदामा समावेश नभएका कतिपय एजेन्डामा समेत टोलीले आफ्नो धारणा राख्ने छ ।

एकआपसमा दुविधा भएका विषयमा दुवैपक्षबीच छलफल हुने र उक्त छलफलका आधारमा सम्झौताको अन्तिम खाका तय हुनेछ ।

प्रस्तावमा सहमति भएका विषयलाई दुवैपक्षले मन्त्रीस्तरमा जानकारी गराउनेछन् । मन्त्रीस्तरको छलफलपछि मात्र सम्झौतामा हस्ताक्षर गरिने कार्यवहाक राजदुत सागरप्रसाद फुयाँलले अनलाइनखबरलाई बताए ।

प्राविधिक टोलीले सुरु गर्‍याे ओमानसँगको श्रम सम्झौताको मस्यौदामा छलफल

सरकारले श्रम समझदारीको मस्यौदा टुंगो लगाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय टोली पठाएको थियो ।

युएईसँगको  छलफलमा नेपालबाट आएको प्राविधिक टोली र दुतावासबाट कार्यवहाक राजदुत सागरप्रसाद फुयाँल, श्रमकाउन्सुलर भेषबहादुर कार्की र श्रम सहचारी मोतीराम भुषालले सहभागिता जनाउने छन् ।

युएईसँग यसअघि सन् २००७ मा श्रम समझदारी भएको थियो । अब त्यसलाई  परिमार्जित गर्दै थप प्रभावकारी बनाउन जोड दिइने जनाएको छ ।

युएईमा हाल  करिब २ लाख ५० हजार नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन्।

Published On: 30 January 2019 | Online khabar

Back to list

;