s

यूएईसँग श्रम सम्झौतामा हस्ताक्षर हुँदै

कतार पनि परिमार्जन गर्न तयार

संयुक्त अरब इमिरेट्स (यूएई) सँग छिट्टै श्रम सम्झौता हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्ट र नेपालका लागि यूएईका राजदूत सइद हम्दम अल–नाक्वीबीच आइतबार भएको द्विपक्षीय भेटमा श्रम सम्झौतालाई अन्तिम रूप दिने सहमति भएको हो । 

श्रम सम्झौतामा हस्ताक्षर गर्न दुवै पक्ष तयार भएको श्रम मन्त्रालयले जनाएको छ । भेटमा नेपाली श्रमिकको व्यावसायिक सुरक्षा, गुणस्तरीय कार्य, वातावरणको सुनिश्चिततालगायत विषयमा छलफल भएको थियो ।
 
श्रम मन्त्रालयका अनुसार यूएईले नेपाली श्रमिकका लागि यूएई दूतावासबाट कन्सुलर कार्यालय स्थापना गरी सेवा दिने भएको छ । मन्त्री विष्टले नेपाली श्रमिकको स्वास्थ्य परीक्षण नेपालकै सरकारी अस्पतालबाट गराई रोजगारीका लागि पठाउन सकिने व्यवस्था गर्न लागिएको विषयमा राजदूत नाक्वीको ध्यानाकर्षण गराएका थिए ।
 
राजदूत नक्वीले नेपाली युवालाई व्यावसायिक सीप सिकाउन तथा सीपमूलक तालिमका लागि सीप विकास तालिम केन्द्र स्थापनामा सहयोग र सहकार्य गर्न यूएई तयार भएको बताए ।
 
यसैबीच, नेपाली श्रमिकको हितका लागि श्रम सम्झौता समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयनमा कतार तयार भएको छ ।मन्त्री विष्टसँग द्विपक्षीय भेट गर्दै नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल–हलीले आफ्नो मुलुक नेपाली श्रमिकको हितका लागि काम गर्न तयार भएको बताए । अल–हलीले कतारमा दक्ष श्रमिकको माग बढदै गएकाले कतार दक्ष नेपालीलाई अवसर दिन तयार भएको बताए ।
 
Published on: 9 April 2018 | Kantipur

Back to list

;