s

यूएईसँग श्रम समझदारी, ३० दिनको उपदान र वैकल्पिक रोजगारीको ग्यारेन्टी

नेपाल र युएईबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ। स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न कार्यक्रममा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
 
युएई सरकारले बीमा कोषको व्यवस्था लगायत श्रम आप्रवासनका क्षेत्रमा हालसालै धेरै सुधारका कदमहरु अघि  बढाएपछि यो नयाँ सहमति भएको हो। पाँच वर्षसम्मको सेवा अवधिका लागि हरेक वर्षको सेवा वापत २१ दिनका दरले र सो भन्दा बढि सेवा अवधिका लागि वार्षिक ३० दिनका दरले उपदान पाउने व्यवस्था समेत गरिएको छ।
 
कामदारको छनौट,भर्नाका सन्दर्भमा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने यो समझदारीमा गरिएको छ। कुनै पनि कामदारलाई ज्याला, ओभरटाइम भत्ता, कार्य वातारण र न्यायमा पहुँच जस्ता विषयमा विभेद गर्न नपाइने र सबै विदेशी श्रमिकलाई समान व्यवहार हुनुपर्ने मान्यतालाई यो समझदारीले स्थापित गरेको छ।
 
व्यवसायजन्य दुर्घटना वा रोग लागेमा त्यसको उपचारमा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ। वार्षिक करिब ५०,००० नेपाली रोजगारीका लागि जाने मुलुक युएई नेपालको चौथो प्रमुख गन्तव्य स्थल हो।
 
Published on: 15 June 2019 | Nagarik

Back to list

;