s

यूएईमा नेपालीलाई मृत्युदण्ड

होम कार्की

संयुक्त राष्ट्र इमिरेट्स (यूएई) को आबुधाबीस्थित तल्लो अदालतले पाकिस्तानी नागरिकको हत्या अभियोग लागेका नेपाली अनिश खालिङ राईलाई मृत्युदण्ड सुनाएको छ । मत्स्यपोखरी-, संखुवासभाका निवासी २३ वषर्ीय राईलाई स्थानीय आबुधाबी अदालतले शनिबार मृत्युदण्ड सुनाएको हो । करिब डेढ वर्षअघि घरेलु कामका लागि आबुधाबी गएका राई ०६९ कात्तिक ९ देखि थुनामा छन् ।

२०६९ कात्तिक ९ गते एउटा रेस्टुरेन्टमा झगडाका क्रममा घाइते भएका पाकिस्तानीको ज्यान गएपछि राई समातिएका थिए । यूएईमा हत्या अभियोग खेपेका चार नेपाली छन् ।  

यूएईका लागि नेपाली राजदूत धनञ्जय झाले काठमाडौंस्थित परराष्ट्र मन्त्रालयबाट पत्र आएपछि मृत्युदण्डबारे थाहा भएको बताए । 'यहाँ मुद्दा चल्दै गरेको थियो । फैसाला हुने तयारीमा थियो,' उनले भने, 'परराष्ट्रबाट पनि यसबारे जानकारी माग भएको छ ।'

दूतावासले यसबारे विस्तृत बुझ्न बुधबार राईलाई राखिएको ठाउँमा प्रतिनिधि पठाउँदैछ । 'हाम्रो जनसम्र्पक अधिकृतलाई विस्तृत रूपमा बुझेर ल्याउन बुधबार -आज) पठाउँदैछौं,' उनले भने, 'त्यसपछि उनको अवस्थाबारे विस्तृत रूपमा बाहिर आउनेछ ।'

राईलाई दूतावासबाट दुई घन्टा टाढा अलऐन भन्ने स्थानमा राखिएको छ । राजदूत झाले तल्लो तहबाट भएको फैसालाबारे पुनरावेदन हुँदै सर्वोच्च अदालतमा जान सकिने स्थिति रहेको बताए । 'अरू खालका मुद्दामा पनि मृत्युदण्ड सुनाइएको अवस्था छ । अन्तिम अदालतबाट भएको फैसलाको कार्यान्वयन भएको छैन,' उनले भने, 'माथिल्लो अदालतमा जान सकिन्छ ।'  

नियोग उपप्रमुख दीपक अधिकारीका अनुसार मृत्युदण्डसम्बन्धी मुद्दामा एकपटक मृतकका परिवारसँग छलफल गर्ने कानुनी प्रावधान छ । अभियोग प्रमाणित भए पीडित परिवारलाई अभियुक्तलाई फाँसी नै दिने, ब्लडमनि लिएर माफी दिने वा केही पनि नगरी माफी दिनेमध्ये एक रोज्न लगाउँछ । यस अवस्थामा मृतकका परिवारको निर्णय नै अन्तिम हुनेछ । प्रायजसो घटनामा ब्लडमनि लिएर पीडकलाई छाडिदिने गरिएको छ । स्थानीय कानुनअनुसार ब्लडमनिका लागि दुई लाख दिनार दिनुपर्नेछ । राजदूत झाले एउटा मुद्दामा नेपाली-नेपालीबीच ब्लडमनि दिएर मिल्ने सहमति भएको बताए ।

Published on: 24 July 2013 | Kantipur

Back to list

;