s

यूएईमा नेपाली युवतीको हत्या

होम कार्की

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भोताङ–८, सिन्धुपाल्चोककी २५ वर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ । आबुधाबीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार तामाङको हत्यामा संलग्न आशंकामा भोताङ–८ कै बुले तामाङलाई पक्राउ गरिएको छ । 

‘घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन,’ अर्यालले कान्तिपुरसँग भने । हत्या गरिएकी लप्साङको शव ‘इमिरेट्स हिल’ मा फेला परेको दूतावासले जनाएको छ ।

घरेलु कामदारका रूपमा कार्यरत बुले तामाङ लप्साङकै गाउँले हुन् । लप्साङ चार वर्षदेखि दुबईमा कार्यरत थिइन् । पछिल्लो समय गत फेब्रुअरी १४ तारिख उनी के पप चिकेन कम्पनीमा सेल्स गर्लका रूपमा काम गर्न गएकी थिइन् । उनी त्यस कम्पनीका सञ्चालक कोरियन नागरिक लुको घरमा कार्यरत थिइन् । ‘म मेरो स्पोन्सरसिप परिवर्तन गर्ने तयारीमा थिएँ । मेरो घरमै कार्यरत थिइन् । प्रहरीले हत्या भएको मात्रै खबर दिएको छ । त्योभन्दा पूरा विवरण केही भनेको छैन,’ कोरियन नागरिक लुले नेपाली दूतावासलाई जानकारी दिएका छन् ।

घटनाबारे दुबईस्थित बसाहा प्रहरी चौकीबाट छानबिन भइरहेको छ । लप्साङका काठमाडौंस्थित आफन्तले घटनाको यथार्थ छानबिनका लागि सहयोग गर्न नेपाली दूतावाससमक्ष अनुरोध गरेका छन् । स्थानीय सञ्चार माध्यमले सफाइ मजदुरले लप्साङको शव फेला पारेको जनाएको छ । सीसीटीभीमा बुले तामाङसँगै घरभित्र गएको देखिएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

Published on: 5 June 2017 | Kantipur

Back to list

;