s

यूएईमा समूहमा बसिरहेका नेपालीको व्यथा : ‘ड्युटी सकेर कोठामा फर्किन मन लाग्दैन’

होम कार्की

काठमाडौँ — यूएईमा कार्यरत अधिकांश कामदार यतिबेला क्‍वारेन्टाइनमा छन् । एउटा घरमा कम्तीमा १० जनाको दरले बसेका छन् । त्यहाँको सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिए उपचार त गरिदिन्छ, अरु खाने–बस्ने सुविधा भने एक किसिमको छैन । 

दिक्तेल खोटाङका नारायण बस्नेत संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीमा बिहीबारदेखि सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन्। उनी त्यहाँको जापानी रेस्टुरेन्टका सेफ हुन्। 

आबुधावीका सडक सुनसान छन्। आपतकालीन काममा बाहेक मान्छेहरू बाहिर निस्किएका छैनन्। उनी आफन्तसँग मिलेर कोठामा बसेका छन्। ‘हामी विभिन्न होटलमा काम गर्ने साथीहरूले एउटा कोठा भाडामा लिएका छौं। सबै आफन्त हौं। अहिले सबैको ड्युटी अफ छ’, ६ वर्षदेखि यूएईमा कार्यरत बस्नेतले भने, ‘अहिलेको परिस्थितिमा हामी कसैको कोठामा जाने गरेका छैनौं। अरु साथीभाइलाई पनि बोलाएका छैनौं।’ 

होटल, रेस्टुरेन्ट ठप्प छ। रेस्टुरेन्टमा बसेर खान पाइँदैन। डेलिभरीको मात्रै सुविधा छ। कोठामा मात्रै बस्दा दिन काट्नै मुस्किल परेको अनुभव उनीहरूसँग छ। ‘रेस्टुरेन्ट आइतबारदेखि खुल्छ भनिएको छ, रेस्टुरेन्ट भएर होला सरकारको कडा निगरानी छ। कोरोना भाइरसबाट बच्न कम्पनीले सुरक्षाको सक्दो सजगता अपाएको छ,’ उनले टेलिफोनमा भने, ‘हरेक २०–२० मिनेटमा हात सफा गर्छौं। फेरि पहिलाजस्तो व्यस्त ड्युटी छैन। आरामै छ। काममा जान दबाब छैन।’ 

उनीहरूलाई सचेत हुनका लागि कम्पनीले कोरोना भाइरस संक्रमणसम्बन्धी पाठ्यक्रमको तालिम दिएको थियो। ‘कोरोना के हो, कसरी सर्छ भन्ने एउटा कोर्स नै बनाइएको छ, यो जान्न जरुरी हुन्छ’,उनले भने, ‘रोगको लक्षण देखिएमा यहाँको सरकारलाई खबर गर्नुपर्छ। उनीहरू आफैं एम्बुलेन्स लिएर आउँछन्।’ 

उनका अनुसार सामान्य रुघाखोकी आउँदा पनि कम्पनीले स्वास्थ्य परीक्षणका लागि पठाएको थियो। ‘कोरोना होइन रहेछ, बढी एसीको चिसोमा बस्ने भएकाले विगतजस्तै रुघाखोकी रहेछ, तैपनि साथीहरू तर्सिए, कम्पनीले क्वारेन्टाइनमा बस्ने भए बिदा दिन्छु भनेको थियो’, उनले भने, ‘यहाँ त केही छैन, उता (नेपालमा) भने परिवार चिन्तित छन्। पहिला त्यति फोन गर्नुपर्दैनथ्यो। अहिले दिनमै चार–पाँचपटक फोन गर्नुपर्छ।’ 

यूएईमा कामदारको स्वास्थ्य सुरक्षामा ध्यान दिने बस्नेतको जस्तो कम्पनी सबैको छैन। सारजहाँ यूएईको अर्को प्रान्त हो। त्यहाँको एउटा कम्पनीमा कार्यरत काभ्रेकी शर्मिला श्रेष्ठको कम्पनी बन्द छ। उनी तीन वर्षदेखि सफाइको काम गर्दै आएकी छन्। उनलाई कम्पनीले कोरोना भाइरस र यूएई सरकारले अघि सारेको मापदण्डबारे औपचारिक रुपमा जानकारी दिइएको छैन। ‘क्याम्प बोस आएर ड्यटी छैन भनेपछि क्याम्पमै बसिरहेका छौं। एउटा कोठामा १० जना बस्छौं। क्याम्पभरि झन्डै चार सय होलान्। कोरोना संक्रमण रोक्न क्याम्पमा कुनै सुरक्षाको मापदण्डलाई पालना गरिएको छैन,’ उनले भनिन्, ‘सबै भगवान भरोसामा चलिरहेको छ।’ 

उनी आफैं खाना बनाउँछिन्। ‘क्याम्पवरिपरि खाद्यान्न पाइँदैन। अलि टाढा जानुपर्छ। अहिले खाद्यान्नको मूल्य केही बढेको छ’, उनले टेलिफोनमा भनिन्, ‘हामी अरु कम्पनीको सरसफाई गर्छौं। चिटिक्क पार्छौं तर हाम्रै कम्पनीको क्याम्प भने फोहोर छ। कम्पनीले सरसफाई गरेको छैन। हामीले आफ्नो कोठालाई त डिटोलले सफा गरेका छौं तर एउटा कोठा मात्रै सफा गरेर के होला र?’ 

सिन्धुलीका रितेश थापा इन्टरनेसल सिटीमा १६ जनासँग मिलेर बस्छन्। उनी सुरक्षा गार्ड हुन्। ड्युटी रोकिएको छैन। ‘१६ जना १६ ठाउँमा काम गर्छन्। अहिले कोठामा जानै डर लाग्छ। कसले कतिलाई भेटेको छ, थाहा हुँदैन। ड्युटी सकेर कोठामा फर्किन पनि मन लाग्दैन’, उनले भने, ‘कम्पनीले विशेष सुरक्षाको उपकरण दिएको छैन। हामी आफैंले ग्लोभ, माक्स र सेनिटाइजर किन्नुपर्छ।’ 

यूएईमा शुक्रबारसम्म संक्रमितको संख्या चार सय ५ जना पुगिसकेको छ। शुक्रबार थप दुई नेपाली संक्रमित भएका छन्। यसअघि संक्रमित भएका दुईजनाको उपचार भएर क्याम्प फर्किसकेका छन्। संक्रमित नेपालीको अवस्था स्थिर छ। 

यूएईमा रहेका कम्पनीले झन्डै ८० प्रतिशत कामदारलाई बिदा दिएका छन्। मार्केटिङ क्षेत्रमा कार्यरत तनहुँका दीपक खड्काले आफूहरूले पाएको बिदा वार्षिक बिदाबाट काटिने बताए। ‘कम्पनीले १४ दिनको सेल्फ क्वारेन्टाइनमा राखेको छ। वार्षिक बिदाबाट काट्ने कि बेतलबी बिदामा बस्ने भनेर सोधिएको थियो। मेरो ३० दिनको वार्षिक बिदाबाट कट्टा गर्न भनेको छु,’ उनले भने।

गैरआवासीय नेपाली संघ यूएईका पूर्वअध्यक्ष सुदीप कार्कीका अनुसार मान्छेहरू त्रसित देखिएका छन्। ‘स्थिति नर्मलै देखिन्छ, राति ८ बजेदेखि बिहान ८ बजेसम्म अत्यावश्यक कामबाहेक कसैलाई पनि बाहिर निस्कन दिइएको छैन, हामी पूर्णरुपमा क्वारेन्टाइनमा छौं,’ उनले भने, ‘बिहीबार रातिदेखि आइतबार बिहानसम्म क्वारेन्टाइनमा बस्न भनिएको छ।’

प्रहरी प्रशासनले घरबाहिर निस्कने ६४ जनालाई पक्राउ गरेको छ। घरमा क्वारेन्टाइनमा नबस्नेलाई दुई हजार दिराम जरिवाना तिराउने नयाँ नियम ल्याइएको छ। कोरोना भाइरस रोकथाम गर्ने मापदण्ड उल्लंघन गर्नेलाई ५ सयदेखि ५० हजार रियालसम्म जरिवाना गर्ने नयाँ कानुन जारी भइसकेको छ। यूएईमा हालसम्‍म ४६८ जनामा कोरोना संक्रमण देखिएको छ।

यूएईको स्वास्थ्य मन्त्रालयका अनुसार विदेशबाट आएर संक्रमण भइसकेका व्यक्तिको सम्पर्कमा भएका व्यक्तिमा कोरोना भाइरस देखिएको छ। ‘यसको नियन्त्रणका लागि ज्यादै महत्वपूर्ण पहल र प्रयत्न गर्दै आएको देखिन्छ,’ यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भने, ‘पछिल्ला दिनहरूमा भइरहेको सार्वजनिक स्थलको सरसफाइ र संक्रमण हुनबाट जोगाउने कामहरू प्रंशसा गर्न लायक छन्।’

Published on: 29 March 2020 | Kantipur

Link

Back to list

;