s

यूएईमा कोरोना भाइरसबाट थप दुई नेपाली संक्रमित

होम कार्की 

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)मा कोरोना भाइरसबाट संक्रमित हुने नेपाली कामदारको संख्या आठ पुगेको छ । मंगलबार थप दुई जनामा संक्रमण देखिएको छ । 

यूएईको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा दुई नेपाली सहित ५३ जनामा संक्रमण देखिएको जानकारी दिइएको छ। ५३ जनामध्ये ३१ जना भारतीय छन्। यूएईमा संक्रमितको संख्या ६६४ पुगेको छ। साथै थप एक जनाको मृत्यु भएको छ। अहिलेसम्म युएईमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। 

आठ जना नेपालीमध्ये दुई जना निको भएर काममा फर्किसकेका छन्। ६ जना नेपालीको अवस्था स्थिर छ। नयाँ संक्रमितमध्ये अधिकांश संक्रमित व्यक्तिको सम्पर्कमा गएकाहरु रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ। 

साउदीमा एकैदिन ११० जनामा देखियो

साउदी अरबमा मंगलबार एकैदिन ११० जना कोरोना भाइरसको संक्रमण देखिएको छ। 

रियादस्थित नेपाली दूतावासका अनुसार साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या १५६३ पुगेको छ। संक्रमितमध्ये १६५ जना उपचार पश्चात् निको भएका छन् भने १० जनाको मृत्यु भएको छ। नेपाली कामदारमा संक्रमण देखिएको छैन। 

कतारमा आप्रवासी कामदारको मृत्यु

कतारमा मंगलबार ८८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। ५८ वर्षीय आप्रवासी कामदारको ज्यान गएको छ। उनी पुरानो रोगबाट ग्रसित थिए। ती कामदार कुन देशको भन्ने खुलाइएको छैन। 

कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार दुई हजार २ सय ५१ जनामा परीक्षण गर्दा ८८ जनामा कोरोना देखिएको हो। कोरोना संक्रमितको संख्या ७ सय ८१ जना पुगेको छ। ६२ जनालाई निको भएको छ। 

क्वारेन्टाइनमा राखिएकाको स्वास्थ्य परीक्षणबाट नै कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। उनीहरु विदेशबाट फर्केका व्यक्तिहरुको सम्र्पकमा थिए। मन्त्रालयले कोरोना भाइरस संक्रमणलाई फैलिन नदिनको लागि लागु गरिएका निर्देशिकाहरुलाई प्रभावकारी रुपमा पालना गर्न नेपाली सहित सबै आप्रवासी कामदारलाई आग्रह गरेको छ। क्वारेन्टाइनमा नबस्ने २० जनालाई पक्राउ गरिएको छ। उनीहरुलाई स्वास्थ्य अपराधसम्बन्धी मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाउने बताइएको छ। 

कतारले जोखिम क्षेत्र पहिचान गरी झन्डै ५० हजार नेपाली सहित आप्रवासी कामदारलाई मार्च १७ देखि निगरानीमा राखेको छ। उनीहरुलाई क्याम्पबाट बाहिर आउजाऊ गर्न दिइएको छैन।

Published on: 01 April 2020 | Kantipur

Link

Back to list

;