s

युएईमा श्रमरत नेपाली भन्छन्- विमानस्थलमा भइरहेको कडाइमा सरकार लचक बनोस्

युएईमा कार्यरत नेपालीहरुले त्रिभुवन विमानस्थलको भन्सारमा विदेशबाट फर्किएका नेपालीले ल्याएको सामानमा भइरहेको कडाइका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

शनिबार नेपाली दूतावास आबुधाबीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँगको अन्तरक्रिया कार्यक्रमा सहभागीहरुले खाडी राष्ट्र लगायतमा श्रम गर्ने नेपालीले भित्र्याएको सामानमा सरकारले लचकता अपनाएर तत्काल समाधान गर्नुपर्ने बताए । यस्तै, भिजिट भिसामा भइरहेको मानव तस्करी नियन्त्रण, घरेलु महिला कामदार माथिको प्रतिबन्ध फुकुवा गर्न माग गरे । साथै दूतावासले पटक-पटक मानव तस्करीमा संलग्नहरुको सूची सरकारलाई बुझाउदासमेत कुनै कानुनी कारबाही गर्न नसकेको भनी प्रश्न गरे ।

विदेशबाट फर्किएर स्वदेशमा लगानी गर्नेहरुको हकमा प्रशासनीक अल्झन हटाउन माग गरेका छन् । सहभागीले राखेको जिज्ञासाको जवाफ दिदै मन्त्रीले पण्डितले भन्सारमा भइरहेको कडाइका बारेमा सरकारले सम्बोधन गर्ने आश्वासन दिए । उनले भने-पुरानो ऐन कार्यान्वयन गरिएको हो । केहीँ समस्या देखिएको छ । यस विषयलाई सरकारले सम्बोध गर्नेछ । आफू मन्त्री भएपछि पुराना कर्मचारी हटाएर ६० प्रतिशत नयाँ कर्मचारी अध्यागमन विभागमा ल्याएको बताए ।

१ देखि ५ ग्रेड ल्याउने कर्मचारीलाई मात्र अध्यागमन विभागमा खटाउने उनको भनाई छ । सरकारको कामको समीक्षा समेत गर्दै मन्त्री पण्डितले सरकारबाट सोचे अनुसारको प्रगति नभएको स्वीकार गर्दै सुधारका प्रयास भइरहेको जनाए । उनले भने-नयाँ संरचनागत अवस्थामा कर्मचारी व्यवस्थापन गरेर समस्या समाधान गर्ने छौं । न्यायोचित र प्रविधिको प्रयोग गरेर मुलुकलाई अघि बढाउन वर्तमान सरकार प्रतिवद्ध छ ।

मन्त्री पण्डितले आफु भारत भ्रमणमा गएको बेला मावव तस्करीका परेका ५३ जनाको उद्घार गरेको बताए । आफ्नो बारेमा कतिपय कुरा मिडियामा गलत आएको भन्दै देश प्रतिको दायित्व बहन गर्न आफू बिचलित नहुने बताए । मागेर समृद्धि नहुने र भागेर समस्या समाधान नहुने जनाउँदै विदेशमा सिकेको सीप नेपालमा प्रयोग गर्न आग्रह गरे । मन्त्री पण्डित दुबईमा आज -आइतबार) बाट सुरु हुने सातौँ विश्व सरकार शिखर सम्मेलनमा सहभागी हुन युएई आएका हुन् ।

Published on: 10 February 2019 । Onlinekhabar

Back to list

;