s

युएईमा साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पाल्पा कि भोजपुर विकसित भन्ने विषयमा सुरु भएको थियो विवाद

युएईमा रक्सी सेवनका क्रममा दुई नेपालीबीच सुरु भएको विवादले एकजनाको मृत्यु भएको छ । युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा हानेका हुन् । छातीमा छुरा लागेका चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

 
मादक पदार्थ सेवन गरी विवाद सुरु भएको र विवाद बढ्दै गएपछि राईले छुरा प्रहार गरेको उनीहरुसँगै काम गर्ने एक नेपालीले बताए। उनका अनुसार रक्सीको मातमा उनीहरुबीच देशको राजनीति र विकासका बारेमा कुराकानी भइरहेको थियो । आ-आफ्नो क्षेत्र विकासमा अघि रहेकोबारे तर्क हुदाँ राईले तिलकमाथि छुरा हानेका हुन् । राईलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
 
उनीहरु एउटै कम्पनीमा काम गर्ने र एउटै कोठामा बस्दै आएका थिए । घटना ५ दिनअघि भएता पनि दूतावासलाई कुनै जानकारी नआएको दूतावासकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले बताइन् ।शनिवार सार्वजनिक विदा भएकाले थप विवरण आउन नसकेको र आइतबार दूतावासले यस विषयमा सम्बन्धित कम्पनीसँग बुझ्ने उनले जानकारी दिइन् । युएईमा गत असोजमा एक नेपाली महिलाले ४ जना नेपाली महिलामाथि छुरा प्रहार गरेकी थिइन् । एकजनाको मृत्यु भएको थियो।
 
Published on: 21 April 2019 | Onlinekhabar

Back to list

;