s

युएईमा नेपालीलाई मृत्युदण्ड, सजाय माफीको पत्र पठाइयो

Surendra Poudel

परराष्ट्र मन्त्रालयले मृत्युदण्ड पाएका पर्वत चित्रे- ४ का दुर्गाबहादुर सुनारको सजाय माफीका लागि युनाइटेड अरब इमिरेट्स (युएइ) सरकारलाई औपचारिक पत्र पठाएको छ। एक नेपालीको हत्यामा मृत्युदण्डको सजाय पाएका दुर्गाबहादुरलाई पीडित परिवारले माफी दिन सहमति जनाएपछि परराष्ट्रले सजाय खारेज गर्न शुक्रबार पत्र पठाएको हो।

अबुधावीस्थित नेपाली दूतावासमार्फत पत्र युएइ सरकार समक्ष पुगेपछि दुर्गाबहादुरलाई दिइएको मृत्युदण्डको सजाय माफी भएको घोषणा गरिने छ। पीडित पक्षले मागेअनुसार क्षतिपूर्ति रकम स्वरूप १० लाख रुपैयाँ उपलब्ध गरेपछि दुर्गाबहादुरले मृत्युदण्डको सजाय माफी पाउने भएका हुन्।

'दुर्गाबहादुरको मृत्युदण्ड सजाय माफीका लागि परराष्ट्रले आज (शुक्रबार) पत्र कुरियर गरी युएई पठाएको छ,' दुर्गाबहादुर बचाऊ अभियानका मुख्य सहयोगी अधिवक्ता लाल शर्मा सुवेदीले जानकारी दिए, 'पत्र पर्सि (आइतबार) अबुधावीस्थित नेपाली दूतावास पुग्छ र त्यही दिन युएइ सरकार समक्ष दूतावासका कर्मचारीले बुझाउने छन्।'

इस्लामिक कानुनअनुसार दोषीलाई आम माफी दिन पाउने अधिकार पीडित परिवारमा रहन्छ। क्षतिपूर्ति रकम लिएर (ब्लडमनि) र बिना क्षतिपूर्ति रकम पीडित परिवारले आममाफी दिन स्वीकृति दिएमा दोषीले सजाय माफ पाउँछन्। दोषीका परिवारले प्रस्ताव गरेको क्षतिपूर्ति रकम पीडित परिवारले लिन अस्वीकार गरेमा र माफी दिन नचाहेमा दोषीलाई सुनाइएको फैसला कार्यान्वयन गर्ने गरिन्छ।

सोही बमोजिम युएई सरकारले दोषी तथा पीडितका परिवारलाई २०६७ वैशाखमा पत्र पठाई मृत्युदण्ड दिने, क्षतिपूर्ति रकम लिई माफी गर्ने र रकम नलिई माफी गर्ने तीनवटा विकल्पमध्ये एक रोज्न भनेको थियो। क्षतिपूर्ति रकम लिई वा नलिई माफी दिने हो भने सन् २०१२ सेप्टेम्बरभित्र दोषी र पीडित परिवारबीच सहमति गरी पत्र पठाउन युएई सरकारले आग्रह गरेको थियो। सेप्टेम्बर ३१ सम्ममा सहमतिपत्र नआए दुर्गाबहादुर दिइएको मृत्युदण्डको सजाय कार्यान्वयन गर्ने युएई सरकारको पत्रमा उल्लेख थियो।

'जसोतसो युएई सरकारले दिएको समयभित्रै सहमति पठाउन सफल भयौं,' सुवेदीले भने, 'अब पत्र पाएपछि युएई सरकारले दुर्गाबहादुरलाई सुनाइएको मृत्युदण्डको सजाय खारेज गरेको घोषणा गर्नेछ। उनी मृत्युदण्डबाट जोगिन्छन्।'

वैदेशिक रोजगारीको सिलसिलामा २०६० सालमा युएई गएका दुर्गाबहादुर त्यसपछि नेपाल फर्केका छैनन्। सन् २००९ जनवरी १४ का दिन सुनसरी हाँसपोसा- २ का गणेशबहादुर बस्नेतको हत्याको आरोपमा उनलाई युएईको सारजहाँ प्रहरीले पक्राउ गरेको थियो। सन् २०१० मा सारजहाँ अदालतले उनलाई दोषी ठहर गर्दै तीन विकल्प दिई मृत्युदण्डको सजाय सुनाएको थियो।

एक मात्र छोरो गणेशबहादुर साढे तीन वर्षअघि मारिएको भए पनि मृतकका बुबाआमाले गत असारको अन्तिम साता मात्र थाहा पाएका थिए। दोषी दुर्गाबहादुरकी आमाले आफ्नो एक मात्र छोराले एक नेपालीको हत्याको आरोपमा मृत्युदण्डको सजाय पाएको खबर असार पहिलो साता थाहा पाएकी थिइन्।

खोजी गरेको झण्डै दुई महिनापछि मृतकका बुबाआमा मोहन र अम्बिका बस्नेत काठमाडौंको डल्लुमा भेटिएपछि परराष्ट्रले दोषीका परिवारसँग भेट गराएको थियो। दश लाख रुपैयाँ क्षतिपूर्ति स्वरूप पाए दोषीलाई सजाय माफीका लागि सहमतिपत्रमा हस्ताक्षर गर्ने पीडितका परिवारले बताएपछि दुर्गाबहादुरकी विधवा आमा मनकुमारीले छोरोको जीवनरक्षाका लागि अपिल गरेकी थिइन्।

सुकुम्बासी मनकुमारीसँग छोराको रक्षा गर्न सय रुपैयाँ पनि नभएपछि वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले मृतकका पिताको नाममा एक लाख रुपैयाँ बिज रुपैयाँ (सिड मनी) राखी बैंकमा खाता खोलिदिएको थियो। त्यसपछि देश विदेशमा रहेका विभिन्न संघसंस्था र व्यक्तिले उक्त खाता रकम जम्मा गरी १० लाख रुपैयाँ पुर्‍याई मनकुमारीलाई सहयोग गरेका थिए। दश लाख रुपैयाँ पुगेलगत्तै मृतकमा माता, पिता र बहिनीले दुर्गाबहादुरलाई आममाफी दिने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए र परराष्ट्रले त्यसलाई युएई पठाएको हो।

'तपाईंहरूले आफ्नो गाँस काटेर भए पनि सहयोग गरेको रकमले मेरो छोराको मृत्युदण्ड टरेको छ, नयाँ जीवन पाएको छ। रुँदारुँदा आँसु निख्रेकी आमाको अनुहारमा चमक आएको छ,' दुर्गाबहादुरकी आमाले सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्दै भनिन्, 'तपाईंहरूले खुसीका साथ दिल खोलेर गर्नुभएको सहयोगको बदलामा मैले तपाईंहरूलाई दिने धन्यवादको शब्द नै छैन।'

Published on: 29 September 2012 | Nagarik

Back to list

;